सूचनाको शक्ति - The Power Of Information

        

भारतको कुम्भमेलामा भागदौड, कैयौँ हताहत भएको आशङ्का

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलाका क्रममा बुधवार बिहान करिब १ः३० बजे एउटा घाटमा भागदौड मच्चिएको छ । त्यस क्रममा धेरै मानिसहरू हताहत भएको ठानिएको छ ।

प्रयागराजका एक चिकित्सकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा समाचार संस्था एएफपीलाई उक्त घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएका छन् । यद्यपि प्रशासनले अहिलेसम्म कसैको मृत्यु भएको जानकारी दिएको छैन ।

कुन बेला भयो घटना ?

बुधवार मौनी अमावस्याका अवसरमा अमृतस्नान हुन लागेका बेला उक्त घटना भएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो ।

प्रयागराज मेला प्राधिकरणकी एक अधिकारी आकाङ्क्षा राणाले पत्रकारहरूसँग कुरा गर्दै केही ठाउँमा भिडलाई व्यवस्थित गर्नका लागि राखिएका अवरोधहरू तोडफोड भएको खबर आएकाले भागदौड निम्तिएको तर अवस्था गम्भीर नरहेको बताइन् ।

घाइतेहरूको उपचार भइरहेको उनले बताइन् । भारतीय समाचारसंस्था पीटीआईले सामाजिक सञ्जाल एक्समा एउटा भिडिओ पोस्ट गरेको छ । त्यसमा घाइतेहरूलाई सेक्टर २४ स्थित अराइल उपकेन्द्रीय अस्पतालमा लगिएको देखिन्छ ।

मौनी अमावस्याको स्नान ‘रद्द’

उक्त घटनापछि सबै अखाडाहरूले मौनी अमावस्याको स्नान कार्यक्रम रद्द गरेको सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले बुधवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भागदौडका कारण कार्यक्रम रद्द गरिएको बताएका छन् ।

उनले बिहानका राति भएको घटनालाई दृष्टिगत गरी कार्यक्रम नगर्ने निर्णय गरिएको बताएका हुन् । उनले भने, ‘मौनी अमावस्यामा स्नान गर्न सबै साधुसन्तहरू तयार अवस्थामा थिए तर उक्त घटनालाई ध्यानमा राख्दै जनहितका लागि स्नान नगर्ने निर्णय गरियो ।’

स्रोत : एजेन्सी
प्रकाशित मिति : १६ माघ २०८१, बुधबार ०८:३२

लोकप्रिय