इजरायलले गाजामा युद्धविराम गर्ने सम्झौता अनुमोदन गरेको छ । इजरायलको मन्त्रिपरिषदले शनिबार गजामा युद्धविराम गर्ने सम्झौतालाई अनुमोदन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । इजरायली सुरक्षा मन्त्रिपरिषदले गजामा युद्धविराम गर्ने सम्झौतालाई अनुमोदनका लागि शुक्रबार सिफारिस गरी पूर्ण मन्त्रिपरिषदमा पठाएको थियो ।
मन्त्रिपरिषदको ६ घन्टाभन्दा लामो बैठकपछि गाजामा १५ महिनादेखि चलेको युद्ध रोक्ने र बन्दी रिहाइका लागि मार्ग प्रशस्त गर्न स्वीकृति दिएको इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयलाई उद्धृत गर्दै रोयटर्सले समाचार लेखेको छ ।
‘सरकारले गाजामा रहेका बन्धक फर्काउने सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबारदेखि बन्धकहरू छुट्नेछन्,’ प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । इजरायली मन्त्रिपरिषदको स्वीकृतिपछि अमेरिकी मध्यस्तकर्ता ब्रेट मिकगर्कले सम्झौता कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।
उनले सम्झौता कार्यान्वयन आइतबारदेखि हुने र त्यसदिन तीन जनालाई हमासले बन्धकमुक्त गर्ने मिकगर्कले बताएका छन् । भोलि तीन इजरायली महिला बन्धकमुक्त हुनेछन् । गाजामा अझै ९८ जना हमासको बन्धकमा रहेको रोयटर्सले जनाएको छ । युद्धविराम तीन चरणमा हुनेछ । पहिलो चरणको युद्धविराम ४२ दिनको हुनेछ ।
हमासले ४२ दिनमा यसरी रिहा गर्नेछ गाजामा बन्धक बनाइएकाहरूलाई सम्झौता अनुसार युद्धविरामको पहिलो ४२ दिनमा हमासले ३३ जना बन्धक रिहा गर्नेछ भने इजरायलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी नागरिकहरूलाई रिहा गर्नेछ । युद्धविराम घोषणा भएको पहिलो दिन हमासले तीन जना बन्धक रिहा गर्नेछ ।
सुरूमा महिला र इजरायली सेनालाई हमासले बन्धकमुक्त गर्नेछ । हमासले बन्धकमुक्त गर्ने एक इजरायली नागरिकको बदलामा इजरायलले ३० प्यालेस्टिनी कैदी र एक महिला सैनिकको बदलामा ५० जना कैदी रिहा गर्नेछ । त्यसको एक सातापछि हमासले चार जना बन्धक रिहा गर्नेछ भने त्यसको बदलामा तोकिए अनुसारको कैदी इजरायलले रिहा गर्नेछ ।
त्यसपछि एक एक सातामा हमासले बन्धक रिहा गर्ने र इजरायलले प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौतामा उल्लेख छ । पहिलो चरणको युद्धविरामको ४२ दिनभित्रै अर्को सम्झौता गरिसक्नुपर्ने चुनौती मध्यस्तकर्ताहरूलाई रहनेछ । यदी ४२ दिनभित्रै दोस्रो चरणको युद्धविराम सम्झौता नभए इजरायलले फेरि गाजामा आक्रमण गर्न सक्ने खतरा उत्पन्न भएको छ ।
पहिलो चरणको युद्धविरामको समयमा इजरायली सैनिक गजाबाट नफर्कने बरू त्यहाँका वस्तिबाट किनारतिर सर्ने भनिएको छ । त्यस अवधिमा त्यहाँबाट अन्यत्र भागेकाहरू गाजामा फर्केर मानवीय सहायता लिन सक्नेछन् । ४२ दिनपछि हुने दोस्रो चरणको युद्धविराममा गाजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ ।
दोस्रो चरणको युद्धविरामपछि इजरायली सैनिक गाजा क्षेत्रबाट फर्कने भनिएको छ । तेस्रो चरणको युद्धविराममा गाजामा मारिएका इजरायली बन्धक र इजरायलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइनेछ । त्यसपछि गाजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इजरायल र गाजाको सीमाना खुला गरिने सम्झौतापत्रमा उल्लेख छ ।
हमासको बन्धकमा नेपालका विपिन जोशी पनि छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का हुन् विपिन । उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत अघिल्लो वर्षको भदौमा इसराइल गएका थिए । त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल पुगेका थिए ।
विपिन लगायत १७ जना एउटै फार्ममा काम गर्थे । असोज २० गते शनिबार हमासको आक्रमणमा उनीहरूमध्ये १० मारिए । हमासले गोली बर्साउन थालेपछि विपिन साथीहरूसँग बंकरभित्र लुकेर बसेका थिए । विपिनले बंकरमा हमासले हानेको ग्रिनेड मान्छे नभएकातिर फ्याँकिदिएको भनेर नेपाल फर्किएकाहरूले बताएका थिए ।
पछि हमासले बंकरभित्रै पुगेर गोली चलाई विपिनलाई तानेर लगेको उनीहरूले बताएका छन् । त्यसयता मंसिर ३ गते इजरायली सैनिकले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर)मा भिडिओ सार्वजनिक गरेको थियो । त्यसमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्य थियो ।
आइडिएफले ती दुईमध्ये एक नेपाली रहेको भनेको थियो । आइडिएफको दाबी सत्य भए तीमध्ये एकजना विपिन् रहेको आकलन गरिएको थियो । युद्धविराम भएपछि विपिन फर्केर आउने आश बढेको छ । यद्यपि पहिलो चरणको युद्धविराममा हमासले इजरायली बन्धकमात्रै रिहा गर्ने भनेकाले सो अवधिमा विपिन जोशी छुट्ने सम्भावना न्यून छ ।
दोस्रो चरणको युद्धविराममा उनी छुट्न सक्नेछन् । हमासले बन्धक बनाएका विपिनलाई छुटाउनका लागि नेपालले आवश्यक पहल पनि गरिरहेको छ । युद्धविरामको सम्झौता नजिक पुग्दा परराष्ट्र मन्त्री आरजु राणाले युद्धविरामको मध्यस्तता गरिरहेका कतारी मन्त्रीसँग विपिन जोशीको रिहाइबारे कुराकानी गरेकी थिइन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं