सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज विमानस्थलको वार्षिक आम्दानी झण्डै सवा १३ करोड, अन्यत्र के छ ?

नेपालगन्ज विमानस्थलले एक वर्षको अवधिमा झण्डै सवा १३ करोड रुपैयाँ आम्दानी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा नेपालगन्ज विमानस्थलको वार्षिक आम्दानी १३ करोड ११ लाख छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै आम्दानी गर्ने विमानस्थल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख छ । यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल समेत हो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै आम्दानी गर्ने विमानस्थलको दोस्रो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु हुन नसकेपछि आन्तरिक उडान संख्या बढ्दा आम्दानी सुधार भएको छ ।

तेस्रो स्थानमा भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलको वार्षिक आम्दानी २१ करोड १३ लाख रुपैयाँ रहेको छ । चौथो स्थानमा विराटनगर विमानस्थल छ । यस विमानस्थलको आम्दानी १७ करोड ५६ लाख रुपैयाँ बराबर छ भने नेपालगन्ज विमानस्थल पाँचौं स्थानमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार छैटौंमा चन्द्रगढी विमानस्थल, सातौंमा धनगढी विमानस्थल, आठौंमा भरतपुर विमानस्थल, नवौंमा लुक्ला विमानस्थल र दशौंमा जनकपुर विमानस्थल रहेका छन् भने कतिपय विमानस्थलबाट भने प्राधिकरणले ज्यादै न्यून आम्दानी गर्ने गरेको छ । सबैभन्दा कम आम्दानी लामिडाँडा विमानस्थल कार्यालयको छ ।

प्राधिकरणले एक वर्षमा विभिन्न कार्यालयबाट गरेको १४ अर्ब ६५ करोड रुपैयाँमध्ये सबैभन्दा कम लामिडाँडा विमानस्थल कार्यालयबाट एक वर्षमा ४७४ रुपैयाँमात्र आम्दानी गरेको छ । त्यस्तै डोटीस्थित प्राधिकरण कार्यालयको आम्दानी ९ हजार ४७५ रुपैयाँ रहेको छ । रुम्जाटार विमानस्थल कार्यालयले १० हजार ६७८ रुपैयाँ आम्दानी गरेको छ ।

धेरै आम्दानी गर्ने १० विमानस्थल

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल – १२ अर्ब ८६ करोड
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल – ३४ करोड ९३ लाख
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल – २१ करोड १३ लाख
  • विराटनगर विमानस्थल – १७ करोड ५६ लाख
  • नेपालगन्ज विमानस्थल – १३ करोड ११ लाख
  • चन्द्रगढी विमानस्थल – ८ करोड १७ लाख
  • धनगढी विमानस्थल – ६ करोड ५६ लाख
  • भरतपुर विमानस्थल – ६ करोड ३९ लाख
  • लुक्ला विमानस्थल – ६ करोड २३ लाख
  • जनकपुर विमानस्थल – ६ करोड १२ लाख

प्रकाशित मिति : १९ पुष २०८१, शुक्रबार १६:४७

लोकप्रिय