गर्मी सकिएसँगै जाडोयाम शुरु भएको छ । र, जाडोमा हुने बिरामीहरूको ग्राफ पनि उकालो लागेको छ । मौसम बदलिने क्रमसँगै धेरै मानिस बिरामी पर्छन् । त्यसका विभिन्न कारण छन् । तर, मुख्य कारण चिसो हावा र शुष्क वातावरण प्रमुख हुन् ।
जाडोयाममा शारीरिक गतिविधि कम हुँदा पनि बिरामी पर्ने सम्भावना ज्यादा हुन्छ । यस्तै, कोठाभित्रै लामो समय बिताउँदा पनि बिरामी पर्ने सम्भावना हुन्छ । यस्तै, घरमा भेन्टिलेसन अभावमा पनि भाइरसको संक्रमणमा पर्ने जोखिम रहन्छ ।
यी हुन् बिरामीका कारण
- जाडोयाममा हावामा नमी कम हुन्छ । र, भाइरस र ब्याक्टेरियाबाट सुरक्षा दिने म्युकस झिल्ली सुख्छ ।
- म्युकस झिल्ली सुकेपछि त्यसमा दरार पैदा हुन्छ । र, त्यसमार्फत ब्याक्टेरिया र भाइरस सहजै शरीरमा प्रवेश गर्छन् ।
- जाडोयाममा शरीरलाई न्यानो बनाइराख्न ज्यादा ऊर्जाको आवश्यकता हुन्छ । त्यसकारण हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतामाथि दबाब पर्छ ।
- प्रतिरोधात्मक क्षमतामाथि दबाब पर्दा बिरामी पर्ने जोखिम बढ्छ । अझ लापरवाही गरियो भने त बिरामी परिन्छ नै ।
- जाडोयाममा मानिसहरू बढीजसो घरभित्रै बिताउँछन्, जहाँ भेन्टिलेसन कम हुन्छ ।
- झ्याल र ढोका बन्द रहँदा भित्रै भाइरस संक्रमणको जोखिम बढ्छ ।
- यी सबै कारणबाट जाडोमा सर्दी, खोकी र अन्य प्रकारका बिरामीको जोखिम अधिक रहन्छ ।
बिरामी हुनबाट कसरी बच्ने ?
- बन्द ठाउँहरूमा पनि मास्क पहिरिँदा भाइरसको सम्पर्कमा आउने सम्भावना कम रहन्छ ।
- हरियो सागसब्जी, मौसमी फल लगायत रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाऊँ ।
- जाडोयाममा कम प्यास लाग्छ । मानिस पानी पिउन कम गर्छन्, जसले बिरामी बनाउने सम्भावना बढाउँछ । त्यसैले प्रशस्त पानी पिऊँ ।
- रोग प्रतिरोधात्मक क्षमता बढाउन पर्याप्त निन्द्रा पुर्याउँ । निन्द्राले शरीरलाई रिकोभर गर्छ ।
- इन्फ्लुएन्जा र मौसमी भाइरसबाट बच्न भ्याक्सिन पनि लगाउन सकिन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिका
- अदुवा र बेसारको काँढा बनाएर पिऊँ । त्यसमा एन्टी–इन्फ्लेमेटरी गुण भरपुर हुन्छ । त्यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
- तुलसी र मरिचको काँढा बनाएर पिउँदा घाँटी र छातीको संक्रमणबाट बच्न सकिन्छ ।
- सुन्तला, कागती, अम्बक, अमला र ब्रोकाउलीमा भिटामिन सी प्रशस्त पाइन्छ । र, त्यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
- सूर्यको प्रकाशबाट पर्याप्त भिटामिन डी पाइन्छ । च्याउ र दूधबाट पनि भिटामिन प्राप्त हुन्छ ।
- ओखर, बदाम, मटर र पालकमा प्रचुर मात्रामा जिंक पाइन्छ । त्यसले शरीरलाई पोषण प्रदान गर्छ ।
- मह र बेसारमा एन्टी–ब्याक्टेरियल गुण हुन्छ, जसले रोज प्रतिरोधात्मक क्षमता बढाउँछ ।
सत्यपाटी संवाददाता । काठमाडौं