सूचनाको शक्ति - The Power Of Information

        

युवालाई गाँज्दैछ लागूऔषधले, करोडौंको व्यापार

चार महिनाअघिको कुरा हो । झापाको दमक नगरपालिका–३ का रमेश छोरालाई थुनामा राखिदिन पर्यो भनी लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको सम्पर्कमा आए । छोराले घरमा भएका जिन्सी सामान, लत्ताकपडा, खाद्यान्न, सुन लगायत सबै सामान बिक्री गरिसक्यो । लागुऔषध खरिद गर्न घरमा बिक्री गर्नका लागि सम्पत्ति बाँकी नरहेपछि सधैँ झगडा हुने गरेको र अब छोराले उनीसहित परिवारमा ज्यानै लिने भन्दै त्रसित बनाएको थियो ।

यस्तो परिस्थिति उत्पन्न भएपछि १९ वर्षिय छोरालाई पक्राउ गर्न ब्यूरोलाई सुराकी दिई उनले लागुऔषधसहित पक्रिन लगाए । २१ वर्षीय एक युवती श्रीमानलाई उपचार गरिदिन भनी नवयात्रा पुनःस्थापना केन्द्र काँकरभिट्टामा आइन । आफ्नो श्रीमानले लागुऔषध सेवन गरी घरपरिवारमा झगडा हुँदा एक वर्षदेखि छुट्टै बस्दै आएका छौँ । छुट्टिएर बसेको केही समयमा नै घरमा भएको भाँडावर्तन, खाद्यान्न, मैले लगाउने गरगहना सबै लगेर बेचिसक्यो ।

अब त परिवार पनि छैन, सम्पत्ति पनि सबै उडाइसक्यो । कुन दिन मलाई नै सिध्याउने हो भर छैन भन्दै ती युवती श्रीमान्को उपचार गराउन पुनःस्थापना केन्द्रमा उनी पुग्छिन् । माथि उल्लिखित प्रतिनिधि घटनाहरु जस्तै झापामा हजारौँ घरपरिवार लागुऔषधका कारण पीडित छन् । यसरी लागुऔषध सेवनकर्ता अन्तिम अवस्थामा पुगेपछि मात्रै प्रहरी तथा पुनःस्थापना केन्द्रको सम्पर्कमा आउने गरेको लागुऔषधकै क्षेत्रमा काम गर्दै आएका अभियन्ता भीम लुइँटेल बताउँछन् ।

‘जिल्लामा ३० वटा पुनःस्थापना केन्द्र, कारागार तथा प्रहरी थुनामा सयौँको सङ्ख्यामा लागुपदार्थ प्रयोगकर्ता रहेका छन्,’ उनले भने, ‘हजारौँ प्रयोगकर्ता सम्पर्क बाहिर छन्, तिनको पहिचान गरी यथाशीघ्र उपचार गर्नुपर्छ ।’ लागुपदार्थको दुव्र्यसनीलाई राज्यले अपराधीको रुपमा व्यवहार गर्दा दुव्र्यसनीहरु खुलेर उपचार गर्न सक्ने अवस्था नरहेको यसै क्षेत्रमा काम गर्दै आएका राजु गिरी बताउँछन् ।

लागुऔषधको कारोबारीलाई कानुनको कठघरामा ल्याउने र लागुपदार्थको दुव्र्यसनीलाई अपराधीको रुपमा नहेरी यो एक प्रकारको रोग हो, उपचार गरे निको हुन्छ भन्ने चेतना व्यापक रुपमा जनमानसमा फैलाउनुपर्ने उनको भनाइ छ । पछिल्लो समय जिल्लाको विभिन्न स्थानबाट लागुऔषध खैरो हिरोइन, गाँजालयायतका साथमा व्यक्तिहरु दिनहुँ पक्राउ पर्ने क्रम जारी छ । चाडपर्वको समयमा यसको व्यापार अझ फस्टाउने गरेको पाइन्छ ।

जिल्लामा हुने अपराधका अधिकांश घटनाहरुमा लागुऔषध सेवन गर्ने व्यक्तिहरुको संलग्नता हुने गरेको स्थनीय प्रशासनको तथ्याङ्ले देखाउँछ । लागुऔषधको अधिकांश प्रयोगकर्ता अभिभावकविहिन र अभिभावक छुट्टिएर बसेका बालबालिका रहेको लागुऔषध नियन्त्रणको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएका रमेश बास्तोला बताउँछन् । ‘त्यस्ता बालबालिकाहरुले उचित अभिभावकत्व नपाउँदा गलत सङ्गतमा फस्र्दै गएका छन्,’ उनले भने, ‘विद्यालयमा पढने उमेर समूहका बालबालिका साथीसङ्गतको लैलै र विभिन्न प्रलोभनमा परी धुम्रपानको लतमा फस्ने गरेका र विस्तारै उक्त लत नै लागुपदार्थ सेवनसम्म पुग्ने गरेका छन् ।’

२० हजार ५०० सक्रिय प्रयोगकर्ता

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार झापा जिल्ला लागुपदार्थको दुर्व्यसनी तथा कारोवारी भएको प्रमुख जिल्लाका रुपमा रहेको छ । जिल्लामा लागुऔषध खैरो हिरोइनका २० हजार ५०० सक्रिय प्रयोगकर्ता छन्, जुन काठमाडौँपछि दोस्रो बढी भएको लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाका प्रहरी नायब निरीक्षक सोमेस लामिछाने बताउँछन् । उनका अनुसार झापा जिल्ला भारतसँग १४४.२ किमि खुला सीमाना रहेका कारण लागुऔषधको कारोबारको ग्राफ वर्षेनी बढादो क्रममा छ ।

प्रनानि लामिछानेका अनुसार एक ग्राम खैरो हिरोइनलाई भारतीय सीमावर्ती बजारमा रु १७ सय पर्छ, जुन नेपाली सीमा कटाउने बितिक्कै रु पाँच हजार पर्न जान्छ । सीमावर्ती जिल्लाबाट जति टाढा पुर्याउन सकियो लागुऔषध खैरो हिरोइनको मूल्य बढ्दै जाने उनले बताए । एक ग्राम खैरो हिरोइनलाई तीनदेखि पाँच जनाले सेवन गर्ने गरेको प्रनानि लामिछाने बताउँछन् । यसरी हेर्दा औसतमा एक जना दुर्व्यसनीले एक दिनमा रु ८०० बराबरको लागुऔषध खैरो हिरोइन सेवन गर्ने गरेका छन् ।

करिब २० हजार ५०० प्रयोगकर्ताले दैनिक ८०० को हिसाबले लागुऔषध खैरो हिरोइन सेवन गर्दा एक करोड ६४ लाख दैनिक नेपाली रुपयाँ लागुऔषधका लागि सीमावर्ती भारतीय बजारमा खर्च हुने गरेको ब्यूरोको तथ्याङ्क रहेको छ । नेपालको सीमासित जोडिएका भारतीय बजारहरुमा लागुऔषध खैरो हिरोइन सहजै उपलब्ध हुँदा नेपालतिर यसको कारोबार बढेको लागुपदार्थ प्रयोगकर्ता नै बताउने गरेका छन् ।

नवयात्रा पुनःस्थापना केन्द्रमा उपचार गराइरहेका एक लागुऔषध प्रयोगकर्ताका अनुसार भारतीय सीमावर्ती बजारका पानपसल, चिया पसल जहाँ पनि लागु पदार्थ सहजै रुपमा पाइने गरेको छ । उनका अनुसार अधिकांश नेपाली युवायुवती भारतमा नै गई लागुऔषध सेवन गरी आउने गरेका छन् ।

लागूऔषधमा लत बसाउन युवतीको प्रयोग

भारतीय सीमावर्ती पानीटङ्की लगायतका सहरका भारतीय नागरिकहरुले नेपाली आदिवासी मूलका कम साक्षर महिलालाई प्रयोग गर्ने गरेको ब्यूरोका प्रनानि लामिछाने बताउँछन् । ‘बिर्तामोडमा डेरा गरी बस्ने त्यस्ता भारतीय नागरिकले नेपाली युवतीहरुलाई विभिन्न प्रलोभनमा पारी लागुऔषध खैरो हिरोइनको लतमा फसाउँछन्,’ उनले भने, ‘लतमा फसिसकेपछि शारीरिक सम्बन्ध राखेपछि मात्रै खैरो हिरोइन खान दिने भन्दै देह व्यापारमा लगाउने गरेका छन् ।’

लागुऔषधको लत लागेपछि ती युवतीहरुलाई नै उनीहरुले खैरो हिरोइनको कारोबार र देह व्यापारमा लगाउने गरेको प्रहरीको भनाइ छ । डेरा गरी बस्ने अधिकांश भारतीय नागरिकले चार–पाँच ठाउँमा कोठा डेरामा लिई बस्ने गरेका छन् । कुन ठाउँमा लागुऔषध राखेका हुन्छन्, पत्ता लगाउन नै समस्या पर्ने गरेको उनको भनाइ छ । घरधनीले पनि डेरामा बस्नेहरुको वास्तविक विवरण नराख्दा को कहाँ बस्छन् छुट्याउन नै गाह्रो हुने गरेको छ ।

डेरामा बस्ने मानिसहरुको विवरण सम्बन्धित वडा कार्यालयमा जानकारी गराउने प्रणाली अपनाउन सकियो भने लागुऔषधको अनुसन्धान प्रक्रियामा सहयोग पुग्ने ब्युरोका प्रनानि लामिछानेको भनाइ छ । लागुऔषधको सेवन तथा कारोबारीलाई सूचना चुहाएको, छापा हान्नेलगायतका सूचना दिएको र कारोबारमा संलग्न रहेकामा प्रहरीका जवानहरु समेत पक्राउ पर्ने गरेको ब्यूरोका प्रमुख लामिछाने बताउँछन् ।

लागूऔषधका मुद्दाको चाप

स्थानीय प्रशासनले पछिल्लो तीन वर्ष (२०७८–०७९ देखि २०८०–०८१) मा लागुऔषध कारोबार तथा सेवनमा संलग्न एक हजार १०५ जना मानिसलाई पक्राउ गरेको छ । उनीहरुका साथबाट चार दशमलव पाँच किलोग्राम खैरो हिरोइन र ९६ दशमलव पाँच किलोग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क रहेको छ । यसरी पक्राउ पर्नेमा गत आव २०८०–०८१ मा मात्रै ४६२ जना रहेका छन् ।

तीन वर्षमा पक्राउ पर्ने व्यक्तिहरुमध्ये ९६ महिला र एक हजार नौ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुका विरुद्ध आव २०७८–०७९ मा २००, आव २०७९–०८० मा २०६ र आव २०८०–०८१ मा २९७ गरी ७०३ मुद्दा जिल्ला अदालत झापामा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

यसैगरी, झापा जिल्ला अदालतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०–०८१ मा सम्बन्धविच्छेद र अंशचलनपछि सवैभन्दा धेरै लागुऔषधका मुद्दा फछ्र्यौट भएका छन् । गत वर्ष मात्रै लागुऔषधका मात्रै २५३ मुद्दा फछ्र्यौट हुँदा १८४ मुद्दा बाँकी रहेका थिए ।

सीमानाकामा निगरानी र नीतिगत सुधार

लागुऔषध दुर्व्यसनी र यसको कारोबारका कारण गम्भीर आर्थिक, पारिवारिक र समाजिक समस्याहरु निम्त्याएको स्थानीय समाजसेवी एंव पूर्वशिक्षक लक्ष्मी श्रेष्ठ बताउँछिन् । उनका अनुसार भारतसँगको खुला सिमानाले लागुऔषधको आपूर्ति सहज बनाएको छ ।

राज्यले यस किसिमको समस्यालाई कानुनी रुपमा मात्र नहेरी समाजिक रुपमा बुझ्न आवश्यक रहेको समाजसेवी रमेश उप्रेतीको धारणा छ । ‘दुव्र्यसनीलाई उपचार, पुनःस्थापना र जनचेतनाको माध्यमबाट पुनः समाजमा फर्काउने प्रयास गर्नुपर्छ,’ उनले भने, ‘लागुऔषधको कारोबार रोकथामका लागि सीमा नाकामा कडाइ गर्दै नीतिगत सुधार गर्न आवश्यक छ ।’

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार १५:१०

लोकप्रिय