सूचनाको शक्ति - The Power Of Information

        

मनसुनजन्य विपद्मा परी १५३ को मृत्यु, १७७ जना घाइते

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका मनसुनजन्य विपद्मा परी आज दिउँसोसम्म १५३ जनाको मृत्यु भएको छ । मनसुनजन्य विपद्मा परी सबैभन्दा धेरै गण्डकी प्रदेशमा ४३ जनाको मृत्यु भएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरो लगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेसमा छ जना, बागमतीमा २९ जना, गण्डकीमा ४३ जना, लुम्बिनीमा २९ जना, कर्णालीमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १५३ जनाको मृत्यु भएको हो ।

बाढीपहिरोबाट काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेसमा १० जना, बागमतीमा १० जना, गण्डकीमा ३४ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी १७७ जना घाइते भएका छन् । बाढीपहिरोबाट काठमाडौँ उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमतीमा १२ जना, गण्डकीमा १४ जना, कर्णालीमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी १०८ जनाको उद्धार गरिएको छ ।

प्रवक्ता कार्कीले भने, ‘आजसम्म बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमतीमा ४२ जना, गण्डकीमा एक जना, कर्णालीमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ ।’ उनका अनुसार बाढीका कारण जम्मा ३८४ घर डुबानमा परेका छन् ।

बाढीपहिरोकै कारण २६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढीपहिराले आजसम्म ७४३ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार २३८ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ०७:०२

लोकप्रिय