सूचनाको शक्ति - The Power Of Information

        

कोशी र मधेश प्रदेशमा मन्द शीतलहर, जनजीवन प्रभावित

तराई मधेशका जिल्लामा शीतलहर चलेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलेको जनाएको छ । महाशाखाका अनुसार सप्तरी, झापा, मोरङ र सुनसरीमा शीतलहर चलिरहेको छ ।

महाशाखाले तराई मधेशमा चलेको शीतलहर पर्सि आइतवारसम्म रहने सम्भावना रहेको पनि बताएको छ । मधेश प्रदेशको पश्चिमी भूभाग तथा बाँकी प्रदेशको तराई भूभागमा भने बिहान हुस्सु कुहिरो लागे पनि दिउँसोपछि खुल्दै जाने महाशाखाले जनाएको छ । पानी परेजस्तै आकाशबाट लगातार तपतप चुहिने शीतलाई शीतलहर भनिन्छ ।

जाडोयाममा तराई मधेशमा शीतलहरका घटना बारम्बार हुने गरेको छ । शीतलहरबाट प्रभावित हुने ठाउँमा बसोवास गर्ने समुदायका मानिसले शीतलहरको समयमा आफ्ना परिवारको विशेष ख्याल राख्न आवश्यक छ । यस समयमा सकेसम्म घरबाहिर निस्किन उचित नहुने विज्ञको सुझाव छ ।

न्यानो लुगा लगाउने, तातोपानी र खानेकुरा सेवन गर्ने तथा वृद्ध र बालबालिकाप्रति विशेष ध्यान दिने गर्नुपर्छ । शीतलहर घोषणा भएका भन्दा बाहेकका जिल्लामा पनि चिसोले जनजीवन प्रभावित भएको छ । अहिले मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा मन्द शीतलहर चलिरहेको छ ।

महाशाखाका अनुसार ती क्षेत्रमा भोलिसम्म शीतलहर चल्ने अनुमान छ । बाँकी तराईका धेरै ठाउँमा आज पनि हुस्सु तथा कुहिरो लागेको र दिउँसोपछि केही खुल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी र हिमाली भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी पहाडी र हिमाली भागको मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाले तराई मधेशमा चिसोबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको सुनसरीको कोशी गाउँपालिका–७ का झगडु सदाले बताए । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण मानिसलाई घरबाट बाहिर निस्कनै समस्या भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसो र शीतलहरको कारण आफूहरु जोखिममा परेको सर्लाहीको बसवरिया गाउँपालिका–३ मुसहर माझी बस्तीकी जोनिता माझीले बताइन् । तराई मधेशका सबैजसो जिल्लामा चिसोको समस्या छ । तराई तथा मधेशमा हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन प्रभावित बनिरहँदा पहाडी र हिमाली क्षेत्रमा भने चिसो घटिरहेको छ । पश्चिमी वायुको प्रणाली कमजोर हुँदा चाँडै चिसो घटेको मौसमविद् सुदर्शन हुमागाईंले बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा अघिल्लो वर्षको यही समयको औसत तापक्रमभन्दा यस वर्ष औसत तापक्रम पाँच दशमलव दुई डिग्री सेल्सियसले बढेको छ । यो क्रम सबैजसो पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ । यसपटक हिउँद सुक्खा भएको छ । बितेका केही वर्षदेखि नै नेपालमा हिउँद सुक्खा हुन थालेको छ ।

यसैबीच तराईमा चिसो र बाँकी भागमा तातो बढे पनि वायु प्रदूषण सबैतिर बढेको छ । हिउँदे वर्षा नहुँदा सुक्खा हावामा प्रदूषणको मात्रा बढ्दै गएको वातावरण विभागका उपमहानिर्देशक शैलेशकुमार झाले बताए । अहिले हावाको गुणस्तर मापन सूचक एक्यूआई १७४ रहेको काठमाडौं विश्वका प्रदूषित शहरको सूचीको नवौँ स्थानमा छ । एक्यूआई १५० भन्दा धेरै भएको हावालाई अस्वस्थर मानिन्छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार ०९:०६

लोकप्रिय