सूचनाको शक्ति - The Power Of Information

        

‘पूर्ण बहादुरको सारङ्गी’ले एकैदिन कमायो तीन करोड ८९ लाख

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली चलचित्रको इतिहासमा नयाँ रेकर्ड बनाएको छ । यो एकै दिनमा सबैभन्दा धरै कमाउने चलचित्र बनेको छ । शनिबार यो चलचित्रले तीन करोड ८९ लाख ग्रसकलेक्सन गरेको छ ।

शुक्रबार दुई करोड ९९ लाख ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । एकै दिन यति धेरै ग्रसकलेक्सन गर्ने यो पहिलो चलचित्र बनेको छ । यसअघि एकैदिनमा धेरै कमाउने चलचित्र ‘कबड्डी–४’ थियो, जसले पहिलो दिनमा २ करोड ९० लाख ग्रस कमाएको थियो ।

यसपछि ‘भष्मे डन’ले पहिलो दिन दुई करोड २५ लाख कलेक्सन गरेको थियो । प्रदर्शन भएको १० दिनमा यो चलचित्रले १७ करोड ९८ लाख ग्रसकलेक्सन गरेको छ । लक्ष्मिपूजाका दिन रिलिज भएको यो चलचित्रले सर्वाधिक धेरै शो पाउने चलचित्रको पनि रेकर्ड बनाएको छ ।

एकै दिन यो चलचित्रले ९८ हलमा ४६५ भन्दा धेरै शो पाएको थियो । सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली लगायत कलाकारको मुख्य भूमिका छ । चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको कथा भन्छ । छोराको प्रगतिका लागि बाबुले गर्ने संघर्ष नै यो सिनेमाको मुख्य कथा हो ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार ०७:०८

लोकप्रिय