सूचनाको शक्ति - The Power Of Information

        

जंगलमा देखिन छाडे चराचुरुंगी र जनावर

वन फडानी रोकिएपछि घना बन्दै गएका म्याग्दीका सामुदायिक वन र खोरियामा गत फागुनदेखि जेठसम्म लागेको डढेलोका कारण जंगली जनावर देखिन छाडेका छन् । डढेलोका कारण जंगल उजाडिएपछि चराचुरुंगीको कोलाहल र चिरबिर सुनिन छाडेको स्थानीयले बताएका छन् । डढेलोका कारण वन नष्ट भएपछि वनमा पस्ने बित्तिकै सुनिने चराचुरुंगीको चिरबिर सुनिन छाडेको मालिका गाउँपालिका–१ निस्कोटका राम पुनले बताए ।

‘रंगीविरंगी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रौनक घटेको छ, पहिला जंगलमा देखिने जनावर अहिले गाउँका खेतबारी र सडक छेउमा देखिन थालेका छन्,’ उनले भने । जंगलमा डढेलो लागेयता चराचुरुंगी र वन्यजन्तुको चहलपहल देखिन छाडेको मालिका गाउँपालिका–६ उपल्लो दुखुका यमन पुनले बताए । ‘डढेलो लागेपछि वन क्षेत्र वर्षापछि पनि कालो देखिएको छ । जंगलमा कुनै चहलपहल छैन । जंगली जनावर गाउँ पसेर दुःख दिन थालेका छन्,’ पुनले भने ।

जंगलमा डाँफे, कालिज, चिबे, तित्रा, कटुके चरा, लामपुच्छ्रेलगायत पक्षी देखिन छाडेका बेनी नगरपालिका–३ भकिम्लीका तेजबहादुर घर्तीले बताए । “अचेल यी चरा देखिँदैनन्,” घर्तीले भने । वनमा बाक्लै भेटिने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएको उनले बताए । समुदायको जिम्मामा रहेका सामुदायिक वनमा काठ, दाउरा, घाँस र स्याउला फडानी रोकिएपछि म्याग्दीका सामुदायिक वन हराभरा भएका थिए ।

वन क्षेत्र हराभरा र घना बन्दै गएपछि जंगली जनावर वृद्धि भएको थियो । डढेलोले जंगल सखाप पारेपछि गाउँमा झन् बढी जंगली जनावर पसेर दुःख दिन थालेका मालिका गाउँपालिका–१ निस्कोटका टकबहादुर विक बताउँछन् । डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये गएको हिउँदमा डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दीमा पुर्याएको छ । डढेलोले म्याग्दीको करिब दुई हजार हेक्टर वन क्षेत्र ध्वस्त बनाएको छ ।

जिल्लाका मालिका, मंगला र बेनी नगरपालिकाका वनमा डढेलो लागेको थियो । आफ्नो वासस्थान वरपर डढेलो बढ्दै गएपछि कतिपय चराचुरुंगी र वन्यजन्तु डढेलाको चपेटामा परी मरेका तथा अन्तै गएको हुनसक्ने मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोका बताउँछन् । डढेलोले वनका महत्त्वपूर्ण जडीबुटी सखाप भएका छन् । चराचुरुंगी, जीवजन्तु हराउनुका साथै बहुमूल्य जडीबुटी तथा काठ खरानी भएको छ ।

डिभिजन वन कार्यालयको अभिलेख अनुसार म्याग्दीको दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये ३६.७६ प्रतिशत वन, १.८५ प्रतिशत झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले एक हजार २६० हेक्टर, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले तीन हजार ७५३ हेक्टर वनक्षेत्र ओगटेको छ । डिभिजन कार्यालय मातहतका ७९ हजार ४३९ हेक्टर वनमध्ये २४ हजार २०२ हेक्टर ३१० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ । करिब पाँच हेक्टर कबुलियत, धार्मिक र निजी वन छ । बाँकी सबै राष्ट्रिय वन हो ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतवार ०७:३३

लोकप्रिय