सूचनाको शक्ति - The Power Of Information

        

गृहमन्त्रीको मनोमानी : एसएसपी बढुवामा चलखेल

गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनको सरुवा बढुवामा मनोमानी गर्न थालेका छन् । उनले कार्यसम्पादन मूल्यांकन भन्दा पनि आफ्नो भेग क्षेत्र र पार्टीको नातोलाई हेरेर मनोमानी गरेका हुन् । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस हुँदा उनले व्यापक चलखेल गरेका छन् ।

बढुवा सिफारिसमा अब्बल प्रहरी अधिकृतहरुलाई पछि पार्ने र भेगिय क्षेत्रीयताको आधारमा बढुवा सिफारिस भएको आरोप लागेको छ । कांग्रेस निकट भनेर चिनिएका तर कार्यसम्पादन मूल्यांकनमा सधै पछि पारिएकाहरु अघि अघि आएका छन् । १५ नम्बरमा रहेका अजय केसीलाई कांग्रेस भएकै आधारमा २ नम्बर ल्याइएको छ ।

१७ नम्बरमा रहेका बीरबहादुर बूढालाई राजेश बज्रचार्यको सोर्स लगाएर ४ नम्बरमा र १६ नम्बरमा नवराज अधिकारीलाई गृहमन्त्रीले कांग्रेस नेताको छोरा भएकै कारण ५ नम्बरमा ल्याइएको छ । उनीहरु तीन जना सुदूरपश्चिम घर भएका र कांग्रेस निकट नेताहरुको सम्बन्ध भएका प्रहरी अधिकृत भएकै कारण अघि ल्याइएको आरोप लागेको छ ।

हाल वरियताको दुई नम्बरमा रहेका र अनुसन्धानमा अब्बल अधिकृत कृष्ण कोइरालालाई ६ नम्बरमा पारिएको छ । त्यसैगरी ३८ नम्बरमा रहेका सुर्खेती राजेन्द्र धमलालाई २० नम्बरमा बढुवा गरिएको छ । उनी पूर्णबहादुर खड्काको खास मानिस हुन् । यसैगरी प्रभु ढकाललाई पनि अघि ल्याइएको छ ।

सन्तोष खड्का, जनार्दन जीसी र रन्जु सिग्देललाई पनि बढुवामा पछि पारिएको छ । सिग्देल कुनै पनि विवादमा नआएकी महिला प्रहरी अधिकृत हुन् । दोस्रो नम्बरका प्रकाश रानाभाट र तेस्रो नम्बरका कमल थापा छुट्दा अजय केसीलाई कांग्रेसको कोटाबाट अगाडि ल्याइएको स्रोतको दावी छ ।

एसपीमा ११औँ स्थानमा रहेका अनुपम शमशेर जबरा तेस्रो स्थानमा सिफारिस भएका छन् । उनी पूर्व प्रहरी अधिकारीका छोरा हुन् । उनलाई भूषण राणाले बूढानिलकण्ठको सोर्स लगाएका थिए । खड्का र जीसी पनि आफ्नो व्याचमा नेपाल प्रहरीभित्र काविल र विवाद नआएका अधिकृत हुन् । तुलबहादुर कार्की, राकेश सिंह, राजीबबहादुर बस्नेतलाई छुटाइएको छ ।

कार्की आफ्नो व्याचमा एसपी हुँदा १ नम्बरमा बढुवा भएका थिए । २८ नम्बरमा रहेका दीपक पोखरेललाई छुटाएर धमलालाई अघि तानिएको छ । पोखरेललाई झापामा ड्रागन खेतीमा प्रहरी दुरुपयोग गरेको आरोप लगाइएको छ । त्यसैगरी ३७ नम्बरका दयानीधि ज्ञावालीलाई पनि कम्युनिष्ट पार्टीको चार्ज लगाएर छुटाइएको छ ।

बारामा बसेर सीमा क्षेत्रमा घुमुवा परिचालन गरी आर्थिक उपार्जन गरिरहेका महेन्द्र खड्कालाई पनि बढुवा सिफारिस गरिएको छ । तराई मधेशमा बसेका प्राय सबैले बढुवा हुने अवसर पाएका छन् । महोत्तरी बसेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका प्रकाश मल्ललाई १४ नम्बरमा झारिएको छ ।

उनी ३१ नम्बरमा थिए । कार्यसम्पादन मूलयांकनमा खड्का र मल्ल राम्रो नम्बर नभएपनि उनीहरुलाई गृहमन्त्रीका विचौलियाहरुले आर्थिक लाभ लिएर बढुवा सिफारिसमा पारेको स्रोतको दाबी छ । कार्यसम्पादन मूल्यांकनमा राम्रो रहेका २० नम्बरको सूचीमा रहेका कार्कीलाई गृहमन्त्रालयमा नआएको र कम्युनिष्ट आस्था राखेको भन्ने हल्ला चलाएर बढुवा रोकिएको छ ।

सन्तोष सिंह राठौर २१, सञ्जयसिंह थापा २२ र विमलराज कँडेल २३औँ नम्बरमा परे । कँडेल अगाडिको टोलीका हुन् भने थापा ६१ किलो सुन प्रकरणमा विभागीय कारबाही सिफारिस भए पनि प्रहरी महानिरीक्षकबाट उत्कृष्ट अनुसन्धान अधिकृतको पुरस्कार पाएका अधिकृत हुन् । एक नम्बरमा रमेश थापा बढुवा सिफारिसमा परेका छन् ।

उनी नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत छन् । त्यसपछि क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस भएका छन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार १४:३१

लोकप्रिय