सूचनाको शक्ति - The Power Of Information

        

लेकबाट बेसी झर्न थाले भेडाका बथान

चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेसी झर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै जिल्लाका घुम्ति गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेसी झार्न थालेका छन् ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा.सुनील न्यौपानेका अनुसार जिल्लामा साना ठूला गरेर २०० भन्दा बढी घुम्ती भेडीगोठ छन् । ती सबै लेकबाट बेसी झर्न थालेका छन् ।

सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुले लगायतका ग्रामीण क्षेत्रमा भेडीगोठ छन् । गर्मीयाममा भेडाबाख्रा लेकतर्फ लैजाने गरेकामा चिसो मौसम सुरु भएसँगै बेसीतर्फ पुनःफर्किएका भेडीगोठाला कमल अधिकारीले बताए ।

उनले भने, ‘गर्मीयाममा ६ महिना लेक र चिसोयामको ६ महिना बेँसीमा भेडीगोठ राख्ने गर्दछौँ । बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका खेतबारीमा प्रयोग हुने गरेको छ ।’ क्व्होलासोथार गाउँपालिका–३ घलेगाउँका दिर्घराज घलेले गाउँका दुई वडाका भेडीगोठ रहेका र चिसो हुन थालेसँगै लेकबाट घलेगाउँतर्फ ल्याउन लागेको बताए ।

कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला क्युबे–ल्हेदे हुँदै गाउँतर्फ फर्किन थालेको स्थानीयको भनाइ छ । जिल्लाको उत्तरी ताघ्रिंका भेडीगोठ यसअघि थुर्जुलेक पुगेकामा अहिले ठूलागी आइपुगेको र केही हप्तापछि गाउँमै ल्याइनेछ । विशेषगरी गुरुङ समुदायको पुर्ख्यौली चलन तथा पेसाको रुपमा भेडीगोठलाई लिइन्छ ।

लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूध पोखरीनजिकै थुर्जु तथा लमजुङ हिमालको काख लगायतका ठाउँसम्म लैजाने गरिन्छ । पसगाउँको भेडीगोठ लमजुङ र कास्कीको सिमाना डाँडा तिंजेमा पुग्ने गर्दछ । उत्तरी लमजुङको ताघ्रिंका बासिन्दाको भेडीगोठ लके थुर्जु पुग्ने गरेको छ ।

बेसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ । भेडाको ऊन निकालेर राडीपाखी, बख्खु लगायत सामग्री बनाउन प्रयोग हुने गर्छ । जिल्लाभर २३ हजार भेडाबाख्रा रहेको तथ्यांक छ । वार्षिक १० हजार किलो ऊन उत्पादन हुने गरेको छ । ऊनको प्रतिकिलो रु ३०० मा बिक्री हुने गरेको छ ।

स्रोत : रासस
प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार ०६:२६

लोकप्रिय