वामदेव गौतमलाई पार्टीमा भित्र्याउन नेकपा (एकीकृत समाजवादी)ले संवाद अघि बढाएको छ । २०७८ भदौ १८ गते गौतमले नेकपा (एमाले) परित्यागको घोषणा गरेका थिए । त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए ।
तर अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले एमाले परित्याग गरेका थिए । त्यसपछि गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहे । उनी राष्ट्रिय सभा सांसद पनि छन् ।
२०७४ को चुनावमा बर्दियाबाट चुनाव हारेका उनलाई नेकपा (एमाले–माओवादी) सरकारका पालमा राष्ट्रिय सभा सदस्यमा सिफारिस र मनोनीत गरिएको थियो । २०७९ असार १४ गते गौतमले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । तर यो अभियानले पार्टीको रूप भने लिन सकेन ।
२०८० जेठमा गौतमले पुरानै पार्टी एमालेमा फर्कन चाहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले एमालेले बोलाउने हो भने आफूसहित नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान समाहित हुने बताएका थिए ।
त्यसबेला उनले आफ्नो सदस्यता एमालेमै रहेको दाबीसमेत गरेका थिए । एमालेले ७० वर्षे उमेर हद हटाउनुपर्ने मागसमेत गरेका थिए । एमालेले कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेर हद हटाउने निर्णय गरिसकेको छ । २०८० जेठमा भएको सचिवालय बैठकले १० औं महाधिवेशनको विधान सम्मेलनले पारित गरेको कार्यकारिणी कमिटीमा लाग्ने उमेर हद हटाउने निर्णय गरेको थियो ।
वामदेवको मागअनुसार पनि एमालेले ७० वर्षे उमेर हद हटायो, तर पार्टीमा उनलाई भित्र्याएन । गौतमले बालकोट पुगेर पटक–पटक अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानी गरेका थिए, तर उनलाई एमाले फर्कने अवसर जुटेन । गौतम अहिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को सम्पर्कमा छन् ।
उनीसहित नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानमा रहेकाहरूलाई पार्टीमा भित्र्याउन एकीकृत समाजवादी पनि इच्छुक देखिन्छ । यसबारे गत मंसिर २६ गतेदेखि चलेको स्थायी कमिटी बैठकमा समेत छलफल भएको छ । ‘केही पार्टीमा रहेका शीर्ष नेताहरू हाम्रो पार्टीमा आउन संवाद चलिरहेको छ, आजको बैठकले उहाँहरूसँग संवाद गर्ने गरी तयारी गरेको छ,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने ।
वामदेव गौतमलाई पार्टीमा प्रवेश गराउनेबारे बैठकमा छलफल गरिएको हो भन्ने प्रश्नमा खतिवडाले भने, ‘उहाँ धेरै सकारात्मक हुनुहुन्छ, पार्टीको औपचारिक प्रक्रिया पूरा गर्न संवाद गर्ने निर्णय स्थायी कमिटीले गरेको छ ।’
साथै स्थायी कमिटीले २४ सदस्यीय केन्द्रीय सचिवालय र पाँच सदस्यीय केन्द्रीय कार्यालय रहने निर्णय पनि गरेको छ । नेताहरूको कार्यविभाजनबारे दुई दिनपछि निर्णय गरिने उनले बताए । एकीकृत समाजवादीले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा संविधान संशोधन सुझाव कार्यदल पनि गठन गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं