सानोमा बाघ र बाख्रीले एउटै घाटमा पानी पिएको कथा सुनेको थिएँ । त्योबेला अचम्म लागेको थियो यस्तो पनि हुन्छ र भनेर ? तर जब बुझ्ने भएँ अनि छठ पर्वमा सबै जातजातिकाले बिना कुनै भेदभाव एउटै घाटमा बसेर छठीमैयाको कथा भन्दै सूर्यदेवलाई अध्र्य दिएको देखें, भित्रबाटै भावबिभोर भएँ । त्यो दिन धनी, गरिब, तथाकथित ठूला र साना जात, शत्रु र मित्र, वर्ग र समाज सबै बिर्सिएर छठ घाटमा एकाकार हुन्छन् ।
सबैभन्दा दुर्लभ क्षण त्यो बेला देखिन्छ, जब अस्ताउन लागेको सूर्यलाई पश्चिमपट्टि फर्केर हजारौं हातले एकैपल्ट अध्र्य दिन उभिन्छन् । त्यो दृश्यलाई देख्न र मनन गर्न पाउनु आफैंमा सुखद् छ । त्योबेला समय पनि एकछिन थामिएझैं लाग्छ । ओरालो लागेको र कमजोरलाई मान्छे र समाज दुबैले खेद्छन्, तर अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिएर कसैलाई हेला नगर्नु, एकदिन सबैको पालो आउँदछ भन्ने गहकिलो सन्देश दिने छठपर्व मधेशको पहिचान हो ।
मधेशको सँस्कृतिलाई बुझ्नका लागि यहाँको जनजीवनमा मिश्री झैँ घोलिएको छठ पर्वलाई हेर्न र बुझ्न जरुरी छ । छठ पर्वको सबैभन्दा राम्रो पक्ष हो स्थानियतासँग जोडिएको यसको सम्बन्ध । छठ पर्वमा प्रयोग गरिने हरेक वस्तुको उत्पादन र वितरण स्थानीय किसान र ब्यापारीको सहयोगमा हुन्छ । चाहे त्यो अदुवा र मुला उगाउने किसान होस वा, दियो, ढकना र माटोको हात्ती बनाउने कुम्हाल या अर्घ, नाँग्लो र ढक्की बनाउने डोम समुदाय ।
छठ पर्वले सबैलाई एउटै ठाउँमा ल्याउँदछ । त्यो बेच्नका लागि राखिएको बजार होस् वा छठघाट । छठका लागि नै भनेर नदी, पोखरी तलाउ या अन्य जलाशय सफा पारिन्छ । स्थानीय स्तरमै छठमा ब्यापार हुन्छ र आफ्नो उपार्जन बिक्री गरेर आएको पैसा ती साना किसान र ब्यापारीहरुले छठमै खर्च गर्छन् । छठ गर्ने ब्रतालु महिलाले गहना र लुगा विदेशी लगाए पनि छठ पर्वमा प्रयोग गरिने अधिकाँश सामान स्वदेशी र स्थानीय स्तर मै बनेका हुन्छन् ।
आ–आफ्नो गच्छे अनुसार बाम्हणदेखि डोम र मुस्लिम समुदाय सबैले एउटै घाटमा बसेर छठीमाईको गीत गाउँदै अध्र्य दिरहेको दृश्य जस्तो अलौकिक दृश्य अरु कुनै छैन होला सँसारमा । छठ पर्वले राजनीतिले कोरेको सीमालाई सीमाहिन बनाएको छ । मधेश र मधेशीलाई नजिकबाट नियाल्ने एउटा राम्रो अवसर हो छठपर्व । यो पर्वले मनोमालिन्य घटाएर एउटा मनदेखि अर्को मनसम्मको दूरीलाई छोट्याउँदछ । मधेशीको हँसिलो र मधेशको सँस्कृतिलाई छठ पर्वले जीवन्त बनाउँदै लगेको छ ।
सबै मधेशीलाई जोड्ने कुनै सुत्र छ भने त्यो छठ नै हो र यसको मुख्य प्रसाद ठेकुवा र बतासाले नै अहिलेसम्म छठ पर्वको त्यो मिठासलाई कायम राखेको छ । जीवनमा धेरै मनमोहक र दुलर्भ दृश्यहरु हेर्ने अवसर पाइयो । मैदानको ताजमहलदेखि पहाडी सौन्दर्य सबैलाई नियाल्ने अवसर जुर्यो । तर यी दृश्यहरु मनमोहक भएर पनि मेरो मनलाई त्यति उद्धेलित गर्न सकेनन् । छठको दिन घाटमा अस्ताउँदो सूर्यलाई अध्र्य दिन हजारौं हातहरु एकैपल्ट आकाशतिर फर्केको दृश्यले जति अभिभुत गर्दछ, यो वैरागी मनलाई त्यति शायद अरु दृश्यले आजसम्म गर्न सकेनन् ।
यो दृश्य हेरिरहँदा हातका रौंहरु ठाडा हुन्छन्, आँखा अश्रुमय हुन्छ । हरेकवर्ष जति हेरे पनि मानसपटलमा यो दृश्यको छाप नमेटिने गरी गडेको छ । अलौकिक छठी माताको लौकिक देव सूर्यसँग जोडिएर गरिएको यो पर्वले सधैँ मलाई उत्साहित र आल्हादित बनाउँदछ । हरेकपल्ट यो दृश्य नयाँ र विहगँम लाग्दछ । प्रकृति र जलसँग मानिसको आस्था कति बलियो छ र यसले लोकलाई एकआपसमा कसरी जोडेको छ यो हेर्न र बुझ्नका लागि छठभन्दा राम्रो अवसर अरु हुनै सक्दैन । आस्थाले नै मान्छेलाई डोर्याउँदछ र असम्भवलाई सम्भव बनाउँदछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
बिम्मी कालिन्दी शर्मा । बिरगन्ज