सूचनाको शक्ति - The Power Of Information

        

बुलाकी : विषयवस्तु पुरानै, प्रस्तुतिमा नयाँपन

सामाजिक विषयवस्तुमा फिल्म बनाउने प्रचलन नेपालमा पुरानै हो । दर्शकलाई म्यासेज दिने नाममा असंख्य फिल्मले टर्चर दिइसके र अहिले पनि त्यो क्रम जारी छ । फिल्मको काम दर्शकलाई हेरुन्जेल मनोरञ्जन दिनु हो, उपदेश दिनु होइन । हेक्टिक दैनिकीबाट केही घण्टा फुर्सद निकालेर मानिस फिल्म हलमा छिर्छ ।

त्यही एकाध घण्टामा पनि म्यासेज दिने नाममा बोरिङ फिल्म हेर्नुप¥यो भने कति दिक्क लाग्दो हो । फिल्मले म्यासेज दिएर समाज सुध्रिने भए अहिलेसम्म देशमा रामराज्य आइसक्थ्यो होला । सामाजिक विषयवस्तुमा फिल्म बनाउनै हुँदैन भन्ने होइन । तर फिल्मको उद्देश्य म्यासेज होइन मनोरञ्जन दिने हुनुपर्छ । सामाजिक विषयवस्तुमै आधारित फिल्म बुलाकी अहिले हलहरुमा प्रदर्शन भइरहेको छ ।

कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारी प्रथा यसको मूल कथावस्तु हो । सँगसँगै निःसन्तान महिलामाथि हुने हिंसा, बुहारीमाथि सासूको बुहार्तन, छाउपडी प्रथा, साहु–महाजनले गरिब–गुरुबालाई गर्ने थिचोमिचो आदि पनि देखाइएको छ । ‘बेहोरा म पछि लेखौंला’ भन्दै पटक–पटक साहुले गाउँका निमुखालाई खाली कागजमा ल्याप्चे लगाउन लाउँछन् ।

कर्णाली र सुदूरपश्चिमका लागि कालापार रोजगारी दशकौंदेखिको नियति हो । भर्भराउँदी श्रीमती हीरालाई छोडेर कालापार भासिनु चन्द्रेका लागि रहर होइन, बाध्यता हो । ’अर्को वर्ष फर्केर आउँदा छोरो खेलाउन पाउनुपर्छ’ भनेर उ बाटो लाग्छ । यता हीरा पर सरेर छाउगोठमा बस्न पुग्छे । गर्भ नबस्दा सासूको टोकसो बढेपछि हीराको मन बदलिन्छ, त्यसपछि कथाले नाटकीय मोड लिन्छ ।

‘मकन था छ, आइमाइकै बल हुन्छ । अका बरस म घर आउने बेला तमी आमा भएको खुश खबरी सुन्न पाउँ,’ परदेश हिँड्नुअघि चन्द्रेले भनेको यो कुराले हीराको मन खिन्न भइरहन्छ । आफ्नै नन्दले मन पराउने केटासँग हीराको मन बसेपछि विकसित हुने घटनाक्रमकै वरिपरि फिल्म घुमेको छ । फिल्मको राम्रो पक्ष के हो भने समाज सुधार्ने नाममा यसमा म्यासेज थोपरिएको छैन ।

कथा सलल बगेको छ अनि दृष्य र संवादमा दर्शक इन्गेज हुन्छन् । दृष्यहरु अनावश्यक रुपमा लामा छैनन्, पात्रहरुले आदर्शका लामा डाइलग बोल्दैनन् । फिल्ममा मुख्य पात्र सुरक्षा पन्त डोमिनेट छिन्, किनकी पूरै कथा उनकै वरिपरि घुमेको छ । पतिको चिठी पढ्न सक्ने र जवाफ लेख्न सक्ने उनलाई विद्रोही महिलाको रुपमा प्रस्तुत गरिएको छ । लवज र हाउभाउमा सुरक्षाको मिहिनेत देखिन्छ ।

अरु पात्र पनि छायामा परेका छैनन् । नरेन खड्का र डेब्यु कलाकार विराज बिष्टले पनि सुरक्षालाई माथ दिने गरी अभिनय गरेका छन् । सहायक पात्रहरु पनि बोरिङ छैनन् । फिल्म हेरिसक्दा पनि ती पात्र दिमागमा आइरहन्छन् । अनावश्यक रुपमा बाल कलाकार घुसाइएको छैन । कलाकार चयनमा ध्यान दिइएको छ । सिनियरदेखि नयाँ सबै कलाकारले राम्रो काम गरेका छन् ।

सासूको भूमिकामा लक्ष्मी गिरीको चयन उत्कृष्ट छ । दुई गाउँका मुखियाको रुपमा रमेश बुढाथोकी र सुशील पोखरेल फिट छन् । फिल्ममा एकजना पात्र तामाङ समुदायकी छिन् जसलाई बडो अर्थपूर्ण रुपमा प्रस्तुत गरिएको छ । पञ्चायतकालको समय झल्काउन प्रयोग गरिएको त्यतिबेलाको राष्ट्रिय गान ’श्रीमान् गम्भीर नेपाली’ ठिकै लाग्छ तर बीचमा एकदमै छोटो रुपमा घुसाइएको माओवादी जनयुद्धवाला दृष्य जरुरी लाग्दैन । पूरै फिल्ममा कर्णाली र सुदूरपश्चिमको लवज प्रयोग गरिएको छ ।

अन्य क्षेत्रका दर्शकले कहीँकतै लवज नबुझे पनि अंग्रेजी सबटाइटलले सहयोग गर्छ । त्यही लवजको छोटो गीत बोरिङ छैन । मुख्य पात्र सुरक्षा अर्थात् हीराले गाउने गीतले दर्शकलाई मन्त्रमुग्ध बनाउँछ । फिल्मको क्लाइमेक्समा जारी प्रथालाई बडो राम्रोसँग देखाइएको छ जुन नयाँ पुस्ताका लागि चाखलाग्दो हुन सक्छ । हीराले फिर्ता गरेको बुलाकी चन्द्रेले खोलामा बगाइदिँदा फिल्म प्रेमकथा जस्तो पनि लाग्छ । तर लभस्टोरी यसमा खासै छैन । म्यासेज होइन फिल्मको मजा लिने हो भने तपाईंको दुई घण्टा समय खेर जाँदैन, पैसा असुल हुन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार १७:१०

लोकप्रिय