मुगुको रारा तालमा पाहुना चराहरुको संख्या गत वर्षभन्दा यस वर्ष बढेको छ । समुन्द्री सतहबाट दुई हजार ९७२ मिटर उचाइमा रहेकोे रारा तालमा भारत, मानसरोवर, साइबेरिया लगायतका विभिन्न खाडी मुलुकबाट दर्जनौं प्रजातिका चराहरु यस वर्ष बढेका छन् । चराविद्हरुका अनुसार रारामा पाइने चराहरु साइबेरिया लगायत विभिन्न देशहरुबाट मंसिर महिनाबाट आउन सुरु गर्छन् ।
यस वर्ष माघबाट हिउँ परेको हुँदा हिजोआज धमाधम हाँस, जलेवा, काला, खैरा, पहेँलोलगायत फरक फरक रंग भएका धेरै चराहरु रारामा देखिने गरेका छन् । ती चराहरु वैशाख महिनासम्म रारामा बस्ने त्यसपछि गर्मी बढेपछि मानसरोवर, साइबेरिया जाने गरेका छन् । यस वर्ष पुस महिनामा रारामा डुङ्गा नचल्दा, मानिसहरुको आगमन कम हुँदा पाहुना चरा बढेको स्थानीयको भनाइ छ ।
रारा राष्ट्रिय निकुञ्जको रेर्कड अनुसार विगतका वर्षमा रारा तालमा रमाउने पाँच प्रजातिका ३४२ हाँसहरु रहेको देखिन्छ भने यसवर्ष चरा गणना अनुसार १५ प्रजातिका हाँस ५०० भन्दा बढी भेटिएको पाइन्छ । विशेषगरी राराको मिलीचौर, ओखरबोट, मिजार, दोफे, महादेव मन्दिर, आर्मी ब्यारेक क्षेत्रमा बढी हाँसहरु भेटिने गरेका छन् । खासगरी रारामा कमन कुट, खोया हाँस, मलाट हाँस, काले, खैरो, पहेँलो रंगका हाँसहरु रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
चिसो छल्न सयौँ चरा कैयौँ माइलको यात्रा गर्दै आउने क्रममा धेरै चराको समूहबाट छुटेर, बाटो बिराएर, थाकेर बाटोमै मृत्यु हुने गरेको र पुस तथा माघमा रारा पुगेका पाहुना चरा चार–पाँच महिनाको रारा बसाइपछि फर्किन्छन् । पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चरा रारा आउने गरेका हुन् । तालमा मिसिएका स–साना हिमखोलातिर पनि यी चरा उक्लिने गरेका छन् ।
चरा राती बास बस्न ताल नजिकका ढुङ्गेओढार र रूखमा आउने गरेका छन् । मंसिर सुरु भएपछि राराको तालदेखि जङ्गल क्षेत्रमा विभिन्न प्रकारका ठूला–साना चराचुरुङ्गी देखिनाका साथै चिरबिर आवाज सुनिने गरेको मुर्मा गाउँका स्थानीय नन्दसिङ रोकायाले बताए । प्रत्येक वर्ष विश्वका विभिन्न चिसो ठाउँबाट चिसो छल्न रारामा विभिन्न प्रजातिका पाहुना चरा आउने गरेका छन् । यस बर्ष पनि पाहुना चराको संख्या बढेको चरा गणनाबाट पुष्टि भएको छ ।
राष्ट्रिय निकुञ्जको मिलीचौर, ठाकुरज्यू मन्दिर, ओखरबोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुट लगायत पाहुना चरा प्रशस्त देख्न सकिन्छ । निकुञ्जले नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना गर्दा कोम्मोन कोड (मरुल) १७८, टुप्टेड डक (कालिजुरे हास) ८१, खोया हास तीन, हरियो टाउके हाँस एक, सुनजुरे हाँस ११७ र सिउरी डुबुल्के हाँस १२ गरी कूल ३९२ पाहुना चरा रारा आएको जनाएको छ ।
चिसो छल्न रारा आएका पाहुना चराको गणना गर्दा पाहुना चरा थपिएको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए । चरा गणनामा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयको सहभागिता थियो । चरा गणना गर्न निकुञ्जले चार वटा टोली बनाएर चराको सधैं बसोबास गर्ने र तैरिने तालका निश्चित ठाउँमा खटाई सोमबार बिहान ९ देखि ११ बजेसम्म गणना गरेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मुगु