सूचनाको शक्ति - The Power Of Information

        

घट्यो ओलीको शक्ति, संकट पनि उस्तै

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय आफ्नो कार्यकालको समय सीमाबारे बोलिरहन्छन् । कुनै बेला आइ लभ यु केपी बा भन्नेहरूको ठूलो भीडले घेरिने ओली पछिल्लो समय जब्बर बन्न खोजे पनि कमजोर बन्दै गएका छन् । ओलीविरुद्ध कसैले बोलेमा मात्रै पनि गालीको वर्षा हुने स्थितिबाट बिस्तारै ओली डाउनफलमा झरिरहेका छन् ।

अझ पछिल्लो समय दुई तिहाइ बढीको नेतृत्व गर्दै सरकारमा गएका ओलीलाई फेरि सत्ता संकट आइलागेको चर्चा चल्न थालेको छ । सत्ता नेतृत्वको तीन महिना नपुग्दै प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विरोध गर्दै सरकारमाथि खनिएका थिए । यसपछि आएको बाढीपहिरो लगायतमा पनि सरकारले गतिलो पहल लिनै सकेन ।

उद्धार र राहतका लागि जनस्तरबाट प्रयास भइरहँदा ओली नेतृत्वको सरकार भने सिंहदरबारको घेरामा बैठकमा मात्र रुमलियो । विपक्षी दलले त सरकारको आलोचना गर्ने नै भए, सत्ता गठबन्धन दल नेपाली कांग्रेस समेत प्रधानमन्त्री ओलीको कामलाई लिएर सन्तुष्ट छैन । जनस्तरमा दुई तिहाइको सरकारप्रतिको आक्रोश बढिरहेको बेला ओलीले भाटभटेनीका साहु मीनबहादुर गुरुङबाट जग्गा दान लिएर उनैबाट पार्टी कार्यालय स्थापना गराउने एकल निर्णय लिएपछि एमाले रक्षात्मक बन्दै गएको छ ।

अरु बेला एमाले र ओलीविरुद्ध कसैले केही भनिहाले अरिंगाल जसरी जाइलाग्ने कार्यकर्ताहरू समेत जग्गा प्रकरणमा नैतिकरुपमा यति कमजोर महसुस गरिरहेका छन् कि, चुइँक्क एक शब्द बोल्न सकिरहेका छैनन् । भ्रष्टाचारीको मुख नै हेर्दिनँ भन्ने प्रधानमन्त्री ओली पछिल्लो समय नेकपा एमालेको कार्यालय भवन बनाउन विवादित व्यापारीसँग जग्गा दान लिएको घटनाले झन् आलोचित बनेका छन् ।

विपक्षी दलहरूले त ओलीले गुरुङबाट जग्गा लिने र भवन निर्माण गर्ने विषयलाई लेनदेनसँग नै जोडेका छन् भने एमाले–कांग्रेसभित्र समेत यसको ठूलो प्रभाव परेको छ । यसरी संकट झेलिरहेका ओली भने सरकारको स्थायित्वबारे निरन्तर प्रष्टीकरण दिँदै हिँडिरहेका छन् । ओलीले निरन्तर जस्तो प्रतिक्रिया दिए पनि कांग्रेसले पनि सरकारमा असन्तुष्टि रहेको विषय भने सार्वजनिक गरिसकेको छैन । तर, कांग्रेसलाई ओलीको व्यवहारका कारण अप्ठ्यारो भने पर्दै गएको छ ।

ओली प्रतिनिधिसभामा आफ्नो दललाई ठूलो दल बनाउन राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने कसरतमा छन् भने कांग्रेसले अध्यादेश ल्याउने विषयमा सहमति जुटाउन नसकिने जवाफ प्रस्ट दिएको बताइन्छ । सत्ता सञ्चालनमा ओलीले चाल्ने कदम र उनले गर्ने व्यवहारले कांग्रेसमा केही समस्या भने पक्कै देखिन्छ । जुन विषयमा कांग्रेसको शीर्ष तहले केही विषयमा छलफल गरेर ओलीलाई कार्यशैलीगत कुरामा ध्यान दिन आग्रह गर्ने गरी आन्तरिक बहस समेत गरेको बताइन्छ ।

यसमा बाढी पहिरोको कहरमा मुलुक परेपछि ओलीले तत्कालीन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई बैठक राखेर बोल्ड निर्णय गर्न रोकेको कांग्रेस वृत्तमा छलफल हुने गरेको छ भने दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर ओलीले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा आफ्नो सरकार ढलेपनि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने बाटो खोजिरहेको बताइन्छ । यो विषय आफ्नो कार्यकालको अन्तिममा लागू गर्ने गरी ओलीले आन्तरिक तयारी थालेको राजनीतिक विश्लेषण भइरहेको छ ।

जुन कांग्रेस र देउवाका लागि हानिकारक निर्णय बन्नेमा शङ्का छैन । ओलीले अन्तिम समयसम्म पनि आफूलाई केन्द्रमा राखेर काम गर्न सक्ने विषयमा कांग्रेसले मिहिन ढङ्गले हेरिरहेको छ भने कांग्रेसले चाहेमा हुने सत्ता परिवर्तनमा एमाले ठूलो दल बनेपछि निर्णायक शक्तिको रुपमा ओलीले नयाँ कदम चाल्दा देउवाको अन्तिम पटक प्रधानमन्त्री बन्ने चाहनामा अनेक तरिकाले ब्रेक लाग्न सक्ने खतरा छ । यही कारण पनि राजनीतिक उथलपुथलको सङ्केतहरू देखा पर्न थालेका छन् ।

यही बुझेर नै ओली आफै सरकारको भविष्यको बारेमा रक्षात्मक अभिव्यक्ति दिन थालेका हुन् । अर्को नेपालमा भूराजनीतिक चलखेल तीव्र बनिरहेको हुनाले पनि सत्ता उलटफेरको सम्भावना तीव्र छ । ओलीलाई भारतले अहिलेसम्म पनि भ्रमणको औपचारिक निमन्त्रणा दिएको छैन भने ओलीले सम्बन्ध सुधारका लागि गरेका प्रयासहरू पनि निरर्थक बनिरहेको छ । यस्ता थुप्रै कारण सत्ता उलटफेर हुन सक्ने स्थिति बन्दै गएको विश्लेषण हुन थालेको छ । यद्यपि कांग्रेसले नचाहँदासम्म सत्ता फेरिने सम्भावना तत्काललाई भने देखिन्न ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १५:४२

लोकप्रिय