चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी । यही हुलियामा सखारै घरबाट निस्किन्छन् वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना । साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उनको जोसजाँगर युवावयमा भन्दा कम छैन ।
उनले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरी लगायत बिक्री गरी जीविका चलाइरहेका छन् । ‘छोराहरु बेरोजगार छन् । खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,’ उनले भने, ‘डोरी बेचेरै पेट पालिएको छ ।’ डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप रु १०० दिन्छन् ।
फुर्सदमा उनी चाउचाउ, बिस्कुट लगायत प्लास्टिक सङ्कलन गर्छन् । भीमदत्त र बेदकोट नगरपालिकाका विभिन्न गाउँबस्ती साइकलमा डुलेर ती सामग्री बिक्री गर्छन् । उनका अनुसार रु २५० देखि ५०० सम्ममा ती सामग्री बिक्री हुन्छन् । ग्रामीण क्षेत्रमा वनजङ्गलबाट पातपतिङ्गर ल्याउन जालको प्रयोग गरिन्छ ।
‘चिसोयाम भएकाले गोठका वस्तुभाउलाई न्यानो बनाउन जङ्गलबाट पात ल्याइने हुँदा जाल बिक्री भइरहेको छ,’ उनले भने, ‘आकार अनुसार फरक फरक दरमा बेच्छु । दैनिक दुई–तीन वटा बिक्री हुँदा गुजारा चल्छ ।’ सानो आकारको जाल, मुखौरी रु २५० र ठूलो आकारको रु ५०० मा बिक्री हुने गर्छ ।
प्लास्टिकबाट निर्मित यस्ता घरायसी सामग्री टिकाउ हुने भएकाले किसानले रुचाउने गरेका छन् । रामस्वरुपका दुई छोरा छन् । उनकी श्रीमती ५४ वर्षकै उमेरमा बितिन् । कोरोना महामारीपछि यो व्यापारमा लागेको उनी बताउँछन् । ‘काम नगरी खान पुग्दैन । डोरीको व्यापारले जीवन धानिएको छ,’ उनले भने, ‘बुढेसकालमा काम गर्ने रहर त थिएन तर बाध्यता त्यस्तै आइलाग्यो ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कञ्चनपुर