सूचनाको शक्ति - The Power Of Information

        

अवैध सामान तस्करी

बाँकेका सीमा क्षेत्रमा तस्करलाई सशस्त्र र नेपाल प्रहरीको पहरा

नेपालगन्जको चौलिका चोकदेखि जमुनाहसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका आधा दर्जन चेकपोष्ट छन्, तर त्यसलाई समेत छलेर नेपालगन्जमा अवैध सामान भित्रिन्छ ।

भारतबाट आउनेलाई चेकजाँच गर्न जमुनाहा नाकाबाट चौलिका चोकसम्म पाँच ठाउँमा सुरक्षाकर्मी खटिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पाइलैपिच्छे सामानको जाँच गर्छन् र सामान किनमेल गरेर आउनेलाई केरकार गर्छन् । काम गरेर भारतबाट फर्किनेलाई पनि सीमा बसेका सुरक्षाकर्मीले केरकार पार्ने र अवैध सामान तथा विस्फोटक पदार्थ भित्रिन नदिन जाँचबुझ गर्छन् ।

अवैध सामान भित्रिन नदिन नाकामा ईलाका प्रहरी कार्यालय जमुनहाका प्रहरीले जाँच गरिसकेपछि मात्र अघि बढ्न पाइन्छ । त्यसलगतै सशस्त्र प्रहरीले सामानको जाँच गर्छ । त्यहाँबाट छुटकारा पाएपछि नेपालगन्ज भन्सार कार्यालयको गेटमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको जाँच गर्ने पालो आउँछ । अझै पनि सर्वसाधारण सजिलै नेपालगन्ज पुग्ने अवस्था रहँदैन ।

भन्सारको ५०० मिटर उत्तरमा फेरि पनि सीमा प्रहरीको सामना गर्नुपर्ने हुन्छ । सीमा प्रहरी चौकी जैयसपुरले जेकजाँच गर्छ । त्यसको ५०० मिटर उत्तर चौलिका चोकमा फेरि सशस्त्र प्रहरीले जाँचबुुझ गरेपछि मात्र नेपालगन्ज पुग्न सकिन्छ । यी ५०० मिटरको फरकमा रहेका सुरक्षाकर्मी मात्र हुन् । अवैध सामान भित्रिन नदिन दुवै सुरक्षा निकायले सादा पोशाकमा घुमुवा पनि परिचालन गरेका छन् ।

ती घुुमुवा प्रहरीले सुराकीको आधारमा अवैध सामान ल्याउने पक्राउ पर्छन् । उता, हिरमिनिया, साइगाउँका प्रहरी चौकीले पनि अवैध सामान ओसारपसार गर्नेहरुमाथि निगरानी गर्दै आएका छन् । अवैध बाटो भएर भारतबाट सामान ओसारपसार गर्नेलाई समातेर बरामद भएको सामान भन्सार कार्यालयमा बुझाउनुपर्छ । तर, यतिधेरै सुरक्षाकर्मी परिचालन भए पनि अवैध सामान नेपालगन्ज भित्रिसकेपछि विभिन्न स्थानबाट बरामद हुने गरेको छ ।

सीमा क्षेत्र जमुनाहादेखि नेपालगन्ज नपुग्दै पाँच ठाउँमा चेकजाँच हुन्छ तर त्यहि चेकजाँचबाट निस्किएको मालसामान नेपालगन्जमा कसरी पक्राउ हुन्छ ? जमुनाहामै पक्राउ हुनुपर्ने सामान कसरी नेपालगन्ज आइपुग्छ ? जमुनाहा प्रहरी चौकीदेखि सशस्त्रको चौलिका चोकसम्म पर्ने पाँच वटा जेकजाँच गर्ने निकायले तस्करसँग राम्रै घुस रकम लिएर मालसामान छोड्छन्, त्यसरी छाडिएको सामान नेपालगन्जमा पक्राउ हुन्छ ।

जमुनाहामै पक्राउ हुनुपर्ने सामान नेपालगन्जमा बरामद हुँदा पाँच ठाउँमा चेकजाँच गर्ने सशस्त्र र नेपाल प्रहरीको तस्करसँग मिलेमतो रहेको स्पष्ट हुन्छ । सीमा क्षेत्रमा सडकमा चेकजाँच गर्न बसेका भन्सार कर्मचारीदेखि सशस्त्र र नेपाल प्रहरीका खल्ती र टोपी चेकजाँच गर्ने हो भने कच्याककुचुक पारेर राखेको पैसा भेटिन्छ । उनीहरुले मालसामान तस्करी गर्नेबाट घुस रकम खाँदै र छोड्दै गर्छन् जुन मालसामान नेपालगन्जमा आएर पक्राउ हुन्छ ।

प्रहरीलाई देख्नासाथ सामान फालेर भाग्ने गरेका कारण ओसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गाह्रो भएको भन्दै सुरक्षा निकायको रेडिमेड जवाफ आउँछ । अवैध सामान भित्रिन नदिन सीमा क्षेत्रमा सुरक्षाकर्मी खटिए पनि नेपालगन्जमा अवैध सामान फेला पर्नुले सीमा क्षेत्रका सुरक्षाकर्मीले लापरवाही गरेको पुष्टि हुन्छ । यसले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले सामान ओसार पसार गर्ने तस्करहरुसँग मोटो रकम लिएको भन्ने पुष्टि पनि गर्दछ ।

भन्सार छलेर ल्याएको सामान बरामद हुनुले पनि सीमा क्षेत्रमा मोटो रकमको चलखेल हुने गरेको प्रष्ट हुन्छ । नेपाल प्रहरीले भने भन्सार छलेर अवैधरुपमा भित्रिएको सामान, ओसारपसार गर्न प्रयोग हुने साधन र ओसारपसारमा संलग्नलाई पक्राउ र सामान बरामद गर्दै आएको दावी गरे पनि मुख्य तस्करलाई छाडिदिने गरेको सरोकारवालाहरु बताउँछन् । प्रहरीले अवैध सामानसहित ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिए पनि अवैध सामान नेपाल ल्याउने ठूला ठेकेदारलाई पक्राउ गर्न सक्दैन ।

सामान क्यारिङ गरेर नेपालगन्ज ल्याउने र नेपालगन्जका विभिन्न पसलमा विक्री गर्ने क्यारियर मात्र पक्राउ पर्ने गरेका छन् । धेरै परिमाणमा सामान ल्याउनेहरु नदेखिने भएकोले क्यारिङ गर्नेहरु पक्राउ पर्ने गरेको प्रहरी स्रोतको भनाई छ । नेपाल प्रहरीले पहिलेको भन्दा अहिले ठूला कारोवारीलाई पनि नियन्त्रणमा लिएर सामान जफत गरिएको दावी गरे पनि अवैध सामान तस्करीमा संलग्न ठूला ठेकेदारलाई पक्राउ गर्न सक्दैन ।

खुला सीमानाको फाइदा उठाउँदै तस्करले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग लाइन मिलाएर अवैधरुपमा सामान ल्याउने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकृतले बताए । उनले भने, ‘माथिल्लो तहका प्रहरी अधिकारीहरुसँग तस्करले लाइन मिलाएर सोही अनुसार अवैध सामान नेपाल भित्र्याउँदै आएका छन् । तत्लो तहका कर्मचारीले त निर्देशन पालना गर्ने हो । माथि नै सेटिङ्ग भएपछि तल्लो तहका कर्मतारी त निरिहजस्तै हुन् ।’

सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्रका प्रहरी आफैं ढाट राखेर चोरीपैठारीलाई प्रश्रय दिइरहेका छन् । तस्करी नियन्त्रण गर्न चौलिका चोकदेखि जमुनाहसम्म भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पाँच ठाउँमा चेकिङ हुनुपर्नेमा ती सबै स्थानमा ढाट राखेर चोरीपैठारीका सामानलाई नेपाल ल्याउन सहयोग गरेको पाइएको छ । मुख्य नाकाबाट अवैध सामान भित्रिन छाडेको छैन । मुख्य नाका होइन अन्य नाकाबाट प्रशस्तै सामान भित्रिने गरेको छ ।

त्यसरी भित्रिएको सामान नेपालगन्जका गोदामहरूमा ‘स्टक’ गरेर यही र अन्य जिल्लामा बिक्रीका लागि पठाइने गरिएको छ । नाकाबाट भित्रिएको अवैध सामान नेपालगन्ज पुगेपछि पनि विभिन्न ठाउँमा घर भाडामा लिएरै गोदाम गरेर राख्ने गरिन्छ । चोरी पैठारी नियन्त्रणको अख्तियारी पाएका सरकारी निकायको लापरबाही र तस्करलाई प्रोत्साहन गर्ने कार्यमा संलग्न व्यवसायी यसमा मुख्य दोषी रहेको स्रोतको दाबी छ ।

व्यापारीहरूले चोरीपैठारी र नेपालगन्जको व्यवसाय नचल्नुमा किनमेलका लागि रुपैडिया जाने सेवाग्राहीलाई मात्रै दोष देखाउँछन् तर चोरीतस्करी गरेर भित्रिएको सामान स्वयं व्यवसायीकै पसल र गोदाममा भेटिने र त्यसमा सीमा नाकाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरीले आफैँ ढाट राखेर असुल्न थालेकाले यस्तो अवस्था आएको जानकारहरूको दावी छ । अवैध सामान भित्रिने मूल स्रोत भन्सार नाका फितलो तर बजार अनुगमन कडाइ भइरहेको छ ।

सर्वसाधारणले किनमेल गरेको बाहेक क्यारिङमार्फत विभिन्न नाकाबाट भित्रिने करोडौँको सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नै पहरा दिने गरेको स्रोतको दाबी छ । अवैध सामान भन्सार नाकाको कमजोर सुरक्षा व्यवस्था छलेर बजारमा भित्रिएका हुन् । नेपालगन्जको चौलिका चोकदेखि जमुनाहसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका आधा दर्जन चेकपोष्ट छन्, तर त्यसलाई समेत छलेर नेपालगन्जमा अवैध सामान भित्रिन्छ ।

नाकाको फितलो सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै भित्रिएको सामान बजार पुगिसकेपछि मात्रै प्रशासनले पनि बजार अनुगमनको नाटक गर्ने गरेको ती व्यापारीले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाइन दिएपछि नेपाल भारत खुला सिमानाको लाभ उठाउँदै तस्करहरूले दिनदिनै लाखौँका अवैध सामान नेपाल भित्र्याउँछन् । पछिल्लो आर्थिक संकट र तस्करी मौलाएपछि नेपालगन्ज भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व उठाउन सकेको थिएन ।

गत आर्थिक वर्षमा २९ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ लक्ष्य लिएको भन्सार कार्यालयले झन्डै ११ अर्ब नोक्सान व्यहोर्दै १८ अर्ब १९ करोड राजस्व संकलन भएको थियो । यो वर्ष मात्र होइन, बर्सेनि भन्सार कार्यालयले राजस्व गुमाउँदै आएको छ । यसरी दैनिक भन्सार छली चोरी पैठारी गरेर सामान आयात हुँदा यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा परेको छ । बर्सेनि राजस्व गिरावट हुनुको प्रमुख कारण नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाकामा कडाइ नगर्नु र भन्सारका कर्मचारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई साथ दिनुरहेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार ०९:४७

लोकप्रिय