सूचनाको शक्ति - The Power Of Information

        

विवाह गर्नेलाई गाउँपालिकाको बधाईपत्र !

जुम्लाको पातारासी गाउँपालिकाले उमेर पुगी विवाह गर्ने जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्न थालेको छ । गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने नवजोडीलाई बधाई प्रमाणपत्र दिन सुरु गरेको हो ।

बधाई पत्रमा लेख्ने गरिएको छ, ‘तपाईंहरूको जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेर बालविवाह न्यूनीकरणमा प्रेरणादायी भूमिका निर्वाह गर्नुभएकोमा हार्दिक बधाई तथा सफल र सुखद दाम्पत्य जीवनको शुभकामना ।’

गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार दण्ड र सजायको डर मात्र बालविवाह घटाउन पर्याप्त छैन । यस ऐतिहासिक कदमले बालविवाह रोक्नमा मद्दत पुर्याउने उनको विश्वास छ ।

उनले भनिन्, ‘हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, महिला बालबालिका शाखा, बाल क्लब र अनुगमन, अभियान, अन्तरक्रिया, सडकनाटक र गाउँबस्तीमा पुगेर बालविवाह रोकथामका लागि सचेतना कार्यक्रम गर्ने लगायत काम निरन्तर भइरहेका छन् ।’

बालविवाह बढी हुने वडामा विवाहित नयाँ जोडीलाई बधाईपत्र दिएर यो कार्यको सुरुआत गरिएको महिला तथा बालबालिका शाखा प्रमुख गिरीले जानकारी दिइन् । पातारासी गाउँपालिकामा १ देखि ७ वटासम्म वडा रहेका छन् ।

महिला तथा बालबालिका शाखा प्रमुख गिरी भन्छिन्, ‘यो कामको सुरुवात जुम्लाका ८ स्थानीय तहमै पहिलो हो, नयाँ सन्देश प्रवाह हुनेछ । सिकाई पनि हुने देखिन्छ । उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने सोचको विकास गर्न यो रचनात्मक विधि रचिएको हो ।’

पातारासी गाउँपालिकाको वडा नम्बर ५ लाई जिल्लामै पहिलो बालविवाहमुक्त वडा घोषणा भैसकेको छ । वडाध्यक्ष वीरबहादुर बुढा उमेर पुगेपछि मात्र विवाह गर्ने संस्कारलाई समाजमा स्थापित गराउन खोजिएको बताउँछन् ।

उमेर पुगेपछि मात्र विवाह गर्ने प्रचलनलाई प्रवर्द्धन गर्न यो उपाय अपनाइएको र यसले नयाँ पुस्तामा सही सन्देश पुग्ने र बालविवाह गर्ने परम्परागत हानिकारक अभ्यास अन्त्य गर्न सहयोग पुर्याउने विश्वास पालिकाले लिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ ।

सोही योजनाअनुरूप पातारासी गाउँपालिका–७, रिनीका अर्जुन खड्का र लालमाया बुढा (खड्का)लाई पहिलो बधाईपत्र प्रदान समेत गरिएको छ । यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणका निम्ति प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांक अनुसार २०७८–०७९ आर्थिक वर्षमा जुम्लामा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरी आमा बनेका छन् । सबैभन्दा धेरै गुठिचौर गाउँपालिकामा ३३ प्रतिशत किशोरी आमा बनेका छन् । त्यसपछि क्रमशस् पातारासीमा २४, तिलामा २२, तातोपानीमा २०, कनकासुन्दरीमा २०, हिमामा १७, सिंजामा १५ र चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरीहरु आमा बनेका थिए ।

यस्तै आर्थिक वर्ष २०७७–०७८ को तथ्यांक हेर्दा जिल्लाका ८६० जना किशोरीहरु २० वर्ष नपुग्दै आमा बनेका थिए । मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार, २० वर्ष नपुगि गरिएको विवाह स्वतस् बदर हुने साथै तीन वर्षसम्मको कैद र ३० हजार रुपैयाँसम्मको जरिवाना सजायको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतवार ०८:२९

लोकप्रिय