पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव ६ टनले मह वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार यस वर्ष १७ हजार १९७ वटा मौरीका घारबाट १२९ दशमलव १७ टन मह उत्पादन भएको छ ।
जिल्लामा किसानले यस वर्ष रु.एक हजार ५०० का दरले बिक्री गरेको बताएका छन् । जिल्लामा किसानले यस वर्ष मह बिक्रीबाट रु. १८ करोड आम्दानी गरेको उनको भनाइ छ । यस्तै, गत वर्ष १३ हजार ८५० मौरीका घारबाट १११ दशमलव तीन टन मह उत्पादन भएको थियो । गत वर्ष प्रतिकिलो मह रु.९०० देखि एक हजारसम्ममा बिक्री भएको थियो भने मह बिक्रीबाट रु. नौ करोडभन्दा बढी आम्दानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
विसं २०७९ मा १० हजार २५ मौरीका घारबाट ३२ टनमात्र मह उत्पादन भएको थियो । विसं २०७८ मा ११ हजार ५०० मौरीका घारबाट ३० टन मह उत्पादन भएको थियो । यस्तै २०७७ सालमा ११ हजार १०० मौरीका घारबाट ३८ टन मह उत्पादन भएको थियो । केन्द्रका अनुसार २०७६ सालमा नौ हजार ५०० मौरी घारबाट ३४ टन तथा २०७५ सालमा पाँच हजार ९०० मौरीका घारबाट ३२ टन मह उत्पादन भएको थियो ।
जिल्लामा यस वर्ष सबैभन्दा बढी सुन्दरबजार नगरपालिकामा मह उत्पादन भएको छ । यहाँ चार हजार ५०० घारबाट ३६ हजार केजी उत्पादन गरेको र यसबाट रु. पाँच करोड ४० लाख आम्दानी भएको सूचना अधिकारी थापाले बताए । जिल्लामा उत्पादित मह काठमाडौँ, पोखरा, चितवन लगायत बजारमा खपत हुँदै आएको छ । जिल्लाका किसानले आधुनिक मौरी घार र प्रविधिको प्रयोगबाट मह उत्पादन गर्न थालेका छन् ।
नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखाका अनुसार लमजुङको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार नगरपालिका, बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका छन् । शाखामा जिल्लाका ३८२ जनाभन्दा बढी मौरीपालक किसान आबद्ध छन् । पछिल्लो समयमा जिल्लामा मह उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताए ।
उत्पादन बढ्नुका कारण पहिला सौखले मौरीपालन गरिन्थ्यो भने अहिले बुझेर मौरीपालन गर्न थालेका छन् । पहिला मौरीपालन सम्बन्धी नबुझी गरेको र अहिले विभिन्न निकायले यससम्बन्धी तालिम प्रदान गरेकाले, मौरी चरन क्षेत्र राम्रो तथा पर्याप्त, हावापानी राम्रो, आधुनिक घारको प्रयोग लगायत कारणले मह उत्पादन बढ्दै गएको उनको भनाइ छ ।
जिल्लामा शेरना प्रजाति मौरीको मह उत्पादन गर्ने गरेको र यसले प्रतिघार पाँचदेखि १० केजीसम्म मह उत्पादन गर्ने कृषि ज्ञान केन्द्र प्रमुख खतिवडाले बताए । कार्यालयले यस वर्ष १२५ वटा मौरीका घार किसानलाई अनुदानमा वितरण गरेको थियो । कार्यालयबाट मौरीपालन लगायत कृषि क्षेत्रका किसानका लागि विभिन्न शीर्षकमा बर्सेनि रु. साढे तीन करोड खर्च गर्दै आएको केन्द्रले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । लमजुङ