सूचनाको शक्ति - The Power Of Information

        

वडाले नै दलितलाई सामुहिक रुपमा ‘पूर्णबहादुरको सारंगी’ हेराएपछि…

एउटा बाबुले छोराको लागि गरेको संघर्षको कथा रहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ अहिले पनि चर्चामा छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले ६५ जना दलितलाई ‘पूर्णबहादुरको सारंगी’ फिलिम हेराएपछि झन् ठूलो चर्चा भएको छ । कारुणिक अभिनय रहेको उक्त सामाजिक चलचित्रमा दलित समुदायको एउटा पात्रले गरेको कठोर संघर्षले दर्शकहरुलाई रुवाउने गरेको छ ।

चलचित्रमा भएको कथावस्तुको माध्यमबाट दलित समुदायको सशक्तिकरण गर्ने उद्देश्यले वडाकै लगानीमा टिकट काटेर चलचित्र हेर्न व्यवस्था मिलाएको वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिए । वडाले दाङको नारायणपुर स्थित भिएफएक्स हलमा चलिरहेको ‘पूर्णबहादुरको सारंगी’ फिलिम हेर्नका लागि टिकटको व्यवस्था, आउन जानका लागि यातायात र नास्ताको समेत व्यवस्था गरेको थियो ।

चलचित्रले नेपाली समाजमा आमाबिना बालबालिका अलपत्र पर्ने अवस्थालाई चित्रण गरेको र एक आमा फेरि विवाह गरेर गएपछि पनि बुवाले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन सक्छन् भन्ने सन्देश दिएको छ । चलचित्रले परम्परागत सोचको सीमा चिरेर नयाँ दृष्टिकोण दिने प्रयत्न गरेको बताउँदै वडाध्यक्ष रावतले दलितलाई सशक्तिकरण गर्न वडाले सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको महत्वलाई जोड दिएको बताए ।

वडाले राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहित ६५ जना सहभागीहरूलाई ‘पूर्णबहादुरको सारंगी’ चलचित्र हेर्ने अवसर प्रदान गरेको वडाध्यक्ष रावतले बताएका छन् । ठूलो संख्यामा दलित समुदायलाई सँगै राखेर उनीहरुकै जीवनसँग मेल खाने कथावस्तु समेटिएको चलचित्र पूर्णबहादुरको सारङ्गी देखाउने तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ११ सम्भवतः देशमै पहिलो वडा हो ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार १५:१६

लोकप्रिय