सरकारले सर्वसाधारणका लागि आइतबारदेखि सशुल्क रूपमा धरहरा खुला गरेसँगै मानिसहरूको भीड बढेको छ । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा आइतबारदेखि शुल्कसहित सञ्चालनमा आएपछि धरहरा चढ्नेको भीड लागेको हो ।
सरकारले नेपाली सर्वसाधारणलाई २००, सार्क राष्ट्रका पर्यटकलाई ५०० र सार्क बाहेकका विदेशी पर्यटकहरूलाई १ हजार शुल्कसहित धरहरा खोलेको हो । धरहरा चढ्दा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने ५० प्रतिशत छुट पाउने छन् ।
सरकारले धरहरा व्यवसायीक रूपमा सञ्चालन गर्नु स्वागतयोग्य भएपनि चढ्न लाग्ने शुल्क बढी भएको अधिकांश सर्वसाधारणको गुनासो छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई सहुलियत दिएको भन्दै ज्येष्ठ नागरिक भने हर्षित भएका छन् । आइतबार न्युज एजेन्सी नेपालसँग धरहरा चढ्न पाउँदाको अनुभव सुनाउँदै कोभ्रकी विष्णुमाया गिरीले खुसी व्यक्त गरिन् ।
आफू सानो हुँदा काठमाडौँको बानेश्वर र कोटेश्वरमा केही घर मात्र रहेको सम्झिँदै उनले भनिन्, ‘पहिले त बानेश्वर र कोटेश्वरमा दुईचार घर थिए । आज धरहराबाट हेरेको त यत्रो मानिस बसेका रैछन् । पैतला टेक्ने ठाउँ नै छैन । पाँचतले घरसम्म चाहिँ पुगेको थिए । आज पहिलोपटक अग्लो घर चढ्न पाएँ । धरहरा चढ्न भनेर पाँच चोटि आइसके । जेठदेखि आउन थालेको आज बल्ल चढ्न मिल्यो ।’
आयआर्जनका लागि सरकारसँग धेरै विकल्प रहेको बताउँदै उनले धरहरालाई व्यवसायका रूपमा चलाउन नहुने बताइन् । त्यस्तै नवलपुरकी सुनिता सापकोटाले सरकारले कम शुल्क तोकेको खण्डमा अझै धेरै सर्वसाधारण चढ्न पाउने बताइन् ।
उनले भनिन्, ‘पहिलो पटक धरहरा चढेको रमाइलो अनुभव भइरहेको छ । तर, सरकारले धेरै नै शुल्क तोकेकोमा नरमाइलो समेत लागिरहेको छ । सबैले त पैसा तिर्न सक्नुहुन्न नि । त्यही भएर यो रेट चाहिँ कम गरिदिनुपर्यो । छुट दियो भने अझै धेरै मानिसहरू आएर चढ्न पाउनुहुन्छ नि त ।’ २०७२ सालको भूकम्पमा भत्केको धरहराभन्दा पुनर्निर्माण गरिएको धरहरा अझ व्यवस्थित रहेको सर्वसाधारणको अनुभव छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं