देशको अभिभावकीय भूमिका निर्वाह गरिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने कोसिसमा छन् । त्यसका लागि उचित वातावरण बनाउन उनी सार्वजनिक कार्यक्रमका साथै एमालेका विभिन्न संगठनका गतिविधिमा सहभागी हुँदै आएकी छन् । गत आइतबार मात्र उनी एमालेनिकट कर्मचारी सङ्गठनले काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भइन् । सामाजिक र राजनीतिक भेटघाटमा सक्रिय पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्कने संकेत नयाँ भने होइन ।
सात वर्ष राष्ट्राध्यक्षको जिम्मेवारी निर्वाह गरेर दुई वर्षअघि बिदा हुँदै भण्डारीले सरकारी सुविधा नलिने घोषणा गरेर सक्रिय राजनीतिमा फर्किने संकेत दिएकी थिइन् । २०७९ फागुन २८ मा शीतल निवासबाट बाहिरिएपछि उनी निजी निवासमा दैनिकजसो एमाले नेता कार्यकर्तासँगको भेटमा व्यस्त छन् । गत वैशाखमा नेकपाको हीरक महोत्सवमा नेकपा एमालेले भण्डारीलाई ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गरेपछि उनी सक्रिय राजनीतिमा आउने चर्चाले झनै व्यापकता पाउँदै आएको छ । त्यस्तै गत जेठ १६ र १७ गते भएको २३ जनवर्गीय संगठनको राष्ट्रिय महिला भेला पनि भण्डारीको प्रमुख आतिथ्यमा गरिएको थियो ।
गत असोज पाँच गते मदन भण्डारी फाउण्डेसको कार्यक्रममा त भण्डारीले २०८४ को चुनावबाट एमालेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा सभा अध्यक्ष सबै बनाउनुपर्ने समेत बताइन् । अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत एमालेकै एउटा समूहले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय बनाइरहेको छ । ओलीका कदमलाई पार्टी पद्धतिभन्दा एकपक्षीय निर्देशनका रूपमा बुझ्ने गरेको एमालेमा एउटा तप्का पूर्वराष्ट्रपति भण्डारी पार्टीमा सक्रिय आगमनको प्रतीक्षामा छ ।
त्यसै पूर्वराष्ट्रपति भण्डारीलाई अघि सारेर एमालेभित्रको असन्तुष्टि साम्य पार्ने र अध्यक्ष ओलीलाई विश्वास नगर्ने अन्य कम्युनिस्ट घटकलाई एक ठाउँमा ल्याउने केही एमाले नेताहरूको चाहना छ । तर, एमालेमा आफ्नो विकल्प विद्या बन्ने डरले ओली भने अत्तालिन थालेका छन् । त्यसैले उनले आफू भइन्जेल अध्यक्षको विकल्प नखोज्न चेतावनी दिँदै आएका छन् । गत मङ्सिर २९ र ३० गते एमाले केन्द्रीय संगठन विभागले प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव र संगठन विभाग प्रमुखलाई केन्द्रीय मुख्यालय च्यासल बोलाएर दुई दिने कार्यशाला गरेको थियो ।
उक्त कार्यशालामा पनि ओलीले भावी नेतृत्वको विकल्प नखोज्न सांकेतिक चेतावनी दिएका थिए । यसअघि पनि ओलीले अझै २० वर्ष पार्टीमा कसैले आस गर्न नहुने बताउँदै आएका थिए । भण्डारी पुनः राजनीतिमा सक्रिय बन्न सक्ने पहिलो आधार मदन भण्डारी र जबजको विरासत भएको एमालेका थुप्रै नेता–कार्यकर्ता चर्चा गर्ने गरेका छन् । मदनले अगाडि सारेको जबजको सिद्धान्तको जगमा एमाले संसदीय राजनीतिमा ठूलो दलका रूपमा स्थापित भएकाले राष्ट्रपति भइसकेपछि पनि विरासतका रूपमा विद्यालाई प्रमुख नेतृत्व स्विकार्न र पार्टीलाई स्थापित गर्न सहज हुने बुझाइ एमालेको ठूलो पंक्तिमा छ ।
मदनको विचारलाई सामाजिक काम र विकासमार्फत जोड्न मदनकै नाममा फाउन्डेसन, प्रतिष्ठान, स्पोर्टस् एकेडेमी, स्वास्थ्य प्रतिष्ठान, प्राविधिक शिक्षालयदेखि विश्वविद्यालय स्थापना गर्नेसम्मको काम एमालेले गरेको छ । भण्डारी स्वयंले पनि जबजको माध्यमबाट अभियान चलाउन आग्रह गरिसकेकी छन् । एमालेका प्रभावशाली नेताहरू विष्णु पौडेल, भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतसँग पनि भण्डारीको व्यक्तिगत सम्बन्ध मानिन्छ ।
राष्ट्रपति हुँदा मुख्यमन्त्री, मन्त्री, सांसद, मनोनीत सांसद, संवैधानिक नियुक्तिदेखि पार्टीका मनोनीत केन्द्रीय सदस्यसम्म भण्डारीको कुरा सुन्नुपर्ने बाध्यतामा ओली पर्दै आएकाले उनी सक्रिय राजनीतिमा आउँदा शक्तिशाली नेताकै रूपमा स्थापित हुने केही एमालेजनको बुझाइ छ । राष्ट्र प्रमुखको भूमिका निर्वाह गरिसकेका व्यक्ति पार्टीको सक्रिय राजनीतिमा आउन हुने–नहुने विषयमा बहस भई नै रहेको समयमा कुनै न कुनै रूपमा एमालेबाट भण्डारीको राजनीतिक यात्रा अघि बढ्ने भने पक्काजस्तै भएको छ । तर पार्टी र सत्ता दुवैमा आफ्नो वर्चस्व कायम राख्ने चाहना बोकेका ओली र उनको समर्थन पंक्तिलाई चिरेर पार्टीमा स्वीकार्यता स्थापित गर्न भने भण्डारीका लागि चुनौतीपूर्ण हुनेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं