सूचनाको शक्ति - The Power Of Information

        

मानव तस्करीको आरोपमा पक्राउ परे एमाले नेता लिलाबल्लभ

जापानमा मानव तस्करी भएको प्रकरणमा मुछिएका एमाले प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । पक्राउ परेसँगै उनलाई काठमाडौँ ल्याइएको छ । उनलाई आइतबार मध्याह्न बरगाछीस्थित निवासबाट प्रहरीले पक्राउ परेको थियो ।

पक्राउ गरी काठमाडौँ ल्याएसँगै अधिकारीलाई काठमाडौँ प्रहरी परिसर हुँदै सरकारी वकिलको कार्यालयमा लगेको थियो । जिल्ला सरकार वकिलको कार्यालयमार्फत उनलाई प्रहरीले आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरी अनुसन्धान गर्न दुई दिनको म्याद पाएको छ ।

काठमाडौँ जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न दुई दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । अब अदालतमा बहसपछि म्याद थपबारे निर्णय हुनेछ । जापानमा मानव तस्करी गर्न भूमिका खेलेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिनको म्याद दिएसँगै प्रहरीले अधिकारीमाथि मानव बेचबिखन सम्बन्धी कसुरमा अनुसन्धान हुने जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अधिकारीमाथि आकर्षित भएकाले सोही बमोजिम अनुसन्धान हुने जानकारी दिए ।

जापानमा आफूसँगै असम्बन्धित मान्छेलाई लगेर मानव तस्करी गरेको अभियोग उनीमाथि छ । अधिकारी कात्तिक १३ गते जापान उडे पनि अध्यागमनले फिर्ता पठाइदिएको थियो । यो प्रकरणमा यसअघि नै ६ जना पक्राउ परिसेका छन् । घटना सार्वजनिक भएपछि उनले मन्त्री र पार्टी जिम्मेवारीबाट राजीनामा गरिसकेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतवार १७:०१

लोकप्रिय