सूचनाको शक्ति - The Power Of Information

        

पर्यटकले भरियो खुम्बु क्षेत्र, लुक्लामा एकैदिन २०० उडान

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकै दिन २०० उडान भएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौँबाट १९८ वटा उडान भएका हुन् ।

हवाईजहाजले ६१ र हेलिकप्टरले १३९ उडान भरेका छन् । उक्त दिन एक हजार ५३९ जना पर्यटक खुम्बु भित्रिएका छन् । हवाईजहाजबाट १६७ स्वदेशी र ६६७ जना विदेशी गरी ८०४ तथा हेलिकप्टरबाट ६९५ पर्यटक लुक्ला ओर्लिएका उनले बताए । पर्यटक आगमनको याम सुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने उनले बताए ।

यद्यपि पर्यटक लिएर काठमाडौँ र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताए । पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताए ।

उनले भने, ‘अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ ।’ पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचे लगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् । त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन् ।

सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताए । २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार १४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ ।

निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सूचना अधिकारी मण्डलले जानकारी दिए । सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार ०७:४४

लोकप्रिय