नेपालीहरुको ठूलो चाँड दसैँको पूर्व सन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दसैँ गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको ‘दसैँ रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन् । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय दीपाश्री निरौला, प्रियंका कार्की र सरोज वली फिचर्ड छन् ।
दसैँको रौनक देखिने गीतमा तीनैजनाले टीका र जमरा लगाएर छमछमी नाचेका छन् । करणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन् ।
‘विशिष्ट सांस्कृतिक महत्व बोकेको नेपालीहरुको महान चाड हो,’ गीतबारे गीतकार कार्कीले भने, ‘यसले समग्र नेपालीमा उत्पन्न गर्ने हौसला र दसै मान्न नपाउनेहरुको समग्र मनस्थिती र अवस्थालाई यो गीतमार्फत झल्काउन खोजिएको छ ।’
गीत समग्र नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी र यसको सांस्कृतिक महत्वलाई उजागर गर्ने गरी बनाइएको पनि उनले बताए । ‘नाच्ने खालको गीत बनेकाले यसपटकको दसैँमा दर्शक झुमेर नाच्न पनि सक्छन्,’ कार्कीले भने ।
सत्यपाटी