…सँगै यात्रा गरेर के गर्नु दोबाटो आएपछि छुट्टिनुपर्छ केरे !
बाटो एउटै हुनलाई त पुग्ने ठाउँ पनि एउटै हुनुपर्यो नि, पुग्ने ठाउँ अर्कैअर्कै भएपछि बाटो पनि अर्कैअर्कै हुने भो केरे ! तिम्रो घर लैजाऊ न अनि त पुग्ने ठाउँ पनि एउटै बाटो पनि एउटै ।
लैजाऊ भन्दा लाने होइन डरछेरुवा कामी ।
जाऊँ भन्दा जाने होइन उत्ताउली बाउनी ।
साँच्ची हो ?
साँच्ची त हो केरे !
आऊँ ?
आऊ
आएँ है म त !
हैन ब्यारे !
यो संवाद हो, चलचित्र ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’को । शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा माथिको संवाद छ । त्यसपछि सुरु हुन्छ, ‘साँझ पर्यो झमक्क’ गीत । गीतभित्रको शब्द होइन यो, सुरु हुनुअगाडिको संवाद हो । प्रेममा रहेका सिनेमाका मुख्य दुई पात्रले गर्ने संवाद हो ।
रोधी बस्दा वा लाइभ दोहोरीमा कतिपय अवस्थामा यस्ता शब्द आउन सक्छ । तर, त्यो रोधी वा लाइभ दोहोरी रेकर्ड भइरहेको छ र सार्वजनिक प्रयोजनका निम्ति गाइएको हो भने यस्ता शब्द प्रयोग गर्नु वाञ्छनीय नरहेको स्वयं सजर्क तथा स्रष्टाले लामो समयदेखि बताउँदै आएका छन् । ‘साँझ पर्यो झमक्क’मा हाकाहाकी प्रकाश सपूतले ‘कामी’ शब्द प्रयोग गरेका छन् ।
यसको उद्देश्य के हो ? यो शब्द यसरी भनेको यही समुदाय रुचाउँछ ? कथित उपल्लो जातका व्यक्तिले दलित समुदायलाई हेप्छन् भनिरहेका बेला गीतसंगीत र सिनेमाबाट यस्ता शब्द आउनु कत्तिको जायज हो ? यो बहसको विषय हो । प्रकाशले यो शब्द किन प्रयोग गरे ? प्रकाश ‘कामी’ शब्द प्रयोग गर्ने कि नगर्ने भन्ने बहसको विषय भएको बताउँछन् ।
‘यो बहसको विषय हो । यसलाई कसरी भनिएको छ भन्ने कुराले म्याटर गर्छ,’ उनी भन्छन्, ‘यहाँ होच्याउने हिसाबले भनिएको छैन । होच्याएको जस्तो महसुस हुँदैन होला । त्यसलाई रमाइलो तरिकाले नै लिनुहुन्छ होला ।’ गीतको यति अंश सुनेर नै विवाद गर्न नहुनेमा उनी जोड दिन्छन् ।
‘यो होच्याएर भन्दा होच्याएजस्तो लाग्ने हो । त्यो नेपालको थरहरूको सूचीमा सूचीकृत थर हो,’ प्रकाश अगाडि थप्छन्, ‘र्यान्डमली जिस्काएर भनिएको हो ।’ यसो भनिरहँदा प्रकाशले ‘कामी’ शब्द प्रयोग गरेनन् । बरु, ‘त्यो थर’ मात्र भने । यसको अर्थ उनी स्वयंलाई व्यावहारिक रूपमा ‘कामी’ शब्द प्रयोग गर्न हिचकिचाहट भयो ।
गीतमा ‘कामी’ शब्द अभिनेत्री स्वस्तिमा खड्काले प्रयोग गरेकी हुन् । उनलाई यो शब्दको प्रयोग सामान्य लागेको छ । ‘बाउनलाई पनि बाउनी भनेको छ । तपाईंले बाउनी भनेको याद नगरेर कामी भनेको मात्रै याद गर्नुभयो भने तपाईंले चाहिँ होच्याउने इन्टेनसनले हेर्नुभयो कि !,’ स्वस्तिमा भन्छिन् ।
गायक शिव परियार स्रोता दर्शकले स्वीकार गरे सही हुने, अस्वीकार गरे नराम्रो रहेछ भनेर बुझ्नुपर्ने बताउँछन् । ‘दर्शक र स्रोताले सकारात्मक रूपमा लिए यसलाई सकारात्मक रूपमा लिनुपर्यो । दर्शक र स्रोताले नै नकारात्मक रूपमा लिनुभयो भने नकारात्मक रूपमा लिनुपर्यो ।’ आफू आधुनिक र गजल गायनको सर्जक तथा स्रष्टा भएकाले लोक र चलचित्रका गीतमा कस्तो शब्द प्रयोग गर्न मिल्ने नमिल्ने भन्न नसक्ने उनी बताउँछन् ।
तर, सुगम संगीतमा यस्ता शब्द अग्रजबाट प्रयोग नभएको र आफूले पनि नराखेको उनी सुनाउँछन् । समाजले जे भन्छ, त्यही नै सत्य भएको उनको भनाइ छ । प्रकाश आफैँमा राम्रो सर्जक भएको भन्न शिव हिचकिचाउँदैनन् । ‘उहाँ राम्रो सर्जक हुनुहुन्छ, यसमा शंका छैन,’ उनी अगाडि थप्छन्, ‘तर, विगतले पनि अर्थ राख्छ ।’ प्रकाशका गीतमा केही न केही ट्विस्ट हुने उनी बताउँछन् ।
उनका गीतमा ट्विस्टको एंगल हुने शिव सुनाउँछन् । ‘केही ट्विस्टको एंगल लिएर काम गरेको पनि हुनसक्छ,’ उनी प्रस्ट पार्छन्, ‘यो ट्विस्ट र एंगललाई पनि दर्शक र स्रोताले स्वीकार गर्नुहुन्छ भने त्यही नै राम्रो हो ।’ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाललाई भने ‘साँझ पर्यो झमक्क’मा प्रयोग गरिएको शब्दका विषयमा आपत्ति छैन । प्रकाशकै स्वरमा स्वर मिलाउँछ प्रतिष्ठान ।
प्रतिष्ठानका महासचिव शिव हमाल ‘कामी’ शब्द होच्याउने र हेयभावले प्रयोग नगरिएकाले आपत्ति जनाउनुपर्ने अवस्था नरहेको बताउँछन् । ‘जसरी कामी शब्द गीतमा प्रयोग गरिएको छ, प्रेमप्रतिको समपर्णको हिसाबले प्रयोग गरिएको छ । मायालु तरिकाले प्रयोग भएको प्रस्टै छ,’ शिव भन्छन्, ‘बाउनी शब्दमा कसैलाई आपत्ति छैन, आपत्ति कामी शब्दमा हो । कि काठे बाउन भन्दा पनि आपत्ति हुनुपर्यो, होइन भने कामी भन्दा मात्रै आपत्ति जनाउनु भएन ।’
विषय, सन्दर्भ र भाव हेरेर कहाँ कसरी शब्द प्रयोग गरिएको छ, त्यसलाई आधार मानेर व्याख्या गरिनुपर्नेमा उनी जोड दिन्छन् । ‘साँझ पर्यो झमक्क’मा माया दर्साउन ‘कामी’ शब्द प्रयोग गरिएको भुल्न नहुने उनको धारणा छ । चलनचल्तीमा रहेका शब्द गीतसंगीतमा प्रयोग गरिनु सामान्य भएको उनी बताउँछन् ।
‘कि यो शब्द प्रयोगमै ल्याउनु भएन, दलित आयोगले पनि यो शब्द नै प्रयोग गर्नुभएन । होइन, आयोगले चाहिँ शब्द प्रयोग गर्ने, अरूले चाहिँ प्रयोग नै नगर्ने भन्ने हुँदैन,’ महासचिव हमाल भन्छन्, ‘सन्दर्भ अनुसार जहाँ जसरी प्रयोग गरिएको छ, त्यसमा असहमति जनाउनुपर्ने अवस्था छैन ।’ प्रकाशको छवि जति कुशल संगीतकर्मीको छ, त्यति नै विवादित सर्जकको पनि ।
कहिले उनको सिर्जना अरूको सँग मिलेको भनेर त कहिले भिडियोमार्फत प्रकाश विवादको केन्द्रमा हुन्छन् । प्रकाशको ‘गलबन्दी’ सुपरहिट भयो । तर, त्यो शम्भु राईको गीतसँग मिलेको आरोप लाग्यो । शम्भु राई ‘गलबन्दी’को भाका आफ्नो पुरानो देउसी गीतसँग मिलेको भन्दै नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय पुगे । भलै, पछि दुई पक्षले सहमति गरे, विवाद टुंगियो ।
‘पिर’मा उनले ठूलो आलोचना खेप्नुपर्यो । माओवादी पूर्वलडाकु देह व्यापारमा संलग्न भएको देखाइएको भिडियोको कटु टिप्पणी भयो । भिडियोका धेरै दृश्य काटेर पछि पुनः अपलोड गर्नुपर्यो । ‘दोहोरी ब्याटल–२’ मा पनि उनले आलोचना खेप्नुपर्यो । ‘दोहोरी ब्याटल–१’ मा फरक प्रयोग गरेर उनले आफूलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गरेका हुन् ।
प्रकाशले त्यसकै दोस्रो सिजनमा दोहोरीको सामान्य मर्म समेत भुलेको भन्दै आलोचना व्यहोर्नुपर्यो । दोहोरीका नाममा अनावश्यक शब्द प्रयोग गरेर विवादित बनाएर गीत चलाउन खोजेको उनीमाथि आरोप लाग्यो । त्योभन्दा अघि ‘बोल माया’ गीत ल्याएर उनी लोकप्रियताको शिखरमा थिए । प्रकाशको ‘सकम्बरी’ पनि विवादमा तानियो । पारिजातको ‘शिरीषको फूल’ उपन्यासका दुई मुख्य पात्र ‘सकम्बरी’ र ‘सुयोगवीर’ पात्र यो गीतको भिडियोमा छन् ।
शब्द नै स्त्रीद्वेषी भएको र ‘सकम्बरी’लाई गलत रूपमा चित्रण गरिएको भन्दै धेरैले आपत्ति जनाएका थिए । पारिजात स्मृति केन्द्रले विज्ञप्ति नै जारी गर्दै गम्भीर आपत्ति जनाएको थियो । उपन्यास शिरीषको फूलकी सकम्बरीको चरित्रसँग कुनै प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु, पुरुष पात्रलाई सुयोगवीर र शिरीषको फूल पुस्तक समेत देखाउनुलाई संयोग मात्र मान्न नसकिने केन्द्रले जनाएको थियो ।
पारिजातद्वारा लेखिएको कृति प्रयोग गर्न कुनै स्वीकृति नलिइएको भन्दै केन्द्रले प्रतिलिपि अधिकार पनि उल्लंघन भएको जनाएको थियो । महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रूपमा प्रस्तुत गरिएको भन्दै केन्द्रले प्रकाशलाई क्षमायाचना गर्न तथा त्यस्ता दृश्य सच्याउन आग्रह गरेको थियो । त्यसैले प्रकाशका सिर्जना जति लोकप्रिय र प्रतीक्षित छन्, त्यति नै उनको छवि विवादित बन्दै गएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं