सूचनाको शक्ति - The Power Of Information

        

झारफुकतिर लाग्दा बाँकेमा सर्पदंशका १६ बिरामीको मृत्यु

पश्चिम नेपालका विभिन्न जिल्लाहरूबाट रिफर भएका बिरामीहरूको उपचार गर्दै आएको भेरी अस्पतालले यस वर्ष विषालु सर्पले टोकेका १२० जनाभन्दा बढी बिरामीको उपचार गरेको जनाएको छ ।

यस वर्ष वैशाखदेखि हालसम्म विषालु सर्पले टोकेका विभिन्न जिल्लाबाट आएका १२० जनाभन्दा बढी बिरामीको भेरी अस्पतालमा उपचार भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा.पारस पाण्डेले बताए ।

उनले अस्पताल आउँदा आउँदै र उपचारकै क्रममा सर्पदंशका १६ जना बिरामीको ज्यान गएको पनि बताए । अस्पताल ल्याउन ढिलाइ गर्दा वा समयमै सर्पले टोकेको थाहा नपाउँदा उनीहरूको मृत्यु भएको डा.पाण्डेको भनाइ छ ।

भेरी अस्पतालका अनुसार पश्चिम नेपालका तराईका जिल्लामा सर्पदंशका बिरामी विगतभन्दा बढ्न थालेका छन् । सर्पदंशको उपचार हुने नेपालगन्जस्थित भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप पछिल्लो समय बढेको छ ।

सर्पदंशका बिरामीले नै अस्पतालको आकस्मिक कक्ष र आइसियु वार्ड यतिबेला भरिन थालेको अस्पतालले जनाएको छ । भेरी अस्पतालका सूचना अधिकारी डा.सङ्केतकुमार रिसालले लुम्बिनी कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लास्थित अस्पतालबाट रिफर भएर सर्पले टोकेका बिरामी उपचारका लागि आउन थालेपछि भेरी अस्पताल भरिभराउ हुन थालेको बताए ।

सर्पले टोकेर समयमा अस्पताल ल्याउन सके बिरामीको ज्यान जोगाउन सकिने भएकाले झारफुकमा नलाग्न र तत्काल अस्पताल पुर्याउन चिकित्सकहरूले पटक पटक सुझाव दिँदै आएका छन् । सूचना अधिकारी डा.रिसालका अनुसार सर्पले टोकेमा गाउँघरमा झारफुकको भरपर्दा यसले झनै जोखिम बढाउने गरेको छ ।

यस्ता परम्परागत विधिमा भरपर्दा ज्यानै जोखिममा परेपछि अन्तिममा अस्पतालमा ल्याउँदा ज्यान जोगाउन निकै मिहिनेत गर्नुपर्ने सूचना अधिकारी डा.रिसालको भनाइ छ । भेरी अस्पतालको तथ्याङ्क अनुसार यसवर्ष सर्पदंशका बिरामीको चाप बढ्नुका साथै गत वर्षभन्दा दोब्बर बढीको मृत्यु भइसकेको छ ।

नेपालमा गोमन करेट र भाइपर प्रजातिका विषालु सर्पले धेरैलाई टोक्ने गरेको पाइन्छ । चिकित्सकका अनुसार गोमन र करेट सर्पले टोक्दा न्युरो टक्सेभेनोममा असर गर्ने भएकाले मस्तिष्क र स्नायुमा प्रभाव पार्छ, जसका कारण मानिसहरूको मृत्यु हुने जोखिम धेरै हुन्छ । भाइपर सर्पमा हेमोटक्सिन हुन्छ जसले शरीरमा रगतलाई खराब गर्छ ।

भेरी अस्पतालले तराईमा पाइने कोब्रा करेट जस्ता सर्पले टोकेका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने गरेको छ । भाइपर प्रजातिका सर्पले टोकेर आउने बिरामीमा रगत पातलो हुने रगत बग्ने कलेजो र मिर्गौलामा असर पार्दा डाइलासिस गरी रगत चढाएर उपचार गर्ने गरेको भेरी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार १२:०१

लोकप्रिय