हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ । तिनै नसाले हाम्रो शरीरका जति पनि अङ्गहरु छन्, तिनको सञ्चालन गरेका हुन्छन् । मस्तिष्क लगायत स्नायु प्रणालीका अङ्ग विद्युतीय तरङ्ग जस्तो प्रतिक्रियाबाट चलेको हुन्छ । शरीरका विभिन्न अङ्ग चल्दा पनि फरक फरक विद्युतीय तरङ्गले काम गरेको हुन्छ । शरीर सञ्चालन गर्ने वा रोक्ने तिनै विद्युतीय तरङ्गमा सन्तुलन नभएमा मानिस बेहोस हुने, कुनै अङ्ग नचल्ने वा अन्य असामान्य अवस्था सिर्जना हुने हुन्छ ।
कतिपय अङ्गका कामहरु हामीले देख्न, अनुभव गर्न सक्छौं भने कतिपय देख्न र अनुभव पनि गर्न सकेका हुदैनौँ । केही कारणले त्यो प्रवाहमा अवरुद्ध भयो भने त्यहाँ असामान्य अवस्था हुन्छ र त्यसले अस्वाभाविक तरङ्ग पैदा गर्छ । त्यसले शरीरको कुनै भागमा झड्का हुने वा पूर्ण रुपमा बेहोस हुने गर्दछ, त्यसलाई नै हामी छारेरोग भन्ने गर्छौं । मस्तिष्कको जुन भागको नसामा छारे रोगको असर पर्छ त्यही भागमा लक्षण देखिने गर्दछ । छारे रोग भनेको मस्तिष्कबाट उत्पन्न हुने एक प्रकारको रोग हो ।
यस रोगमा मस्तिष्कमा क्षणिक खराबी उत्पन्न हुँदा होस हराउने, लड्ने, बेहोस हुने, कम्पन हुने, चोटपटक लाग्नसक्ने हुन्छ । छारेरोगमा बेहोसै हुनुपर्छ भन्ने छैन । यस्ता बिरामीको कुनै अङ्ग अस्वाभाविक रुपमा चल्ने, आँखा फर्फराउने, कोही बेहोस नै हुने हुन्छन् । कतिपयले जिब्रो टोक्ने, आँखा बाङ्गिने, मुखमा फिज आउने, ¥याल आउने, ओठ टोक्ने, घाँटी बटार्ने, शरिर काठजस्तै कडा बनाउने गर्छन् । कतिपय क्षणमा दिसा पिसाब समेत नियन्त्रणमा हुँदैन । सामान्यतयाः यस्तो अवस्था २०–३० सेकेण्ड रहन्छ र विस्तारै पहिलेकै अवस्थामा आउँछन् ।
नेपालमा कति मानिस यस रोगबाट ग्रसित छन् भन्ने यकिन तथ्याङ्क छैन । विश्व स्वास्थ्य संगठनले कुल जनसङ्याको एक प्रतिशतलाई छारे रोग हुन्छ भनेको छ । त्यस आधारमा नेपालमा साढे तीन लाखभन्दा बढी छारे रोगका बिरामी रहेको अनुमान गर्न सकिन्छ । विश्वभरि ५० मिलियन मानिसलाई छारे रोग छ ।त्यसको ८० प्रतिशत समस्या हाम्रो जस्तो देशहरूमा छ । छारेरोग विश्वमा नसा सम्बन्धी रोगहरुमध्ये पहिलो स्थानमा रहेको छ । नेपालमा छारेरोग ठूलो जनस्वास्थ्य समस्याको रुपमा रहेको पाइन्छ ।
छारे रोगकै कारण कतिपय बालबालिकाले बीचमै विद्यालय छाडेका छन् भने कतिपयले रोजगारी गुमाएका छन् । अझ महिलाहरुमा यो जटिलता अझ बढी रहेको पाइन्छ । बिबाह नै नहुने, भइहाले पनि पारिवारिक विचलन आउने गरेको देखिन्छ । नेपालमा छारेरोग भएकामध्ये ७० प्रतिशत मानिसले उपचारबाट बञ्चित छन् । जबकि, उपचार गरियो भने छारेरोग लागेकामध्ये ७० प्रतिशतको रोग निको हुन सक्छ भने बाँकी ३० प्रतिशत बिरामीले आफूलाई छारेरोग भएको पत्तो नै पाएका छैनन् ।
उनीहरुलाई औषधिको सेवनबाट रोगलाई नियन्त्रणमा राख्न ससकिन्छ । कतिपय बिरामी चिकित्सकको सम्पर्कमा आउन नचाहने हुन्छन् । अझै पनि गाउँघरमा यसलाई लुकाउने, झारफुक गर्ने जस्ता प्रवृत्ति रहेको छ । कति बिरामीले आफूखुसी औषधि छोड्ने गर्दा पनि रोग निको हुन गाह्रो हुन्छ ।यसबारे जनचेतना, विज्ञ र उपचारको सहज पहुँच नुहँदा यो गम्भीर समस्याको रुपमा रहेको छ ।
यो रोग यति नै उमेर समूहको मानिसमा लाग्छ भन्ने छैन, मान्छेको जन्मदेखि अन्तिम अवस्थासम्म पनि छारेरोग हुनसक्छ । किनकी यो रोग मस्तिष्कको विकारका कारण हुने गर्दछ । खासगरी १२ वर्षदेखि ४० वर्षसम्मको उमेर समूहलाई यसले बढी देखिएको छ । कतिपय व्यक्तिमा जन्मजात नै मस्तिष्कमा अनेक दागहरु हुन्छ । बच्चाको दिमागमा अक्सिजन नपुग्ने, दिमागमा जुकाको कारण हुने सङ्क्रमण, क्षयरोग वा प्यारासाइटर भएमा, मस्तिष्क रक्तश्राव वा मस्तिष्कघात हुँदा पानी जमेमा, ट्यमर भएमा, चोट लागेमा छारेरोग हुने उच्च सम्भावना रहन्छ । यस्ता बिरामीलाई शल्यक्रियाबाट निको पार्न सकिन्छ ।
यस्ता लक्षणहरूको आधारमा बिरामीको परीक्षण हुन्छ र त्यसकै आधारमा उपचार गरिन्छ । नियमित रूपमा औषधि प्रयोग गरेमा ७० देखि ८० प्रतिशत निको हुन्छ । छारेरोगलाई लापरबाही भने गर्नु हुँदैन । यसले अन्य जटिल अवस्था ल्याउन सक्छ । सामान्यतः छारेरोगले मानिसको ज्यानै लिने नभएपनि यसले बिरामीको व्यक्तिगत, पारिवारिक र सामाजिक रुपमा निकै ठूलो असर पारेको हुन्छ र उनीहरुको व्यक्तित्व विकासमा अवरोध सिर्जना गर्दछ ।
यस्ता बिरामीलाई एक्लै बाहिर जान नदिने, अन्य व्यक्तिसरह जोखिमपूर्ण काममा नलगाउने जस्ता कारणले उनीहरु थुप्रै अवसरहरुबाट बञ्चित हुनुपर्दछ । सबैभन्दा पहिले त औषधिबाटै छारे रोगको उपचार गरिन्छ । औषधिको सेवनले पनि निको भएन भने शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । यसमा दुईवटा परीक्षणबाट रोगको पहिचान गरीशल्यक्रिया गर्न मिल्छ कि मिल्दैन भनेर थाहा पाउन सकिन्छ । पहिलो मस्तिष्कको एमआरआई हो । यसका लागि एमआरआईको प्रोटोकल अनुसारको परीक्षण गरिनुपर्छ ।
दोस्रो इइजी अर्थात मस्तिष्कको चाल हेर्ने । यी दुवै परीक्षणबाट ७५ देखि ८० प्रतिशत मात्र कारण पत्ता लाग्न सक्छ । अझै २५–३० प्रतिशतमा के कारणले छारेरोग लागेको हो भन्ने थाहा हुन सकेको छैन । यस्ता खालका बिरामीलाई लामो समयसम्म छारेरोगको औषधि खुवाउनुपर्छ । उनीहरुलाई दुई वर्षसम्म औषधि दिएर त्यसको प्रभाव हेरेपछि विस्तारै बन्द गर्ने गरिन्छ । कतिपयमा दोहोरिएको पनि छ । त्यसरी दोहोरिएको अवस्थामा उनीहरुले जीवनभर नै औषधि खानुपर्ने हुन्छ । औषधिले पनि निको नभए भिएनएस (भेगर्स नर्भ स्टिमुलेशन) प्रविधिबाट उपचार गरिन्छ ।
भिएनएस भन्नाले एक किसिमको उपकरण हो, जसलाई सामान्य शल्यक्रिया गरी शरिमा जडान गरिन्छ । यो प्रविधि निकै महंगो छ । नेपालमा सामान्यतः यसको मूल्य १३–१४ लाख रुपैया पर्न आउँछ । विश्वमा यस प्रविधिको विकास भएको दुई–तीन वर्ष मात्रै भएको छ भने नेपालमा भित्रिएको छ–सात महिना मात्रै भएको छ । हाल यो सुविधा बीर अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र नर्भिक अस्पतालमा मात्रै उपलब्ध छ । छारेरोगका बिरामीले नियमित औषधि खानुपर्ने भएकाले सरकारले सकेसम्म निःशुल्क उपलब्ध गराउन पहल गर्नुपर्ने, त्यसो नभए पनि केही अनुदान दिन सके विपन्न वर्गका जनतालाई निकै सहज हुने देखिन्छ ।
कुनै पनि रोग लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु नै सबैभन्दा उपयुक्त बाटो हो । तर यसो भन्दैमा सबै मानिस निरोगी हुन्छन् भन्ने पनि होइन । अन्य रोगजस्तै छारेरोगबाट पनि मानिस ग्रसित हुने गर्दछ । छारेरोगबाटबच्नका लागि केही उपायहरुमा ध्यान दिन सकिन्छ ।
छारेरोग जोकोहीलाई पनि हुनसक्ने हुँदा उनीहरुलाई नकारात्मक व्यवहार नगरी मित्रवत् व्यवहारको खाँचो पर्दछ । उनीहरुमा उच्च मनोबल ल्याउनुपर्छ । छारे रोगको समस्या भएको मान्छेले त्यसलाई नियन्त्रण गर्न सक्दैनन् । केहीजानी बिरामी ढलेको छ भने उसको वरपर भएको चोट लाग्ने वस्तुलाई हटाइदिनुपछ, ताकी टाउकोमा चोट लाग्न नपाओस् । त्यस्तो अवस्थामा वरपरको व्यक्तिले उसलाई सम्हाल्नुपर्ने हुन्छ ।
ढलेको व्यक्तिको वरिपरि भीडभाड गरिदिनुहुँदैन । बरु यसलाई सजिलोसँग बस्न वा सुत्न सहज वातावरण मिलाइदिनुपर्छ । परिवार वा समाजमा कसैलाई छारेरोगको लक्षण देखिएमा चिकित्सककोमा लैजाने वा जाने सल्लाह दिनुपर्छ । जुनसुकै समयमा पनि छारेरोगका बिरामीलाई छोप्ने हुँदा उनीहरुको साथमा परिचयपत्र भएमा आफन्तलाई सम्पर्क गर्न सजिलो हुन्छ । यस रोगका बिरामीलाई सही परामर्शले निको गर्न मद्दत पुग्दछ ।
मस्तिष्कका कतिपय भाग शल्यक्रिया गर्न नमिल्ने किसिमका हुन्छन् । त्यस्तो ठाउँमा शल्यक्रिया गर्दा रोग निको भए पनि मान्छेको बोली बन्द हुने, कान नसुन्ने, सोच्न नसक्ने जस्ता अनेक समस्या आउन सक्ने भएकाले चिकित्सकले विशेष ध्यान दिनुपर्छ । त्यसैले औषधि, परामर्श र शल्यक्रियाबाट छारे रोगको उपचार हुन्छ । (वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख प्रा डा राजीव झासँग गरिएको कुराकानीमा आधारित ।)
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
डा.राजीव झा । बरिष्ठ न्यूरो सर्जन