पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ । तीव्र गति लापरबाही, लेन मिच्ने लगायत कारणले सवारी दुर्घटना हुँदा मानिसको बढी मृत्यु हुने गरेकामा पछिल्लो समय चालकले मदिरा पिएर सवारीसाधन चलाउने कारण दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ ।
यसबाट स्वयं चालक तथा यात्रुको ज्यान जाने गरेको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मापसे र लापसे (लागुपदार्थ सेवन) सवारी दुर्घटनाको कारण बनिरहेको बताए । उनका अनुसार पछिल्लो पाँच महिनाको तथ्याङ्कमा मापसे गरेर सवारीसाधन चलाएका चालकका कारण ६२१ वटा दुर्घटना भएका छन् ।
ती दुर्घटनाबाट ४७ जनाको ज्यान गएको छ भने ८०७ जना घाइते भएका छन् । यसरी हुने दुर्घटना सङ्घीय राजधानी काठमाडौँ उपत्यकामै सबैभन्दा बढी हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा उपत्यकामा चालकले मापसे गरेर सवारीसाधन चलाएका ३७७ वटा गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु र ३८९ जना घाइते भएका छन् ।
यस्तै, कोशी प्रदेशमा यस्ता २८ वटा दुर्घटनामा सातको मृत्यु र ५० जना घाइते भएका छन् । मधेश प्रदेशमा ८२ दुर्घटना हुँदा एकको मृत्यु, १५४ जना घाइते, बागमती प्रदेशमा २८ दुर्घटनामा तीनको मृत्यु, ४४ घाइते, गण्डकी प्रदेशमा २३ दुर्घटना हुँदा तीनको मृत्यु र ३६ जना घाइते भएका छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा ४३ दुर्घटना हुँदा १० को मृत्यु र ७० जना घाइते भएका छन् । कर्णालीमा १२ दुर्घटना हुँदा १४ जना घाइते र सुदूरपश्चिम प्रदेशमा २८ दुर्घटना हुँदा सातको मृत्यु र ५० जना घाइते भएका प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लगायत देशभर नै मापसेविरुद्ध जाँच र कारबाही अभियान जारी छ, तर कतिपय अवस्थामा सार्वजनिक सवारीसाधनका साथै एम्बुलेन्स र स्कूल बसका चालकले समेत मापसे तथा लापसे गरेर सवारी चलाएका भेटिएका प्रवक्ता अधिकारीले जनाकारी दिए ।
यस्ता चालकका कारण धेरै यात्रुको ज्यान जोखिममा पर्ने भएकाले त्यस्तो सूचना पाए प्रहरीलाई जानकारी गराउन सार्वजनिक अनुरोध गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले बताए ।
यसरी अनुरोध तथा प्रचारप्रसार गर्दा पनि मापसे गरेर सवारी चलाउने क्रम रोकिएको छैन । चालकको लापर्बाहीले स्वयं आफैँ र यात्रुहरूको समेत ज्यान जोखिममा गर्ने भएकाले सतर्कता अपनाउन प्रहरीको आग्रह गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं