सूचनाको शक्ति - The Power Of Information

        

बाढीपहिरोबाट २१ जिल्लामा २२४ जनाको मृत्यु, ११ अर्बभन्दा बढीको भौतिक क्षति

असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट हालसम्म २२४ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपतका घटनामा भएको धनजनको क्षतिबारे जानकारी गराएका हुन् ।

वर्षाबाट २१ जिल्ला प्रभावित भएको जानकारी दिँदै मुख्यसचिव अर्यालले अझै २४ जना बेपत्ता र १५८ घाइते रहेको जानकारी दिए । त्यस्तै ४ हजार ३३१ जनाको उद्धार गरिएको छ । भौतिक क्षतितर्फ खानेपानीमा ३ अर्ब ५५ करोड, सडकतर्फ २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब र सिँचाइतर्फ १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान छ ।

बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा सञ्चालन आइसकेको सरकारले जनाएको छ । त्यस्तै ३४ निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेको छ भने कृषितर्फ ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ । विपद्पछि खोजी कार्यमा ३० हजार ७ सय सुरक्षाकर्मीसहित हेलिकोप्टर समेत प्रयोग गरिएको छ ।

राहत तथा उद्धारलाई तिव्रता दिने तयारी भइरहेको तथा अवरुद्ध सडकहरु खुलाउने प्रयास भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुईदिनभित्र गरिसकिने बताए । प्रधानमन्त्री ओलीले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए ।

क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको उनको भनाइ छ । अचानक आइपरेको घटना भएकाले कही गल्ती कमजोरी भएको हुन सक्ने उनले बताए । उनले भने, ‘यस प्रकारको वर्षा भएर बाढीपहिरो जाला भन्ने अनुमान थिएन । यस प्रकारको भौतिक र मानविय क्षति होला भन्ने अनुमान थिएन । सरकारले पूर्वतयारी नगरेको होइन । यो अलि ठूलै आइपर्यो ।’

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार ०८:००

लोकप्रिय