सूचनाको शक्ति - The Power Of Information

        

तराईमा बाक्लो हुस्सु र कुहिरो, चिसोले जनजीवन प्रभावित

हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावस्वरुप यतिबेला (शुक्रबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ ।

तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोको कारण तराई तथा मधेसको जनजीवन प्रभावित भएको छ । विगत केही दिनदेखि मधेस र कोसी प्रदेशका तराईका जिल्लामा राम्ररी घाम लागेको छैन ।

देशका बाँकी भूभागको मौसम भने आज मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात तथा तराईका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्ने हुँदा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार ०७:२०

लोकप्रिय