नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनी एमाले अध्यक्ष केपी ओलीमाथि खनिए । पत्रकार सम्मेलन उनले ओलीमाथि व्यंग्य गरिएको कविताबाट सुरुवात गरे ।
रावलले आफू एमालेमा रहँदा विभिन्न भूमिकामा गरेका कामको फेहरिस्त पनि सुनाए । आफूले सधैं इमान्दार र कर्तव्यनिष्ठ भएर काम गरेको उनले बताए । एमालेमा आफूले सधैं संघर्ष गरेको उनले स्मरण गरे । आफ्नो व्यक्तिगत स्वार्थ केही पनि नभएको बताएका रावलले स्वदेश र विदेशमा रहेका नेपालीहरूको भविष्य सुन्दर बनाउनका लागि भने आफू कटिबद्ध रहने बताए ।
उनले देश र विदेशमा रहेका नेपालीहरूलाई मुलुक बनाउने अभियानमा समाहित हुन आह्वान गरे । एमालेले नभई केपी ओली गुटले कारबाही गरेर पार्टीबाट आफू निकालिएको बताएका रावलले सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएको जिकिर गरे । आफूमाथि पूर्वाग्रह राखेर कारबाही गरिएको उनको दाबी थियो ।
रावलले ओली आफैं प्रतिगामी भनेकाहरुसँगको साँठगाँठमा रहेको आरोप लगाए । ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरुलाई निरंकुश शैलीमा हटाउन थालिएको उनले बताए । उनले भने, ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रुपमा जीवन पर्यन्त रहिरहने मेरो अवस्था रहेन । त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ ।’
उनले सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको टिप्पणी पनि गरे । रावलले ओलीले कारबाहीको प्रस्ताव गर्दा सात जना नेताले विरोध गरेको बताए । कारबाहीको विरोधमा सचिवालय बैठकमा आफ्नो मत राख्ने नेताहरुलाई उनले धन्यवाद दिएका छन् ।
पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टीको गरिमामाथि धब्बा नलागोस् भनि अभिव्यक्ति दिनुहुने स्थायी कमिटीका सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिलाई निलम्बन गरियो । मलाई पार्टीको सदस्यबाटै हटाइयो । केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा त्यसको विरोध गर्ने ७ जना नेतालाई धन्यवाद ।’
रावललाई कारबाही र दुई नेतालाई निलम्बन गर्ने प्रस्ताव हुँदा नेताहरु अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई लगायतले विरोध गरेका थिए । रावलले दशौं महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा केपी ओलीले किन उठेको भनेर प्रश्न गरेको भन्दै ओलीलाई आठौं र नवौं महाधिवेशनमा माधव नेपाल र झलनाथ खनालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न किन उठेको भनेर प्रतिप्रश्न गरे ।
उनले आफूले पार्टीमा लामो योगदान गरे पनि पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेर आफ्नो ५१ वर्षको राजनीतिक जीवनमा समाप्त पार्न खोजेको गुनासो गरे । कुनै ठाउँमा जन्मेको, शिक्षा भएको र कुनै थर भएकोले मात्र अध्यक्षमा उठ्नुपर्ने हो भन्दै रावलले ओलीलाई प्रश्न गरे । उनले भ्रष्ट, दलाल र अनैतिकहरूसँग साँठगाँठ गरी ओलीले देशमा सुशासन र समाजवाद ल्याउने कुरा गर्नु पत्याउन नसकिने बताए ।
उनले जनताको हित र सिद्धान्तमा चल्नेलाई पार्टीबाट निकाल्ने, प्रतिनिधि सभाको टिकट नदिने, पार्टीका काममा सहभागी हुन नदिएर ओलीले गुट चलाएको बताए । उनले ओलीको यस्तो शत्रुवत् व्यवहार जबजको मान्यता विपरीत रहेको बताए । उनले आफूसँग अन्य नेताहरूसँग छलफल गरेर ओलीसँग पटकपटक वार्ता गर्ने प्रयास गर्दा उनले समय नदिएको समेत बताए । उनले भीम रावलले कुरा गर्न नचाहेको ओलीको भनाइ कुप्रचार रहेको बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं