सूचनाको शक्ति - The Power Of Information

        

लस एञ्जलसको डढेलो अनियन्त्रित, दशौँ हजारको उद्धार, १३ हजार भवन जोखिममा

अमेरिकाको लस लस एन्जलसस्थित एक जंगलमा लागेको आगो अनियन्त्रित भएको छ । करिब २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२०० एकडमा फैलिएको छ । दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई सुरक्षित स्थामा निकाल्न निर्देशन दिइएको बताएका छन् ।

उक्त वनको आगलागीबाट १३ हजार भवन जोखिममा परेको छ । प्यासिफिक पालिसेड क्षेत्रमा बाक्लो धुवाँ निस्किरहेको सार्वजनिक भिडियो फुटेजमा देख्न सकिन्छ । यहाँ बसोबास गर्ने मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागिरहेको भिडियो समेत सामाजि सञ्जालमा पोष्ट गरिएका छन् । क्यालिफोर्नियामा लाखौँ मानिसका लागि चेतावनी जारी गरिएको छ ।

आगो अझै फैलिने खतरा रहेको अमरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तीव्र गतिमा फैलिरहेको डढेलोका कारण लस एन्जलसमा अवस्थित प्यासिफिक प्यालिसेड्सबाट दशौँ हजार मानिसहरूको उद्धार गरिएको छ । अग्नि नियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको बताएका छन् ।

विमान र दमकलहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । तर सुक्खा अवस्था र १६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझ फैलाएको छ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले तीव्र वेगको हावाले अन्यत्र पनि डढेलो फैलिन सक्ने चेतावनी दिएका छन् । मानिसहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहँदा ठाउँठाउँमा सवारी आवागमन प्रभावित भएको छ ।

कतिपय मानिसहरू आफ्ना सवारीसाधन छाडेर भागेका छन् । केही सवारीसाधनलाई डोजर प्रयोग गरेर हटाइएको छ । लस एन्जलस अग्निनियन्त्रण विभागकी प्रमुख क्रिस्टिन क्रलीले हवाई निरीक्षण गर्दा आगलागी फैलिएको क्षेत्र १,२६० एकरभन्दा बढी पुगेको बताइन् । उनका अनुसार भीषण हावा, सुक्खा र साना रूख अनि पातपतिङ्गरका कारण आगो अझै फैलिएको छ ।

आगो फैलिएको क्षेत्रमा २५० अग्निनियन्त्रकहरू हेलिकप्टर र दमकलसहित परिचालित छन् । अधिकारीहरूका अनुसार १०,००० भन्दा बढी घर र १३,००० भवन जोखिममा छन् । मङ्गलवार सुरु भएको डढेलोले तीव्र हावा र सुक्खा अवस्थाका कारण भयानक बनेको थियो । सान्टा आना नामक शक्तिशाली हुरीले उक्त डढेलोलाई तीव्र गतिमा फैलाएको छ ।

भिडिओ फुटेजहरूमा प्यासिफिक प्यालिसेड्स क्षेत्रमा घरहरूमा आगो लागेको र मानिसहरू कार छाडेर आगोको लप्काबाट बच्न भागिरहेको देख्न सकिन्छ । डढेलोको जोखिम अझै उच्च भएकाले राज्यका अधिकांश क्षेत्रका लागि चेतावनी जारी गरिएको छ । प्यासिफिक प्यालिसेड्स एउटा दुर्गम तर उच्च जनघनत्व भएको क्षेत्र हो ।

यो प्रशान्त महासागरको सीमामा पर्ने सान्टा मोनिका पर्वतको सीमामा अवस्थित छ । यहाँबाट बाहिरिनका लागि चर्चित प्यासिफिक कोस्ट राजमार्गको प्रयोग गर्नुपर्छ । हावाको वेग अझै बढ्ने चेतावनी मौसम सम्बन्धी निकायले दिइएकाले राति पनि आगोको खतरा कायम रहने बताइएको छ ।

विगत केही वर्षहरूमा अमेरिकामा डढेलोको आकार, अवधि र शक्ति नाटकीय ढङ्गले वृद्धि भएको छ । अधिकांश त्यस्ता डढेलो मानवीय गतिविधिका कारण लागेका बताइन्छ । सुक्खा मौसमका कारण क्यालिफोर्नियामा डढेलोका घटना दोहोरिहन्छन् । सन् २०१८ मा उत्तरी क्यालिफोर्नियामा हालसम्मकै खराब डढेलो लागेको थियो ।

प्रकाशित मिति : २४ पुष २०८१, बुधबार १२:०५

लोकप्रिय