सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेको साधारण सदस्यबाट निलम्बित

नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट लिनम्बन गरेको छ । पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्ने लगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको छ ।

बाँके–१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पुर्वमन्त्री समेत हुन् । लिला गिरी मुख्यमन्त्री हुँदा चौधरी मन्त्री थिए । ‘जिम्मेवार पदमा बसेका नेताले पार्टीलाई हानी नोक्सानी पुर्याएमा कारबाही हुने विधानको व्यवस्था छ, त्यसैअनुसार निलम्बन गरिएको हो,’ बाँके जिल्ला अध्यक्ष निरक गुरुङले भने ।

बाँके एमालेको जिल्ला सचिवालय बैठक बसेर चौधरीलाई निलम्बनको निर्णय भएको हो । एक नेताका अनुसार चौधरी कुनैपनि पार्टी कमिटीमा नरहेकाले बाँके जिल्ला कमिटीले पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय भएको हो । माओवादीबाट एमाले आएका चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए ।

तर गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा उनी उपसचिव पदमा पराजित भए । उपसचिव पराजित भएपछि उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको चर्को आलोचना गर्दै आएका थिए । सार्वजनिक आलोचना गरेकै कारण चौधरीलाई बाँके एमालेले स्पष्टीकरण सोधेको थियो ।

‘स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरी प्रति महशुशीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनु भएको हुँदा तपाईलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कार्बाहीको व्यवस्था अनुरुप पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी गराउँदछु,’ अध्यक्ष गुरुङले पठाएको पत्रमा उल्लेख छ ।

यद्यपि गल्ती सच्याएर आउँदा निलम्बन फुकुवा हुने अध्यक्ष गुरुङले बताए । ‘दुई वर्षसम्म निलम्बनको व्यवस्था छ, तर उहाँले गल्ती सच्याउँछु भन्नुभयो भने फुकुवा भइहाल्छ,’ अध्यक्ष गुरुङले भने । चौधरी तत्कालीन नेकपा माओवादीबाट नेकपा एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार १९:१५

लोकप्रिय