सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीका विपन्न परिवारलाई पक्की घर

विपन्नका लागि नयाँ पक्की घर निर्माणको शिलान्यास गर्दै अध्यक्ष पौडेल लगायत ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि पक्की घर निर्माण सुरु गरिएपछि त्यस्ता समुदायका नागरिकले नयाँ घर पाउने भएका छन् ।

विशेष अनुदान अन्तर्गत राप्तीसोनारी गाउँपालिकाले विपन्न आवास कार्यक्रममार्फत लक्षित समुदायको छनौट गरी उनीहरूलाई नयाँ घर बनाइदिन सुरु गरेको हो । आर्थिक रूपले विपन्न समुदायका परिवारलाई नयाँ घर बनाइदिएर जेठ मसान्तभित्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

उनले घर नभएर अरूको घरमा बस्नु पर्ने बाध्यता भएका परिवार र साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा (भित्ता) भएको घरमा बस्दै आएका विपन्न समुदायलाई प्राथमिकतामा राखेर पालिकाले ५२ वटा घर बनाइदिन थालेको बताए । राप्तीसोनारी गाउँपालिका वडा ८ धरमोतीकी गङ्गा विकको परिवारका लागि नयाँ घर निर्माणको शिलान्यास गर्दै अध्यक्ष पौडेलले पालिकामा विपन्न आवास कार्यक्रम सुरु भएको बताए ।

उनले संविधानप्रदत आवास पाउनुपर्ने नागरिकको हकलाई पालिकाले कार्यान्वयन गरेको जनाउँदै चालु आर्थिक वर्षमा गङ्गा विकलाईजस्तै ५२ परिवारलाई गाउँपालिकाले घर बनाइदिन थालेको बताए । उनले भने, ‘हामी यस वर्ष ५२ वटा घर बनाउँदैछौं । यो हाम्रो आफ्नै कार्यक्रम हो, तर यसमा केन्द्र सरकारको पनि सहयोग छ ।’

गाउँपालिकाले विपन्न र आयस्तर कमजोर भएका परिवारको पहिचान गरेर विपन्न आवास कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । नयाँ घर पाउनेहरूमा आदिवासी, दलित तथा पिछडिएका समुदायका परिवारहरू रहेको गाउँपालिकाका उपाध्यक्ष मनीषासिंह थारुले बताइन् । उनले घरहरू गुणस्तरीय र भरपर्दो बनाउन निर्माणको जिम्मा पाएका ठेकेदारलाई निर्देशन दिइन् ।

गाउँपालिकाका असिस्टेन्ट प्राविधिक दुर्गा केसीले चालू आर्थिक वर्षमा ९ वटै वडामा ५२ वटा घर बनाउन लागिएको बताए । उनले विशेष अनुदानको दुई करोड ८० लाखको लागतमा घरहरू निर्माण गरिने बताए । एउटा घरको लागत पाँच लाख ३७ हजार ५५५ रुपैयाँ रहेको जनाइएको छ । त्यसमा ब्रण्डा, दुईवटा पक्की कोठा र छानोजस्ता पाताको हुनेछ ।

शौचालय पनि त्यसैबाट निर्माण गरिनेछ । आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी भवरभवानी निर्माण सेवा र सौगात कन्स्ट्रक्सन ठाकुरबाबा बर्दियाले घर निर्माणको ठेक्का लिएका छन् । भवरभवानीले २१ वटा र सौगातले ३१ वटा घर बनाउनेछन् । सौगातले वडा ३, ४, ५, ६ र ७ मा ३१ वटा र भुवरभवानीले वडा नं. १, २, ८ र ९ मा २१ वटा घर बनाउने सम्झौता गरिएको छ ।

भुवरभवानी निर्माण सेवाका सञ्चालक सुरेन्द्र पौडेलले सम्झौता अवधिमै घरहरू निर्माण गरेर हस्तान्तरण गरिने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँपालिकासँग भएको सम्झौता अनुसार घर निर्माणको काम सकेर जेठ मसान्तभित्र सबै घर हस्तान्तरण गर्ने र गुणस्तरीयतामा कुनै सम्झौता नहुने बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतवार १५:०१

लोकप्रिय