सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछाने अदालतमा हाजिर हुन भैरहवामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भैरहवा पुगेका छन् । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा लामिछानेलाई अभियुक्त बनाइएपछि जिल्ला अदालत रूपन्देहीमा हाजिर हुन त्यहाँ पुगेका हुन् । मंगलबार भैरहवा पुगेका लामिछाने बुधबार अदालत हाजिर हुने रास्वपाका एक नेताले बताए ।

रविसहित ४२ जनालाई अभियुक्त बनाउँदै रूपन्देही जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता गरिएको थियो । सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण गएको उल्लेख थियो ।

रविसहितका आरोपीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको मुद्दामा सजाय माग गर्दै मुद्दा दर्ता भएको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो । लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

लामिछाने र पूर्व डीआईजी समेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राई जीबीसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो । पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । लामिछाने सँग ४ करोड बढी विगो माग गरिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार १७:३७

लोकप्रिय