सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

तिमीलाई नयाँ जीवनको शुभकामना

तिमीलाई प्रेम गर्नु मात्र कुनै संयोग हुन सक्दैन, तर छुट्टिनु नै हाम्रो प्रेमको गन्तव्य रहेछ । यो सत्यलाई स्वीकार्नु नै हामी दुवैको लागि उत्तम हुनेछ ।

के भनेर लेखौँ ? के भनेर बोलौँ ? अनि के सोचेर सम्झिऊँ ? किनकि समयभन्दा पनि शक्तिशाली बनेर आयौ तिमी । अनि समय जस्तै शक्तिशाली भएर हरायौ पनि । साँच्चिकै मलाई तिम्रो याद खुब आउँछ । साँझ नपर्दिए जस्तै हुन्छ । मन आकुल व्याकुल हुन्छ । हुनै नसक्ने गरी मुटुमा केही कुराले थिचेको जस्तो हुन्छ । स्वर सम्राट स्व. नारायण गोपालले ‘छातीमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ’ भन्ने गीत त्यसै गाएका त होइनन् ।

साँच्चिकै सारै गाह्रो हुन्छ । छिनछिनमा बोल्न अनि देख्न मन हुने यो मन खै कसरी सम्हालिएको छ मै अचम्म पर्छु । तिम्रा बातहरू सुनेर निदाउने बानी पारेकी थिएँ । त्यसैले होला आजभोलि निद्रा पनि पर–पर भाग्छ मदेखि । बेलाबेला एक्लै पर्छु, निकै आत्तिन्छु । सम्हाल्ने तिमी भएर होला सायद । अनि फेरि आफैलाई सम्झिन्छु र सम्हालिन्छु । कहिलेकाहीँ अचम्म लाग्छ, तिमीलाई मैले गरेको प्रेमदेखि ।

अथाह प्रेम गरेकी थिएँ भनौँ या गर्छु भनौँ तर तिमीलाई जसरी चाहेको छु, सायद यसरी कसैले कसैलाई चाहन्न होला । हुन त आफूले गरेको माया सधैँ आफूलाई खास नै लाग्छ । तिमीलाई म कति माया गर्छु भनेर कसरी भनौँ या कुन शब्दमा भनौँ ? तिमीलाई मैले यसरी चाहेकी थिएँ कि तिमीसँगको मनमुटाबपछि फेरि त्यो प्रेमका गल्लीहरूमा कदम राख्ने हिम्मत जुटाउन सकेकी छैन । तिमीसँग भिज्दै हिँडेका बाटोहरूलाई नकार्न सक्ने हिम्मत जुटाउन सकेकी छैन ।

ल आफै सोच । म त आफूलाई भुलाएर तिमीमा हराएकी मान्छे हुँ । तिमी अन्दाज पनि लाउन सक्दैनौ तिमीसँगको मनमुटाबपछि मेरो हाल कति बेहाल भएको छ । मलाई थाहा छ तिमी फर्केर आउने छैनौ र मलाई यो पनि थाहा छ, म पर्खेर बस्ने छैन । मबाट हामी हुने आस न तिमीलाई छ न मलाई नै । तैपनि अझै तिमीप्रतिको प्रेम उस्तै छ, त्यस्तै आकाशको आकार हिजो र आज छ । तिमी मबाट किन टाढा भयौ ? मेरो मायामा के कमी थियो ? या ममा के कर्मी थियो ? कि म तिम्रो सामीप्यमा उम्रिन योग्य थिइनँ ? मलाई थाहा छैन ।

टाढिनुको कारण के थियो ? तिम्रो मन भरियो या समय फेरियो या समय सँगसँगै तिमी फेरियौ ? तिमी बद्लिए जस्तै म किन बद्लिन सकिनँ ? एउटै समय र परिस्थितिबाट गुज्रिएका हैनौँ र हामी ? तिम्रो मप्रतिको प्रेम मर्‍यो त ? मेरो तिमीप्रतिको प्रेम किन बेहद बढ्यो ? प्रेम त उस्तै हुन्छ, हैन र ? यस्ता अनगिन्ती सवालहरू छन् जसको मलाई कुनै जवाफ चाहिँदैन । किनकि म यो प्रश्नहरूमा आनन्द भेट्छु, सुकुन् महसुस गर्छु । किनकि सवाल जवाफहरूमा तिमी छौ, तिमी जोडिएका हौ, तिमी र हामी हुँदाहरूका पल मिसिएका छन् ।

कहिलेकाहीँ छुट्टाउन नै सक्दिनँ, तिमीसँग बिताएका यादहरू सम्झेर खुसी हुँ या तिमीसँगको बिछोड पछिको आफ्नो हाल सम्झेर दुखी हुँ ? तिमीसँग एक पटक बोल्न र सोध्न मन छ । तिमीसँग टाढिँदा जति मलाई कठिन छ, के त्यति नै तिमीलाई छ ? बस् यसको जवाफ मलाई पाउनु छ । मनभरि हजारौँ कुराहरूले मलाई अल्झाइरहेको छ । बेलाबेला सबै ठिकै जस्तो लाग्छ, फेरि छिनभरमै मुटु काम्न थाल्छ । तिमीसँग नबोले नि तिमीलाई सोच्न कत्ति कम भएको छैन । कति तिमीसँग झर्की बसेँ, घुर्क्याउन तिमीसँग तर्की बसेँ तर पनि यादहरू निकै नजिक भए ।

जति नै टाढा जाऊ, यादहरू टाढा नहुने रहेछ । दूरी बढे पनि मन निकै नजिक भयो । अझै भनौँ त थप माया बढेर आयो । म तिमीलाई नसम्झिऊँ कसरी, जब–जब सास फेर्छु तिमीलाई सम्झिन्छु । मुटु चलेको महसुस गर्छु, तिमीलाई सम्झिन्छु । आकाशमा हेर्छु लाखौँ तारा देखिन्छन् अनि म तिमीलाई सम्झिन्छु । खुसी होस् या दुःख, म तिमीलाई सम्झिन्छु । सायद मलाई तिम्रो लत लागेछ क्यारे ! लत पनि किन नलागोस्; केही समयको लागि सही तिम्रो छेउ बसेको थिएँ, भारी मेरो शिर तिम्रो काँधमा बिसाएको थिएँ ।

अनि मेरो लागि समय दिएको जहाँ म खुलेर बात गर्न सकेकी थिएँ । मनका कुण्ठाहरू पोख्न सकेकी थिए । भावनाहरू पोख्न सकेकी थिएँ । मेरो आत्तिएको मनलाई नअत्त्याउन कोसिस गरेका थियौ । मेरो नजिक बसी उपहार स्वरूप मेरा तारिफ गरेका थियौ । मलाई प्रेमले बोलाएका थियौ । ल तिमी आफैले जवाफ देऊ, म कसरी बिर्सिऊँ ? मेरा रातका ती रंगिन सपनाहरू तिम्रै हुन जस्तो लाग्थ्यो । म कसरी टाढा हुन दिऊँ ती संगीत जसले मलाई पलपल तिम्रो आभास गराइरहन्छ । कसरी बिर्सूँ ती स्पर्श साँच्चै अद्भुत र संसार बिर्साउने थिएँ ।

मलाई म हुनुको खुसी यसरी मिल्छ सोचेको पनि थिइनँ । मायाको सागर यति धेरै गहिरो हुन्छ, मैले कल्पना पनि गरेकी थिइनँ । माया साँच्चै संसार बिर्साउने हुने रहेछ, ल म कसरी बिर्सूँ तिम्रो त्यो निधार चुमेको अनि करिबदेखि तिमीलाई महसुस गरेको ? कसरी बिर्सूँ तिम्रो त्यो स्पर्श ? मलाई थाहा नै थिएन बिछोडका पलहरू यति नमिठा हुन्छन् भनेर । मैले सोचेकी पनि थिइनँ कि वियोगमा मन यति रुन्छ भनेर । के तिमीलाई मेरो कमीको महसुस हुन्न होला र अब ? के तिमीलाई सम्बन्ध जोगाउने ख्याल एक पटक पनि आएन ?

सायद तिमीमा यति साहस छ कि तिमीलाई मलाई भुल्न कुनै कठिन नै लागेन! तर म तिमीलाई यतिकै पनि सम्झिन्छु, यत्तिकै माया गर्छु पनि । सुन, यदि कुनै दिन तिमीलाई फुर्सद मिल्यो भने आँसु झार्दै तिम्रा लागि लेखिएका मेरा यी एक–एक शब्दहरू पढ्नू, तिमीलाई आफैसँग प्रेम हुनेछ । तिमी आफ्नो सुन्दर र फरक कहानी भेट्ने छौ, मेरा यी लेखहरूमा । म पूरै आत्मविश्वासका साथ भन्न सक्छु कि तिमीलाई मैले जति माया अरू कसैले गर्न सक्दैन । मेरो जस्तो प्रेम अन्त तिमीले कतै पाउने छैनौ ।

कुनै दिन मलाई जस्तै तिमीलाई पनि मेरो खुब न्यास्रो लाग्नेछ । मजस्तै तिमीलाई पनि बोल्न मन लाग्नेछ । कुनै दिन जब मलाई महसुस गर्ने छौ, त्यो दिन सोच्ने छौ– के तिम्रो लागि बिछोड त्यति सहज थियो र ? कुनै दिन तिमीलाई पनि मेरो एक झलक हेर्न नपाएर उदासीने छन् तिम्रा आँखाहरू तर म तिम्रो साथ हुने छैन अनि आफैले आफैलाई सम्हाल्ने छौ जसरी मैले आफूलाई समालेकी छु । अब तिमी मेरो जिन्दगीबाट ढुक्कले जाऊ । जानेलाई जान दिनु पर्छ, यो मैले तिमीबाट नै सिकेकी हुँ ।

अब फर्केर आऊ भन्दिनँ किनकि म चाहन्नँ मैले बोलाएपछि मात्र तिमी आऊ । यदि फर्किएर आउने कुनै सम्भावना छ भने अलि छिटो आउनू किनकि यदि तिमी फर्किँदा म नै रहिनँ भने तिमीलाई आफ्नो सुस्तताप्रति खुबै गुनासो हुनेछ । तिमीले मलाई पटक–पटक दिएको विश्वासघातप्रति दुःख लाग्नेछ अनि तिमीलाई सायद आफूप्रति नै गुनासो रहिरहनेछ । मलाई माफ गरिदेऊ । अहँ ! फर्केर आउन सम्भव नै छैन । किनकि तिमी अरूको नासो हौ । रुनलाई त धेरै कारणहरू छन्, मसँग तर पनि मन भक्कानिएको छ त केबल तिम्रो बेवास्ताले ।

सायद यही बेवास्ताले मलाई कतै न कतै तिमीलाई भुल्न सहज बनाएको छ । भगवान् भेट्ने बित्तिकै तिम्रो खुसी माग्ने म आजभोलि तिनै भगवानसँग तिमीलाई भुल्न सकूँ भनेर ढोग्ने गरेकी छु । सायद यी सबै तिम्रो बेवास्ताले गर्दा नै होला । केही न केही त परिवर्तन भेटेकी छु आफूमा, हेर न दिन प्रतिदिन म तिम्रो अनुपस्थितिमा पनि निको हुँदै छु । मैले संगालेका तिम्रा यादहरूलाई अब साँच्चै बिदा दिने दिन आए । म तिमीलाई पर्खेर बस्न सक्छु त्यो ठिक हो, तर जो फर्केर आउँदैन उसैलाई पर्खिरहनु भनेको त जानी जानी आफैले आफैंलाई खाडलमा धकेल्नु हो । तर तिमी यति जान्नू, तिम्रो अनुपस्थितिबाट म निको भएकी छु ।

महसुस गर्दैछु, म तिम्रो स्वरूप भएकी छु । तिमीलाई म नदेखिएको जस्तै मैले भने तिमी बाहेक अरू कोही देखिनँ । मैले भुलेकी रहेछु, तिमी बाहेक पनि संसार छ भनेर जहाँ मेरा आफ्ना छन् । त्यसैले मैले अब तिम्रो यादहरूबाट आफैलाई मुक्ति दिनुपर्छ र अपनाउनुपर्छ ती सहारालाई जो मेरा हुन् । जो मलाई निस्वार्थ प्रेम गर्छन् । तिमीलाई प्रेम त म जीवन्त गर्छु तर अब तिम्रो सामीप्यताले मेरो नयनमा थोरै पनि चमकता ल्याउने छैन । पख न एक दिन अभाव त तिमीलाई पनि हुनेछ, जसलाई आफूभन्दा बढी प्रेम गर्‍यो ऊ कतै लापता बनिदिँदा ।

पख न मन त तिम्रो पनि दुख्ने छ मैले गरेको प्रेम सम्झिँदा । म त तिम्रो मौनता पढ्ने मान्छे हुँ । त्यसैले पख न झुक्किएर पनि मेरो अनुहार देख्दा तिम्रो आँखा रसाउने छन् । खैर छोड दुखिरहने तिम्रो मनलाई, म मेरा शब्दहरूले झन् भारी बनाउन चाहँदिनँ । सत्यता यही हो हामी छुट्टिएका हौँ । तिमीले पक्कै महसुस गर्‍यौ होला, माया दिनेहरू सबै अमूल्य नै हुन्छन् । त्यसैले अब तिमी हरेस नखानू । आफ्ना हिम्मतहरूलाई उही पहिलेको जस्तै मजबुत बनाएर सपना पूरा गर्नू । म तिम्रो साथमा नभएर के भो त, भगवान् साथमा छन् ।

अचम्म लाग्दै होला है तिमीलाई, किन अझै राम्रो नै सोच्दै छे भनेर । कसरी नराम्रो सोच्न अनि लेख्न सक्छु, किनकि तिमीमा मेरो प्राण बसेको थियो । हरेक पल्ट शब्द जोडिनभन्दा अगाडि टुट्नु पर्छ तर म टुटिसकेर पनि जोडिएकी छु । मलाई दुख्छ तर म चिच्च्याउन छोडिसकेकी छु । म सहनशील बनेकी छु । तिमीलाई प्रेम गर्नु मात्र कुनै संयोग हुन सक्दैन, तर छुट्टिनु नै हाम्रो प्रेमको गन्तव्य रहेछ । यो सत्यलाई स्वीकार्नु नै हामी दुवैको लागि उत्तम हुनेछ । विगतलाई भुलिदिनू, झुक्किएर पनि मेरो याद आयो भने मेरा यादहरूलाई आजाद गरिदिनू । तिमी खुला स्वतन्त्र प्रेमको आकाशमा आजाद बनी उड्नू । तिमीलाई तिम्रो नयाँ जीवनको शुभकामना ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार ०७:४८

लोकप्रिय