सूचनाको शक्ति - The Power Of Information

        

कस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति ?

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार चालू आर्थिक वर्ष २०८१–०८२ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको हो ।

चालू आर्थिक वर्षको दोस्रो महिनामा विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स १५.२ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब नाघेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा नेपालको विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो । त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ ।

चालू आर्थिक वर्षको पहिलो महिना विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स १८ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको थियो । त्यस्तै, भदौ महिनामा मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत रहेको थियो ।

गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा महंगी घटेको छ । त्यस्तै, भदौ महिनासम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि भएको थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफुलको ४.९४ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २.६९ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना(साउन र भदौ) मा कुल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले वृद्धि भइ २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ५ प्रतिशतले वृद्धि भई १६ अर्ब ४ करोड पुगेको छ ।

त्यस्तै, कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा १९ खर्ब २८ अर्ब ९९ करोड रहेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब २३ अर्ब ५३ करोड रहेको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार १२:२७

लोकप्रिय