सूचनाको शक्ति - The Power Of Information

        

अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध

पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो । अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको एक्यापका आयोजना प्रमुख डा रवीन कडरियाले बताए ।

‘मर्दी हिमाल, तारा हिलटप लगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र उत्पादित फोहर आफैँले लिएर आउन पर्यटकलाई आग्रह गरेका छौँ,’ उनले भने, ‘पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गरिएको छ ।’ स्थानीय होटल व्यवस्थापन समिति, आमा समूहलगायत क्लब परिचालन गरेर फोहर व्यवस्थापन गरिएको हो । सङ्कलन भएको फोहरलाई पोखरामा ल्याई प्रशोधन गर्ने ‘एक्याप’को योजना छ ।

अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर पुनःप्रयोगमा आउने सामग्री लिएर जान अनुरोध गरिएको छ । ‘एक्याप’भित्र पर्ने स्थानीय तहले पनि सरसफाइ अभियानलाई प्राथमिकता दिएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिकाभित्र प्लाष्टिक झोला लैजान प्रतिबन्ध लगाइएको छ । ‘एक्याप’ भित्रने पर्यटकलाई ‘मेटाकार्ड’मार्फत फोहर व्यवस्थापन सम्बन्धी सन्देश दिन थालिएको छ ।

घान्द्रुक, सिकलेस, धम्पुस लगायत सांस्कृतिक पहिचानका गाउँमा पनि सरसफाइ अभियान सुरु भएको ‘एक्याप’ले जनाएको छ । सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

बर्सेनि असोज–कात्तिक र चैत–वैशाखमा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी लगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् । कास्कीको खुमैडाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङ लगायत गाउँ पनि पदयात्राका प्रमुखस्थल हुन् ।

कास्की, लमजुङ, मनाङ, म्याग्दी लगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्र्रा सकिने पर्यटक पथप्रदर्शक दिवस गुरुङले जानकारी दिए । अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्षमा दुई लाख २२ हजार १८० विदेशी पर्यटक भित्रिएका थिए । ती मध्ये एसियाली मुलुकका एक लाख १७ हजार ८४५ र अन्य मुलुकका एक लाख चार हजार २५६ पर्यटक रहेका छन् । चार वर्षअघि अन्तर्राष्ट्रिय ‘ट्राभल साइट’ लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने दश गन्तव्य सूचीमा समावेश गरेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १०:४४

लोकप्रिय