माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार ढाल्नका लागि नभई खबरदारी गर्न माओवादी सडकमा आएको बताएका छन् । शनिवार काठमाडौँमा गरिएको खबरदारी सभामा बोल्दै उनले भ्रष्टाचारी, दलाल, बिचौलियालाई संरक्षण गर्ने अहिलेको सरकार आफैँ कुहिएर झर्ने टिप्पणी गरे ।
उनले माओवादीले खबरदारी सभा गर्ने बित्तिकै सत्तापक्ष आतङ्कित भएको बताउँदै अझै भ्रष्टाचारीलाई संरक्षण नगर्न चेतावनी दिए । अध्यक्ष प्रचण्डले माओवादीले सरकारको भ्रष्ट गतिविधिमाथि खबरदारी नगर्ने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने बताए । संविधान र गणतन्त्रको रक्षाका लागि खबरदारीमा जान आवश्यक रहेको उल्लेख गर्दै सडकबाट सरकार फाल्न नलागेको टिप्पणी गरे ।
उनले कांग्रेस र एमालेसँग समीकरण गरेर गल्ती गरेको महसुस गरेको र मन्त्री प्रधानमन्त्री बनाइदिनुस् भनेर नआउने बताए । भ्रष्ट पार्टी र तिनका नेताको सङ्गतले माओवादी बिग्रँदै गएकोले सच्चिएर अघि बढ्ने बताउँदै ढुक्कले सरकार चलाउन आग्रह गरे । अध्यक्ष प्रचण्डले भ्रष्टाचार र विचौलियालाई जोगाउने दलहरूसँग मिलेर गल्ती गरेको स्वीकारेका छन् ।
उनले माओवादी कुनै सत्ताको खेलमा नलाग्ने भन्दै सरकार ढालेको दोष आफूले नलिने बताए । ‘हामीले खबरदारी सभा राख्नेबित्तिकै सत्ता पक्षले सबैलाई एकै ठाउँमा ल्याएर सडकबाट सरकार परिवर्तन गर्न खोजेको, त्यसो गर्नु संविधान विरोधी हुन्छ भन्ने होहोल्ला गरे,’ उनले भने, ‘माओवादीले सरकार ढाल्ने खेलमा लाग्दैन, तपाईंहरू पूरै चलोस् ।’
सरकार ढाल्न खबरदारी सभा नगरेको बताउँदै प्रचण्डले अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि भएको बताए । उनले अब आफू मन्त्री, प्रधानमन्त्री बनाइदेऊ भनेर कांग्रेस–एमालेसमक्ष नजाने बताएका छन् । दाहालले अब माओवादी त्यसरी नआउने बताउँदै ढुक्कसँग सरकार चलाउन आग्रह गरे ।
‘तपाईं (कांग्रेस–एमाले)हरू हामीसँग ढुक्क भए हुन्छ, अब तपाईंहरूसँग समीकरण गरौं, हामीलाई मन्त्री बनाइदिनुस्, प्रधानमन्त्री बनाइदिनुस् भनेर आउने छैनौं,’ अध्यक्ष दाहालले भने । माओवादी सडकमा आएर सरकार ढाल्न नलाग्ने पनि उनले बताए । यो सरकार आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उनको आरोप थियो ।
‘माओवादीलाई बरु के चिन्ता भएको छ, हामीले के समीक्षा गरेका छौं भने तपाईंहरू जस्ता पार्टीहरू जो यो देशका दलाल पुँजीपति, बिचौलिया र भ्रष्टहरूको प्रतिनिधि रहनुभएको छ, हामीले तपाईंहरूसँग केही समय सहकार्य गरेर गल्ती गर्यौं भन्ने परेको छ हामीलाई,’ उनले भने, ‘हामीले तपाईंहरूसँग समीकरण गरेर गल्ती गर्यौ । तपाईंहरूको रोग अलिअलि हामीलाई सर्यो भन्ने चिन्ता छ, हामी गम्भीर आत्म समीक्षामा छौं ।’
आफूलाई सरकारबाट हटाएर राम्रो गरेको पनि अध्यक्ष दाहालले बताए । ‘मैले प्रतिनिधिसभामा पनि धन्यवाद दिएको थिएँ । हामी अलिअलि बिग्रिन थालेका थियौं, हामी जनताबाट कट्न थालेका थियौं, प्रतिक्रियावादीसँग हिँड्दाहिँड्दै हामी पनि उस्तै हुने हो कि भन्ने खतरा पैदा भएको थियो,’ उनले भने, ‘तपाईंहरूले हामीलाई बेलैमा निकालेर जनतातिर फर्किदिनुभयो ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकारले बाढीपहिरोको क्रममा चरम लापरबाही गरेको आरोप लगाउँदै उद्धारमा जस्तै राहत र पुनःस्थापनामा लापरबाही नगरोस् भनेर खबदारीसमेत गरे । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सुशासनका विरुद्ध बनेको उनले आरोप लगाए । प्रचण्डले आफूहरूले गरेको आशंका सय दिन पुग्दा नपुग्दै सरकार आफैँले पुष्टि गरेको टिप्पणी गरे ।
आफूहरूले खबरदारीसभा राख्नेबित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएकोमा उनले असन्तुष्टि पोखे । ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो,’ उनले भने ।
माओवादीलाई सरकारको चिन्ता नभएको स्पष्ट पार्दै उनले बरु आफूहरूले दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए । भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादी पनि के–के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै प्रचण्डले सरकार ढालेर आफूहरूलाई सच्चिन मौका दिएको बताए । अब आफूहरूलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं