सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीले धार बदल्दा जोखिममा रानीजमरा कुलरिया सिँचाइ आयोजना

कर्णाली नदीले धार परिवर्तन गरेपछि कैलाली टीकापुरको रानीजमरा कुलरिया सिँचाइ आयोजनाका नहर जोखिममा परेका छन् । बर्दिया र कैलालीको सीमानामा बग्ने कर्णाली नदीको धार कैलालीतिर बढी मोडिएपछि गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइको संरचना जोखिममा परेका हुन् ।

आयोजनाका संरचना बन्दा कर्णालीको पानी गेरुवातिर बढी जान्थ्यो । अस्थायी बाँध खनेर पानी टीकापुरतिर लगिएको थियो । अहिले पुरै कर्णालीको पानी टीकापुरतिर मोडिएपछि जोखिम बढेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सूचना अधिकारी नविन पौड्यालले जानकारी दिए ।

उनका अनुसार कर्णालीको पश्चिमतिर झरैनाला र पूर्वतिर बर्दियाको गेरुवामा पानी बाँडिन्थ्यो । अहिले झरैतिर पानी बगेको छ । पश्चिमतिर पानी कम गएकाले सत्तीमा ५०० मिटर र पूर्वतिर पानी धेरैँ गएकाले गेरुवामा एक हजार १०० मिटरको पुल बनेको थियो । अहिले उल्टो भएको छ । पानी पश्चिमतिर बढी गएको छ ।

नदीको धार मोडिनुमा स्थानीय निकायबाट अत्याधिक दोहन हुनु रहेको छ । पूर्वीभागमा बर्दिया निकुञ्ज पर्ने भएकाले दोहन हुन पाएको छैन । आयोजनाले पश्चिम भंगालोलाई नियन्त्रण गर्नका लागि ठूल्ठूला ढुंगा, पाइलिङ तथा बोरा र तारजाली गरेको छ । आयोजनाका सूचना अधिकारी पौड्यालले पूर्वी भंगालोमा पानीको बहाब बढाउन बर्दिया राष्ट्रिय निकुञ्जले आवश्यक व्यवस्था गर्नुपर्ने बताए ।

आर्थिक वर्ष २०६६–०६७ बाट १४ हजार ३०० हेक्टरमा सिंचाई गर्ने गरी रानीजमरा र कुलरिया सिंचाई आयोजनाको शुरुवात भएको थियो । १२ अर्ब ३७ करोड ७५ लाखको लागतमा बनाउने भनिएको यो योजना अन्तिम चरणमा पुगेको छ । आव २०७४–०७५ मा लम्की विस्तार अन्तर्गत ६ हजार हेक्टरको योजना थपिएको छ । यसको बजेट २७ अर्ब ७० करोड २४ लाख रहेको छ । दोस्रो फेजको यो योजनामा विश्व बैंकले सहयोग रहेको छ ।

सूचना अधिकारी पौड्यालले लम्की विस्तारमा अहिलेसम्म मूख्य नहर बनिसकेको र शाखा नहर बनाउने तयारीमा रहेको बताए । आव २०८१–०८२ देखि पथरिया–कान्द्राको १८ हजार हेक्टर थप गरेर तेस्रो फेजमा आयोजनालाई अगाडि बढाइँदैछ । ५४ अर्ब ८ करोड ७२ लाखको योजना बनेको छ । विश्व बैंकले करिव २० अर्ब ऋण दिने बताइएको छ । आयोजनाबाट ४.७१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

तीन वटा युनिटमध्ये अहिलेसम्म दुई वटा युनिटबाट ३.२ मेगावाट विद्युत उत्पादन भएको छ । समग्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजना, टीकापुरको ७५ प्रतिशत प्रगति भएको छ । संसदको पूर्वाधार विकास समितिले हालै आयोजनाको निरीक्षण गरेर समस्या र चुनौतीलाई समाधान गर्न पहल गर्ने आश्वासन दिएको छ । समितिमा अनुगमन संयोजक ठाकुर गैरे, सदस्यहरु प्रतिमा गौतम, विना लामा र लालबीर चौधरी लगायतले अनुगमन गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार ०७:०१

लोकप्रिय