सूचनाको शक्ति - The Power Of Information

        

कार्यशैलीमाथि सुनिताले प्रश्न उठाएपछि बालेनले भने, ‘धन्यवाद’

काठमाडौं महानगरपालिका मेयर बालेन शाहको कार्यशैलीमाथि उपमेयर सुनिता डंगोलले प्रश्न उठाएकी छन् । कार्यपालिकाको मंगलबार बसेको बैठकमा उपमेयर डंगोलले काठमाडौंका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचनालाई लिएर मेयर शाहमाथि प्रश्न उठाएकी हुन् ।

सर्वोच्चले हालै मात्र नदी किनारको दुवैतर्फ थप २०–२० मिटरको मापदण्ड तोक्ने फैसला गरेको थियो । लगत्तै काठमाडौं महानगरले सूचना निकालेर भवन निर्माण रोकेको छ । उपमेयर डंगोलले अदालतको फैसला पालना गर्नु सबैको दायित्व भएको बताइन् । तर अदालतको फैसला कसरी कार्यान्वयन गर्छौं भन्ने पनि महत्वपूर्ण हुने उनले बताइन् ।

महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भन्ने लेखिएको भन्दै उनले भनिन्, ‘यो सबै जनाको निर्णय हो कि होइन ?’ स–साना विषयलाई बोर्डमा ल्याउने गरिएको भए पनि यति संवेदनशील विषयमा बोर्ड बैठक नराखेको भन्दै उनले भनिन्, ‘मेयरस्तरीय निर्णय भनेर सूचना जाने, हामी जनप्रतिनिधिले सूचनाबाट सुसूचित हुने राम्रो पद्धति राम्रो होइन ।’

जनभावना विपरीत महानगर गएको भनेर बुझ्न थालेको, तर आफूहरुसँग छलफल नै नगरेकाले सूचनाको ओनरसिप लिन नसकिएको उपमेयर डंगोलले बताइन् । उपमेयरको प्रश्न सुनेपछि मेयर बालेनले केही जवाफ दिएनन्, ‘बैठक सकियो धन्यवाद’ भन्दै हिंडे ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार १६:१३

लोकप्रिय