बाँकेको राप्ती नदी तटका बस्ती र उर्वर भूमि जोगाउने भन्दै तटबन्ध निर्माणमा सरकारले गर्दै आएको लगानी बर्खाको भेलसँगै बग्ने गरेको छ । बर्खा लागेपछि नागरिकको आँखामा छारो हाल्न नियन्त्रणका नाममा थुपारेका ढुंगाहरुसँगै तटबन्धसमेत राप्तीले बगाइदिन्छ । बर्षायाम सुरु भएसँगै राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका बस्तीहरुमा जोखिम मडारिन्छ ।
गतिलो तटबन्ध नहुँदा यहाँका बस्तीहरु जोखिममा छन् । नरैनापुर–६ गंगापुरका एक जना स्थानीय सन्तकुमार यादव भन्छन्, ‘नेताहरु आएर काम हुन्छ भन्छन् । गएपछि केही काम हुँदैन । काम भए पनि जनतालाई मूर्ख बनाउने काम मात्रै हुन्छ ।’ सरकारले वास्ता नगर्दा समस्या जटिल बन्दै गएको स्थानीयहरु बताउँछन् ।
वर्षायाम शुरु भएसँगै बाँकेमा बाढीको उच्च जोखिममा रहेका क्षेत्र पहिचान गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकालाई बाढीको उच्च जोखिममा राखेको छ । बाढीले हरेक वर्ष ठूलो क्षति पुर्याउने गरेका कारण उक्त क्षेत्रलाई बाढीको उच्च जोखिममा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
प्रजिअ रिजालले सामुदायिक भवन, विद्यालय, सामुदायिक वनका भवनलाई आश्रयस्थलका रुपमा पहिचान गर्न थालिएको जानकारी दिए । उनले भने, ‘हामीले सबै प्रकारका तयारीहरु गरिसकेका छौं । सबै सुरक्षा अङ्गहरु तयारी अवस्थामा छन् । सुरक्षाकर्मीहरुलाई उद्धारका लागि आवश्यक तालीम पनि दिइएको छ । विपद् आइहालेमा तत्काल खटिने गरी हामी पूर्णरुपमा तयारी अवस्थामा छौं ।’
प्रजिअ रिजालका अनुसार उद्धारका लागि राप्ती तटीय क्षेत्रका उच्च भागहरुमा हेलिकप्टर अवतरण गर्न मिल्ने गरी ठाउँठाउँमा हेलिप्याडहरु बनाइएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजकसमेत रहेका प्रजिअ रिजालले बाढी प्रभावित क्षेत्रका सुरक्षा इकाईहरुमा आवश्यक उद्धार सामग्री, राहत तथा औषधिजन्य सामग्रीहरु भण्डारण गर्न थालिएको बताए ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक गौरी बुढाथोकीले पूर्वतयारीलाई चुस्त बनाएको बताए । उनले भने, ‘विपद् नआओस् भन्ने हाम्रो कामना हो । आउन सक्ने सम्भावित अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तह, सुरक्षा अङ्गहरु, रेडक्रस लगायतलाई ‘एलर्ट’ भएर बस्न आग्रह गरेका छौं । उहाँहरु तयारी अवस्थामा हुनुहुन्छ । प्रभावित क्षेत्रका नागरिकहरुलाई पनि विपद्बाट हुनसक्ने क्षतिका बारेमा सचेत गराइरहेका छौं ।’
छ करोड रुपैयाँको अभावमा दुई गाउँपालिकाका करिब ५० हजार जनसङ्ख्या बाढी र डुबानको जोखिममा परेका छन् । बाँके जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सातभन्दा बढी गाउँका बासिन्दा बाढी र डुबानको उच्च जोखिमसँगै त्रासमा छन् । राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडियामा राप्ती नदीमा निर्माण गरिएको तटबन्ध एक वर्षअघि बाढीले बगाएको थियो ।
त्यसको पुनर्निर्माणका लागि माग गरिएको छ करोड रुपैयाँको बजेट नपाई पुनर्निर्माण नहुँदा त्रास बढेको हो । गत वर्षको बाढीले बगाएको तटबन्ध यस वर्ष वर्षा सुरु हुने बेलासम्म पनि पुनर्निर्माण नहुँदा सो क्षेत्र डुबान र बाढीको चपेटामा पर्ने निश्चित जस्तै देखिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनका अनुसार पहाडी क्षेत्रमा पानी परिरहेकाले राप्तीमा पानीको सतह बढ्न थालेको छ ।
अध्यक्ष शाहले तत्काल तटबन्ध निर्माण नगरिए राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका देउपुरा, पिप्रहवा, खल्ला झगडिया, गेदुवा, गङ्गापुर, सोनवर्षा खुदरबेटवा र कडुवा लगायतका गाउँमा राप्ती नदी पस्ने चिन्ता बढ्दै गएको छ । भत्किएको २८० मिटर लामो तटबन्ध तत्काल पुनर्निर्माण नगरिने हो भने सो वरिपरिका सात गाउँमा ठुलो जनधनको क्षति हुने निश्चित रहेको जनाउँदै स्थानीयले जोगाउन सरकारसँग हारगुहार गरेका छन् ।
स्थानीय अगुवा दुर्गाप्रसाद पाण्डेले गत वर्ष तटबन्ध भत्किए लगत्तैबाट हालसम्म जिल्ला प्रशासन, स्थानीय पालिका र ‘जनताको तटबन्ध’ कार्यक्रमलाई पटक पटक पुनर्निर्माणका लागि आग्रह गर्दा पनि कुनै सुनवाइ नभएको गुनासो गरे । वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारूले पटक पटक लिखित रूपमै तटबन्ध निर्माणका लागि वडाबाट सम्बन्धित निकायमा आग्रह गरिए पनि बजेट नभएको भन्दै कुनै सुनुवाइ नगरिएको बताए ।
यसबारे जनताको तटबन्ध कार्यक्रम लमहीका सब डिभिजनल इन्जिनियर राजन श्रेष्ठले गत मङ्सिरदेखि नै बजेटका लागि केन्द्रमा पटक पटक लेखेर पठाइए पनि बजेट नपाउँदा काम गर्न नसकिएको बताए । उनले २८० मिटर तटबन्ध निर्माणका लागि छ करोड रुपैयाँको लागत अनुमान पठाइए पनि बजेट नआउँदा काम नभएको बताए, तर अहिले बाढीको समय एकदमै नजिकिएकाले कार्यालयले आफ्नो सीमित बजेटबाट रोकथामको प्रयास गरिरहेको उनले बताए ।
सरकारले छ करोड रुपैयाँ जोगाउन ५० हजारभन्दा बढीको ज्यान जोखिममा पारेको दुखेसो गर्दै देउपुरा गाउँका स्थानीय रामअचल यादवले यस क्षेत्रका जनतामाथि दया गर्न सरकारसँग माग गरे । बाढी र डुबानबाट जोगाउन स्थानीयले हारगुहार गरेपछि बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित सुरक्षा समितिको टोलीले भत्किएको तटबन्धको स्थलगत निरीक्षण गरेको छ ।
बाँकेमा हरेक वर्ष बाढीको जोखिम क्षेत्र बढ्दै गएको छ । केही वर्षअघि डुवान नहुने क्षेत्र पनि पछिल्लो समयमा जोखिममा परेका छन् । भारतले निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण राप्तीसोनारी, डुडुवा र नरैनापुरका अधिकाँश भागहरु डुबानमा पर्ने गरेका छन् भने सीमामा भारतले निर्माण गरेको बाँधरुपी सडकबाट जानकी र खजुरा गाउँपालिकाका विभिन्न गाउँहरुमा डुबानको समस्या देखिन थालेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको पानी बग्ने बाटो दोन्द्रा नालामा भारतले पुल बनाउनुपर्नेमा कल्भर्ट निर्माण गरेपछि विगतमा डुबान नभोगेका खजुरा र जानकी गाउँपालिकाका गाउँहरु डुब्न थालेका छन् । भारतले निर्माण गरेको सडकका कारण डुबानमा पर्ने गरेको बताए । उनले भने, ‘वर्षातको पानी बग्ने ठाउँ नै नभएपछि गाउँ डुबान हुने नै भयो । दक्षिण बग्नुपर्ने पानी पुनः उत्तरतिर फर्किन थालेको छ ।’
राप्तीसोनारी गाउँपालिका खल्ला झगडिया, वसन्तपुर, भवानीयापुर, पहाडीपुर, देउपुरा, पिप्रहवा, गेदवा, सोनपुर, छपरतल्ली, भर्ता, मैलोहरनिया, कोरी सर्यापुर, लालपुर, ननकौपुर, सर्रा उच्च झगडिया, सिक्टा, जरुवा, बैरीया, ओजखोला, चप्परगौडी, तितेनघारी, मदुवा, हरिहरपुर, औरहवा, टिकुलीपुर, शम्शेरगन्ज र बेलबास, राजपुर तल्लोबस्ती, शाहीपुर, नवलपुर, बैशा, गर्लाबाज, सिनाबाज र परसरामपुर र लालपुर जोखिममा रहेका छन् ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार धामपुर र भगवानपुर, ललही, आलीनगर, पठरिया, रिहारडाँडा, चिलहरिया, खल्लाटेपरी, गोडिनपूर्वा, मोहनपुर, लक्ष्मीराजपुर, बालापुर, पेरानी (खल्ला), ढकेरी, महादेवा र ढकेरी बस्ती बाढीको जोखिममा राखिएको छ भने नरैनापुर गाउँपालिकाका सोनवर्षा, कुदरबेटवा, गंगापुर, भोजपुर, मटेहिया, भगवानपुर र निवाजीगाउँ गरी सातवटा गाउँलाई बाढीको उच्च जोखिममा राखिएको छ ।
त्यस्तै, डुडुवा गाउँपालिकाका पिप्रहवा, कृषिचौफेरी, पाझा, खडैचा, टेपरी, सन्तलिया, अमृतपूर्वा, भेलोरपूवा, दासपूर्वा, खालेपूर्वा, बाबागाउँ, कैरातीपूर्वा, कोहली, रमपूर्वा, कटैहिया, हलकारापूर्वा, लोधपूर्वा, राजापूवा, रमपूर्वा, कटैहिया, हलकारापूर्वा, लोधवापूर्वा, राजापूवा, खालेमसाहा, लालापूर्वा, खजुरा गौडी, लडियाघाट, सिधनिया तल्लो बस्ती, लिबाङ्गीटोल र शिवराजपुर गाउँ बाढीको जोखिममा छन् ।
बैजनाथ गाउँपालिकाका मकैबारी, जबदहवा, रामपुर, कलरामपुर, बानियाभार, थमनिया, गरही, गुरुवागाउँ, सम्झना बजार, चाँदनीचोक, थपुवा, झिगौरा, साइगाउँ, बढैया, शिवपुरी, पचपोखरा र गुरुदयालपुर तथा कोहलपुर नगरपालिकाका कालिकानगर, मुक्तकमैया टोल, चप्परगौडी, बजारटोललाई पनि जोखिममा राखिएको छ भने खजुरा गाउँपालिकाका गिजरा, पुरैना, दशविघा, आठविघा, बाह्रविगा, शान्तिनगर, सल्यानीटोल र गुराँसपुर जोखिममा छन् ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र एउटा मात्रै गाउँ मदनापुर बाढीको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रले जोखिमको सूचीमा सूचीकृत गरेका पूर्व क्षेत्रका धेरैजसो गाउँहरु राप्ती नदीका कारण जोखिममा छन् भने पश्चिम क्षेत्रका गाउँहरु मानखोला र डुडुवा नालाको जोखिममा रहेका छन् । जोखिम पहिचान गरिएका गाउँहरुमा विपद् प्रतिकार्य सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु भइरहेका छन् ।
वर्षायाम सुरु भएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–७ नयाँबस्ती फरेदागाउँका शङ्कर यादव रातिमा राम्ररी निदाउन सक्दैनन् । ‘बाढी रोकथामको लागि लगाइएको तटबन्ध भत्किएको वर्ष दिन भइसक्यो, राप्ती नदीले कटान गर्दै गाउँतिर सोझिएको छ,’ उनले भने, ‘ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षातको समयमा राम्ररी निदाउन सकिन्न ।’
राप्ती नदी बस्तीमा पस्ने डरले राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका करिब एक दर्जन बस्तीका सयौँ बासिन्दा त्रासमा रात बिताउने गरेका छन् । राप्तीको तल्लो तटीय क्षेत्रमा नदीले दिनहुँजसो जमिन कटान गरिरहेको छ । अहिलेसम्म सयौं बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको स्थानीयवासी यादवको भनाइ छ । राप्ती नदीले राप्तीसोनारीको २ नंं वडादेखि नरैनापुरसम्मकै तल्लोतटीय क्षेत्रका बासिन्दालाई बर्षेनी त्रासमा राख्दै आएको छ ।
कुनै क्षेत्रमा वारि त कुनै क्षेत्रमा पारितर्फ जमिन कटान गर्दै आएको राप्तीसोनारी गाउँपालिका–७ झगडिया गाउँका अगुवा दीपेन्द्र पाण्डे दिपुले बताए । ‘राप्तीसोनारीको विसम्मवरपुर र पदनाहा गाउँनजिक रहेको तटबन्ध राप्ती नदीले गतवर्ष भत्काएको थियो । त्यहीँबाट राप्तीले डुबान र कटान तीव्र पारेको छ,’ पाण्डेले भने, ‘नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पस्ने खतरा बढेको छ ।’
तटबन्ध निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नं. वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वा लगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–बेटवा, कुडुवा लगायत बस्तीमा जोखिम मडारिएको स्थानीय सर्री माविका प्रधानाध्यापक सुकबहादुर थारुले बताए । नदी नियन्त्रणको लागि वर्षा सुरु भएपछि थुपारेका ढुङ्गासँगै अघिल्ला वर्षमा बनाएका तटबन्धसमेत राप्तीले बगाएको छ ।
तारजालीबिनै खसालेका ढुङ्गा बगाएर नदी बस्तीतिर सोझिएको खल्लाझगडिया निवासी दुर्गाप्रसाद पाण्डेले बताए । ‘विसं २०७९ असोज २३ गतेको बाढीले यहाँको २५ सय मिटर तटबन्ध र सडक भत्कायो,’ पाण्डेले भने, ‘बचेको तटबन्ध र सडक पनि राप्तीले भत्काइरहेको छ ।’ वस्तीहरु डुबान र कटानको उच्च जोखिममा रहेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले बताए ।
राप्ती नदीले वर्षायाम सुरु हुनासाथ राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, शम्शेरगन्ज र राजपुर क्षेत्रमा डुबान र कटान गर्ने गरेको स्थानीय अगुवा माधव पौडेलले जानकारी दिए । ‘नदी किनारमा तटबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले दुवै किनारको सयौं बिघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ,’ पौडेलले भने ।
उनका अनुसार नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयलाई आग्रह गर्दै आए पनि चासो नदिँदा कृषियोग्य जमिन तीव्ररुपले नदीको कटानमा परिरहेको छ । राप्तीपारि बैजापुर, बिनौना क्षेत्रमा तटबन्ध निर्माण भएपछि राप्ती नदीको भँगालो कचनापुर क्षेत्रतिर फर्केर कटान गर्न थालेको अर्का स्थानीय रामदास थारुको भनाइ छ । राप्ती नदीको कटान नरोकिए मानव बस्ती जोगाउन कठिन हुने उनले बताए ।
‘नदीले अहिलेसम्म खेतीयोग्य जमिन कटान गरिरहेको छ । कटान नरोकिए यहाँको बस्ती नै बगाउने खतरा छ,’ उनले भने, ‘खेतीयोग्य जमिन कटान गरेर नदी गाउँनजिक आइसकेको छ, हाम्रो पीडा सुनिदिने निकाय कोही भएन ।’ जनताको तटबन्ध कार्यालयले जिल्लाको केही स्थानमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिरहेको छ । कार्यालयले प्रभावित क्षेत्रभन्दा पहुँचको आधारमा तटबन्ध योजना दिने गरेको स्थानीयको आरोप छ ।
दक्षिणतिरबाट राप्ती नदीले कटान गर्दा गाउँ नै जोखिममा परेको राप्तीसोनारी गाउँपालिका–२ का पूर्व वडाध्यक्ष मदन वलीले बताए । ‘राज्यले यही ठाउँबाट नदीजन्य पदार्थ सङ्कलन गरेर करोडौं राजस्व उठाउँछ । तर नदी नियन्त्रणका लागि तटबन्ध बनाउँदैन,’ पूर्व वडाध्यक्ष वलीले भने, ‘यहाँका जनता वर्षौंदेखि राप्ती नदीबाट पीडित छन् । नदी नियन्त्रण हुन नसक्दा जनता सधैं त्रासमा बस्न बाध्य छन् ।’
राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले राप्ती नदीले धेरै ठाउँमा कटान गरेकाले गाउँपालिकाको बजेटबाट मात्र नदी नियन्त्रण गर्न सम्भव नभएको बताए । ‘गाउँपालिकाको सबै बजेट खर्च गर्दा पनि नदी नियन्त्रण गर्न सम्भव छैन,’ गाउँपालिका अध्यक्ष तप्त पौडेलले भने, ‘अहिले जनताको तटबन्ध कार्यक्रममार्फत काम भइरहेको छ । राप्ती नदी नियन्त्रणका लागि सङ्घीय सरकारले नै ठूलो आयोजना बनाउनुपर्छ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके