कर्णाली प्राकृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण छ । धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले समेत सम्पन्न कर्णालीको भूगोलसँगै इतिहासलाई पनि बुझ्न चाहनुहुन्छ भने सिंजा उपत्यका तपाईंका लागि उपयुक्त थलो हुन सक्छ । कर्णालीका लागि सिंजा उपत्यका ऐतिहासिक थलो हो । सिंजा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ ।
जुन ठाउँ नेपाली भाषाको उद्गम थलोका रुपमा समेत चिनिन्छ । वरिपरि पहाडले घेरेको समथर ठाउँमा सिंजा उपत्यका अवस्थित छ । तिला नदीको दायाँ–बायाँ गुजुमुज्ज बसेको बस्तीले सिंजा उपत्यका सजिएको छ । अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यकाको भूगोल अनुपम छ । ऐतिहासिक बजार रहेरपनि हवाइ सम्पर्क मात्र भएको सिंजा उपत्यकामा हालै मात्रै सुर्खेत उपत्यकासँग कर्णाली राजमार्ग मार्फत जोडिएको छ ।
स्याउ लगायतका फलफूलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ । खासमा सिंजा उपत्यका खस मल्लहरूको राजधानी थियो । विभिन्न ऐतिहासिक अध्ययन अनुसार सिंजा उपत्यकामा इसाको १३औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो । जहाँ १२औँ शताब्दीदेखि इसाको १४औँ शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति भएको थियो । सिंजा नेपालको मूल सभ्यता भएपनि यसको ऐतिहासिक मूल मर्म भने पछाडि परेको छ ।
कर्णाली प्रदेश सभा सचिवालयले ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ दर्ता गरेर यसको संरक्षणका निम्ति विभिन्न कार्यहरु अगाडि बढाएको छ । सिंजा उपत्यका जानलाई रारा तालको सौन्दर्यलाई नियाल्दै जान सकिन्छ । हिमनदी र पहाडको सौन्दर्यले तपाईंको मन लोभिन्छ । वरीपरी पहाडले घेरिएको खुल्ला उपत्यकाको मनोरम दृश्यहरुमा तपाईंले नेपाली सभ्यता, संस्कृति र इतिहासहरुलाई खोतल्न पाउनुहुनेछ ।
सिंजाको उपत्यकामा कनकासुन्दरी मन्दिर, पाण्डव गुफा, कनकासुन्दरी नौधारा मन्दिर, विराट दरबार, नाख्या दुला, लेकपर लामा मन्दिर, बोतामालिका महादेव मन्दिर लगायत जस्ता थुप्रै धार्मिक स्थलहरु छन् । त्यहाँ तपाईंले धार्मिकसँगै प्राचीन सभ्यताका चिनारीहरूको अध्ययन तथा अवलोकन गर्न पाउनुहुनेछ । यसले बाइसी–चौबिसी राज्यमध्येको शक्तिशाली राज्यको पहिचान समेत बोकेको छ । तपाईं काठमाडौँबाट जाँदै हुनुहुन्छ भने नेपालगन्ज हुँदै त्यहाँ पुग्न सकिन्छ ।
नेपालगन्जबाट करिब ४५ मिनेटको हवाई यात्रापछि जुम्लाको खलङ्गा र त्यहाँबाट सवारी साधनमा तीन घण्टाको यात्रामा तपाईं सिंजा उपत्यका पुग्न सक्नुहुन्छ । तपाईं सुर्खेतबाट सार्वजनिक सवारी साधनमा करिब १२ घण्टाको यात्रा गरेर पनि सिंजासम्म पुग्न सक्नुहुन्छ । सिंजाबाट तीन घण्टाको बसयात्रामा पुगिने खलंगा बजारमा चन्दननाथ मन्दिर पनि छ । तपाईंले त्यहाँ पुगेर दर्शन गर्न पनि सक्नुहुनेछ ।
सिंजा पुगेपछि त्यहाँबाट तीन घण्टाको बसयात्रामा पुगिने खलंगा बजारमा अवस्थित चन्दननाथ मन्दिर पनि दर्शन गर्न सकिन्छ । सिंजा जाँदा हवाइमार्ग होस् वा कर्णाली राजमार्गदेखि जताबाट गएपनि जुम्ला बजारमा तपाईं बास पनि बस्न सक्नुहुन्छ । जुम्ला बजारमा पर्यटकहरूलाई खाना बस्न आफ्नो अनुकूलअनुसारको होटलहरू पाइन्छन् । जहाँ ३०० देखि हजार रुपैयाँसम्म पर्ने कोठाहरू ननएट्याचदेखि एट्याच बाथरूमसम्मका होटलहरू रहेका छन् । ढुङ्गा, माटोले बनेका घरहरुले जुम्लाको सुन्दरतालाई बढाएको छ ।
जहाँ तपाईंले च्याङ्ग्राको सुकुटी, मार्सी चामलको भात, जौंको रोटी र सिमीको दालको स्वाद लिन पाउनुहुनेछ । हिमा नदीको किनारमा रहेको सिंजाको फाँट झनै लोभलाग्दो छ । यदि तपाईं वैशाख महिनामा सिंजा पुग्नुभयो भने फाँटभरि लगाएका जौ बालीले बयली खेलिरहेको दृश्य देख्न सक्नुहुन्छ । कुनै पर्व विशेषमा तपाईं त्यता पुग्नुभयो भने देउडा, चाची ठाडीभाका, झोडा, मागल, ढोली नाच, ढाल नाच, हुर्के नाच, बालनाचजस्ता मौलिक सांस्कृतिक प्रस्तुतीहरु समेत तपाईंले अवलोकन गर्न सक्नुहुन्छ । ऐतिहासक मौलिक संस्कृति र इतिहासलाई नजिकबाट नियाल्न घुम्न जाने होइन त सिंजा ?
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कर्णाली