सूचनाको शक्ति - The Power Of Information

        

ठूलो वर्षाले जमिन गलेका कारण पहिरोको जोखिम कायमै

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८ गतेसम्म बागमती र कोशीमा भारी वर्षाको सम्भावना देखिएको यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ । बुधबार सूचना जारी गर्दै प्राधिकरणले असोज १० गतेदेखि १२ गतेसम्म परेको पानीले जमिन गलेकाले पहिराको जोखिम पनि औंल्याएको छ ।

‘जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार असोज १६ गतेदेखि दिउँसो बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा एवं भोलि राति कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान छ । यो वर्षा असोज १८ गतेसम्म रहने सम्भावना छ । असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावतै छ,’ प्राधिकरणले सूचनामा भनेको छ ।

यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्न र ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्न प्राधिकरणले आग्रह गरेको छ । ‘नदी किनाराका वस्तीमा एक्काति बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनुहुन एवं पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरू सुरक्षित स्थानमा स्थानान्तरण हुनु हुन सबैमा विनम्र अनुरोध छ,’ सूचनामा भनिएको छ । जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू, यातायात व्यवसायीहरू, ट्राफिक प्रहरीहरू, यात्रुहरू र नदी किनारका बासिन्दाहरूले यहीअनुसार सतर्कता अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १२:४१

लोकप्रिय