सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका जिल्लामा यातायात र हवाई सेवा अझै अवरुद्ध

लगातार पानी परेपछि कर्णाली प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । यही असार १९ गतेयता कर्णालीका चार हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाले जनाएको छ ।

सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार डोल्पा, मुगु, जुम्ला र हुम्लामा हवाई उडान अवरुद्ध छ । नेपालगन्जबाट तारा, सीता र समिट एयरको जहाजले हिमाली चार जिल्लाका लागि उडान भर्ने तयारी गरे पनि मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको हो ।

हवाईसेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने तयारी गरेका पर्यटकहरू चीनको ताक्लाकोटबाट तिब्बती हुँदै केरुङ हुँदै काठमाडौं फर्किएका छन् । मानसरोवर कैलाशको दर्शन गरेर फर्केका आठ जना भने सिमकोटबाट हेलिकप्टरबाट नेपालगन्ज फर्किएका छन् ।

चार दिनदेखि राजमार्ग अवरुद्ध

यता वर्षाले चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग अन्तरगत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा गएको पहिरो अझै पन्छाउन सकिएको छैन । कर्णाली राजमार्गको एसमोड, हुल्मबजार, सेरिघाट, खाँडाचक्र नगरपालिका–४ मा पर्ने छेका, वडा नं ६ मा पर्ने मोल्फाबजार र तिलागुफा नगरपालिका–६ मा पर्ने टिमुरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण थापाका अनुसार पहिरोको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ । ‘केही ठाउँमा घर भत्किएको खबर आएको छ,’ कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली भने, ‘बाढी पहिरोको जोखिम रहेका बस्ती सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।’

प्रकाशित मिति : २४ असार २०८१, सोमबार १८:१०

लोकप्रिय