मुलुकको अर्थतन्त्र धराशयी भएको बेला पश्चिम नेपालको प्रमुख भन्सार नाका रहेको नेपालगन्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको मिलेमतोमा अबैध कारोवार एवं तस्करी मौलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणको मिलोमतोमा बाँकेको जमुनाहा लगायत अन्य छोटी नाकाहरुबाट तस्करी लाइन खुलाएर तस्करीलाई सहजीकरण गर्न थालिएको स्रोतले बताएको छ ।
प्रहरीले बाँकेको नेपालगन्जसँग जोडिएको मुख्य नाका जमुनाहासँगै सीमावर्ती भारतीय बजार अलिगवासँग जोडिएको कटकुइँयाको सुइया बघौडा, कालाफाँटासँग जोडिएको नरैनापुर, जमुनाहसँग जोडिएको भगवानपुर, पिप्रहवासँग जोडिएको होलियाको खडैचा, निमियासँग जोडिएको हिरमिनियाको भङ्घोटन र रंजितवा बजारसँग जोडिएको साइगाउँ तथा उढरापुर क्षेत्रमा रहेका नाकाहरुबाट तस्करहरूलाई लाइन दिएको स्रोतको भनाई छ ।
बाँकेमा सशस्त्र र नेपाल प्रहरीले स्थानीय बुद्धिजिवी, नागरिक समाज एवं पत्रकारलाई झुक्याउने गरी सदरमुकाम आसपासको क्षेत्रमा तस्करी नियन्त्रणमा कडाई गरेको नाटक गर्ने गरे पनि सीमा क्षेत्रमा तस्करी गर्ने ठूला तस्करहरुलाई संरक्षण गरेको छ । विगत चार पाँच बर्षदेखि सीमा क्षेत्रमा खटाइएको ‘घुमुवा प्रहरी’मार्फत लाइन दिएर तस्करहरुसँग सहजीकरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एक जना अधिकृतले बताए ।
सीमा क्षेत्रबाट ठूलो परिमाणमा तस्करीको लाइन खुलाउन पुरानै घुमुवा खटिएको स्रोतको दावी छ । स्रोतका अनुसार तस्करहरुसँग असुलीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले घुमुवा टोली नै परिचालन गरेका छन् । घुमुवा प्रहरी परिचालन गर्ने कानुनी व्यवस्था नरहे पनि बाँकेमा नेपाल प्रहरीले सूचना संकलनका लागि भन्दै भन्सार क्षेत्रमा नेपाल प्रहरीका सहायक हवल्दार भीम थारुमार्फत तस्करहरुसँग सहजीकरण गरिरहेको स्रोतले बतायो ।
भैंसी, धान, गहुँ, कुखुराको चल्ला, माछा, किराना सामान, काजु, लताकपडा लगायतको ठूलो परिमाणमा तस्करी भइरहेको स्रोतले जनाएको छ । मुख्य भन्सार नाका बाहेक अन्य छोटी नाकाहरुबाट रातीको समयमा प्रहरीले ठूलो परिमाणमा भैसी र राँगाको तस्करी गराउन सहयोग गरेको स्रोतले बताएको छ । रातीको समयमा गोरेटो बाटो र खेत भएर भैँसीराँगा भित्र्याउँदा स्थानीयहरूको धानवालीसमेत नष्ट हुने गरेको छ ।
हरेक नाकाबाट हुने गरेको तस्करीमा नेपाल प्रहरीलाई पनि भाग आउने गरेको कारण नेपाल प्रहरीका प्रमुखसहितका घुमुवाहरू सहयोगी बनिरहेका छन् । तस्करहरूले डिल गरेको रकम घुमुवामार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरीले असुली गर्ने गरेको स्रोतको भनाई छ । सशस्त्र र नेपाल प्रहरीका घुमुवाहरुले जिल्लाका सबै नाकाबाट हुने तस्करीमा साथ दिइरहेका छन् । सशस्त्रका वीओपीदेखि प्रहरीका चौकीसम्म घुमुवा प्रहरी असुलीमा मस्त छन् ।
सशस्त्र र नेपाल प्रहरीमा यिनै ‘अदृष्य डन’हरुको असुली धन्दा अचाक्ली छ । उनीहरुले जिल्लाका सबै ठाउँबाट असुली गरिरहेका छन् । उनीहरुले सीमा क्षेत्रमा हुने तस्करी, काठ, गिटी, बालुवा, यौनधन्दा हुने होटल लगायत तस्करहरुसँग मिलेर असुली गर्छन् । तस्करहरुले साइकल, मोटरसाइकल, ट्याक्टर, मिनी ट्रकमै तस्करी गर्दै आएको प्रत्यक्षदर्शी बताउँछन् । तस्करहरुले सशस्त्र र नेपाल प्रहरीसँगको सेटिङमा तस्करी गर्दै आएका छन् ।
भारतसँग सीमा जोडिएका बाँकेका सबैजसो नाकाबाट तस्करी हुने गरेको छ । अहिले सबैभन्दा बढी बेलडाँडा, बढैया र शिवपुरी नाकाबाट लसुन तस्करी भइरहेको छ । उताबाट मोबाइल, कपडा र हार्डवेयर बढी मात्रामा तस्करी हुने गरेको छ । बाँकेमा भारतबाट नेपालतर्फ सबैभन्दा बढी तस्करी हुने भनेको कपडा र मोबाइल, हार्डवेयर, सूर्ती हो । यस्तै, मोटर पार्टस्, ब्याट्री, खसीबोका, भैंसी, काजु किसमिस, चिनी, किराना समान लगायत तस्करी हुन्छ ।
सीमा क्षेत्रमा तस्करहरुले गोदाम बनाएका छन् । नेपाली भित्रिने तस्करीको सामान नेपालगन्ज बाहिरका शहरसम्म पनि पुग्ने गरेको छ । भारतसँग सीमा जोडिएका बाँकेका विभिन्न क्षेत्रमा लसुन तस्करी मौलाएको छ । भारतमा चिनियाँ लसुन मँहगिएपछि सीमावर्ती क्षेत्रमा तस्करी बढेको हो । भारतले तेस्रो मुलुकबाट लसुन आयातमा प्रतिबन्ध लगाएपछि नेपाली तस्करसँग मिलेर त्यहाँका व्यापारीले अवैध ढंगले संगठित कारोबार गरिरहेका छन् ।
मुख्यतः बाँकेका बेलडाँडा, बढैया र शिवपुरी नाकाबाट लसुन तस्करी गरेर भारत पठाउन तस्करहरु सक्रिय छन् । सीमा नजिकैका बजारमा तस्करहरुले लसुन गोदाम बनाएर तस्करी गरिरहेका छन् । नेपालमा चिनियाँ लसुनको भाउ प्रतिकिलो ३०० रुपैयाँसम्म छ । भारतीय लसुन प्रतिकिलो भारु ४०० सम्म पर्छ । नेपाली र भारतीय मूल्यको तुलना गर्दा किलोमै नेपाली ३४० रुपैयाँ नाफा हुने भएपछि सीमा क्षेत्रमा लसुन तस्करहरुको सरगर्मी बढेको हो ।
स्रोतका अनुसार राति त्यहाँबाट दशगजा पारी लसुन पुर्याइन्छ । जानकी गाउँपालिका–१ मा पर्ने पचपोखरिया निवासी शोहिद आलम कबडियाले लसुन तस्करी गरिरहेको स्थानीयहरुको भनाई छ । बेलडाँडा, बढैया र शिवपुरी नाकाबाट लसुन निकासी गरिरहेका छन् । रातको मौका छोपेर उनले दैनिक दुई ट्रक लसुन सिमापारि पुर्याउँछन् । आलम चरेस काण्डमा चार बर्ष भारतीय जेलमा बिताएर एक महिनाअघि मात्रै घर फर्किएका हुन् ।
उनीसँगै साही गाउँपालिकाको साइगाउँका नसुरुद्दिन कबडिया र बन्जारेगाउँका बिजय कुर्मी पनि तस्करीमा संलग्न छन् । जनपथ र शसस्त्र प्रहरीको पहरामा बेलडाँडा, बढैया र शिवपुरी नाका हुँदै दैनिक लसुन नेपालबाट भारततर्फ तस्कर भैरहेको छ । तस्करहरुले यताबाट लसुन र भारतबाट कपडा, पटाका, हार्डवेयरका सामानको तस्करी गरिरहेका छन् । नेपाल तस्करी भएर आउने सामान नेपालगन्जका केही पसलहरुमा पुग्ने गरेको स्रोतले बताएको छ ।
त्यस्तै रातिको समयमा इन्द्रपुरबाट साइगाउँ हुँदै बेलडाँडा, बढैया र शिवपुरी नाकाबाट तस्करहरुले लसुन तस्करी गर्ने गरेका छन्,’ स्रोतले भन्यो । तस्करहरुले ती नाकामा रहेको सशस्त्र प्रहरीका सीमा सुरक्षा पोष्ट नजिकै लसुन झारेर गोदाम गरिन्छ । त्यसरी गोदाममा राखेका लसुनलाई कारोबारीहरूले रातको समयमा करिब १०० मिटर दुरीमा रहेको दसगजा पार गराएर भारततर्फ पठाउने गरेको बताइएको छ ।
उनीहरुले चाइनिज लसुन साइकल, मोटरसाइकल र भरियामार्फत भारतमा निकासी गर्ने गरेका छन् । नेपालमा भन्दा भारतीय बजारमा चाइनिज लसुन महंगो हुँदा नेपालबाट भारततर्फ तस्करी बढेको हो । मुख्य भन्सार नाकामा कडाइ हुन थालेपछि छोटी भन्सार नाकाहरुमा तस्कर गिरोह सक्रिय भएको सीमावर्ती क्षेत्रका बासिन्दा बताउँछन् । बाँकेमा रहेका ‘छोटी भन्सार नाका’हरू अहिले अवैधरुपमा मालवस्तु ओसारपसार गर्ने सहजमार्ग बनेका छन् ।
सामान्य समयमा समेत तस्करीका कारण चुनौती बन्ने गरेका यी नाकाबाट अहिले खुलेआम तस्करी भइरहेको छ । ‘हामीले गनेर बस्नेका छैनौं,’ उनले भने, ‘सशस्त्र प्रहरीकै मिलेमतोमा नाकामा यताबाट दैनिक लसुन निर्यात भइरहेको छ भने उताबाट कपडा, पटाका, हार्डवेयरका सामानको रात भित्रिरहेको छ ।’ अझ चाडपर्व नजिकिएसँगै सीमावर्ती क्षेत्रमा तस्करहरुको चहलपहल निकै बढे पनि दुवैतर्फका सुरक्षाकर्मीलकै मिलेमतोमा तस्करी भइरहेको छ ।
आँखैअघि तस्करी भइरहे पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीले वास्ता नगरेको सीमाक्षेत्र जानकी गाउँपालिका–१, साइगाउँका एक जना स्थानीयले नाम नलेख्न आग्रह गर्दै भने, ‘तेल र उपभोग्य सामान तस्करीको त कुरै नगरौं, अहिले लसुन मुख्य तस्करी बनेको छ । ‘तस्करहरूले दुवैतर्फ ‘सेटिङ’ मिलाएकाले निर्बाध सामान ओसारिरहेका छन् ।’
नयाँ इन्चार्ज फेरिए पनि लसुन तस्करी अहिले पनि ज्यूँका त्यूँ निर्वाध रुपमा चलिरहेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीका घुमुवाको मिलेमतोमा बाँके तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । बाँके जिल्लाका साना ठूला सबै नाकाबाट तस्करसँग सशस्त्र र जनपद प्रहरीका घुमुवाले लाइन मिलाएर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ तस्करी गराउँदै आएका छन् । चाडपर्व नजिकिँएसँगै जिल्लामा तस्करी अचाक्ली बढेको छ ।
तस्करहरुसँग असुलीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले घुमुवा टोली नै परिचालन गरेका छन् । कानूनतः घुमुवा प्रहरी परिचालन गर्न नपाइए पनि बाँकेमा सशस्त्र र नेपाल प्रहरीले घुमुवा प्रहरी परिचालन गरी असुली गर्दै आएका छन् । भन्सार क्षेत्रमा नेपाल प्रहरीका सहायक हवल्दार भीम थारु जयसपुरका भुरे भनिने खसी तस्कर, दुब्बर भनिने खसी र कुखुरा तस्कर लगायतसँग मिलेर कमाउधन्दामा केन्द्रीत भएको प्रहरी स्रोत बताउँछ ।
‘भुरे र दुब्बर भनिने तस्करहरुलाई साथ दिँदै असुली धन्दामा संलग्न छन् । भीमले दुब्बर, भुरे, मामा भनिने तस्करसँग खसी मागेको चर्चा प्रहरी कर्मचारीहरुबीच फैलिएको छ ।’ चाडपर्वका बेला खसी मागेर जिल्लासम्म पठाउँदै आएका उनी जिल्लाकै एक जना प्रहरी अधिकृतको संरक्षणमा रहेको बुझिएको छ । सहायक हवल्दार भीमले मामा भनिने भारतीय खसी तस्करसँग पनि ‘नजराना’ उठाउँदै आएको प्रहरी स्रोतको भनाई छ ।
कोहलपुर र नेपालगन्ज महिला तस्करहरुको सामान बोर्डर पास गराउन पनि सक्रिय रहेका भीमले हरेक चाडपर्वका बेला खसी, कुखुरा, माछा मागेर उपल्ला तहका अधिकृतहरुसम्म पुर्याउँदै आएको प्रहरी स्रोतले बतायो । सशस्त्रका घुमुवाले तस्करीसँग असुल्न्छन् भने नेपाल प्रहरीका घुमुवाले यौनधन्दा चलाउने होटलदेखि तस्करहरुसँग असुली गर्छन् । सही कामका लागि गोप्य सूचना संकलन गर्ने घुमुवाले जिल्लामा तस्करी र असुली मच्चाएका छन् ।
वडा प्रहरी कार्यालय नेपालगन्जमा पनि घुमुवा प्रहरीको आतंक बढिरहेको छ । चार–पाँच बर्षदेखि वडा प्रहरी कार्यालय नेपालगन्ज मातहत घुमुवा प्रहरीका रुपमा काम गरिरहेका हुसेन नाम गरेका प्रहरी हवल्दार र प्रहरी जवानद्वय पुष्प भुजेल र मञ्जु यादवको कार्यशैली पनि घुमुवा प्रहरीको उद्देश्यभन्दा ठीक विपरित रहेको कार्यालय स्रोतको भनाई छ । उनीहरुको जिम्मेवारी नै सूचना संकलनभन्दा हाकिमलाई रिझाएर असुलीमा केन्द्रीत हुनु हो ।
घुमुवाहरु तस्करी चोरी तस्करी र अपराध नियन्त्रणका लागि नभई उनीहरु उपले दर्जाका हाकिमहरुको सुसारेका रुपमा बढी केन्द्रीत छन् । वडा प्रहरी कार्यालयमा जति हाकिम फेरिए पनि उनीहरु फेरिँदैनन् । ‘बरु हाकिम फेरिएलान्, घुमुवा फेरिँदैनन्,’ प्रहरी स्रोतले भन्यो । अचम्म त के छ भने, सीमा सुरक्षामा खटिने सशस्त्रका वीओपीहरुले समेत घुमुवा राखेका छन् । गाउँमा रहेका चौकीदेखि इलाका र जिल्लासम्मै प्रहरीका घुमुवा परिचालित छन् ।
सामान्य रुपमा बुझ्दा घुमुवा सादा पोशाकका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हो । तर, पछिल्ला वर्षहरुमा उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय छन् । इञ्चार्जसमक्ष पैसा पुर्याउने विश्वासिलो माध्यम बनेका छन्, उनीहरु । घुमुवा प्रहरी विशेषतः बाँके जिल्लामा बढी सक्रिय देखिन्छन् । सीमा नाकाबाट हुने चोरी, तस्करीमा उनीहरु जोडिँदै आएका छन् ।
घमुवा प्रहरी भनेर छुट्टै दरबन्दी हुँदैन । जिल्ला प्रहरी कार्यालय बाँके अन्तरगत एक दर्जन बढी घुमुवा राखिएको बताइन्छ । कहाँ–कहाँबाट रकम उठाउने गरिएको छ भन्ने उनीहरुलाई थाहा हुने भएकाले पनि घुमुवाका रुपमा खटाइएका प्रहरीलाई सामान्य अवस्थामा अन्यत्र सारिँदैन । यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले आफूलाई यस विषयमा जानकारी नभएको बताएका छन् ।
यता सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणका गणपति विमल डाँगीले पनि तस्करीबारे अनभिज्ञता प्रकट गर्दै तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी कडाई साथ परिचालन भएको सुनाए । यद्यपी जिल्लाको विभिन्न नाकाबाट तस्करी अनियन्त्रित रुपमा भइरहेको भए पनि तस्करी रोक्न सीमामा खटिएको सशस्त्र प्रहरी तस्करी नियन्त्रणमा मौन रहेको स्रोतको दावी छ । जसका कारण मुख्य नाका जमुनाहासँगै अन्य नाकाहरुबाट पनि तस्करी अचाक्ली मौलाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं