सहकारी ठगीमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि हद म्याद ९० दिन रहेकोमा अन्तिम पटक चार दिन म्याद थप भएको हो । उनलाई योसहित नवौं पटक म्याद थप भएको छ । गत कात्तिक २ गते उनलाई पक्राउ गरेर पोखरा लगिएको थियो ।
आज कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसमेत पाँच जनालाई थप चार दिन म्याद थप गर्ने आदेश दिएको हो । हिजोमात्र लामिछानेलाई विभिन्न तीन मुद्दामा सजाय गर्नुपर्ने माग दाबीसहित कास्की प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
लामिछानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय दिइएको छ । उनीसहित विभिन्न ५१ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवादीहरुबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल गर्नुपर्ने मागदाबी प्रहरीको छ ।
सत्यपाटी