सूचनाको शक्ति - The Power Of Information

        

नेपाल वायुसेवा निगम

ऋणले थलिँदै वायुसेवा निगम

वाइडबडी जहाजलाई कोरिया, अस्ट्रेलिया, जापानसहितका लामो दूरीमै केन्द्रित गरिरहने अवस्था आएमा सञ्चालन खर्च मात्रै धान्ने अवस्था हुन्छ ।

नेपाल वायुसेवा निगमले ६ वर्ष अगाडि भित्र्याएको एयरबसको ए ३३०–२०० नामक वाइडबडी जहाज उडाएर हालसम्म करिब ३० अर्ब रुपैयाँ आम्दानी गरेको छ । निगमले उपलब्ध गराएको तथ्यांक अनुसार २७४ सिट क्षमताको लामो दुरीको उडान क्षमता भएको दुई वटा वाइडबडी उडाएर निगमले हालसम्म ३० अर्ब ३५ करोड अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको देखिन्छ ।

यस्तो आम्दानीबाट निगमले हालसम्म ९ अर्ब ३ करोड रुपैयाँ ऋणको साँवा र ब्याज भुक्तानी गरेको छ । निगमले वाइडबडी जहाज किन्दा लिएको ऋण अझै ३५ अर्ब रुपैयाँ रहेको छ । वायुसेवा निगमले २०७५ असार १४ मा पहिलो र साउन १० मा दोस्रो वाइडबीजहाज भित्र्याएको थियो । उक्त वजहाज उडान थालेको ६ वर्षमा यसले कमाएको आम्दानी यसले बोकेका ऋणको दायित्वभन्दा कम छ ।

निगमले कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब रुपैयाँ गरी २४ अर्ब रुपैयाँ ऋण लिएर किनेको यस्तो जहाजको ऋणको साँवा र ब्याजवापत दुबै ऋणदातालाई ९ अर्ब ३ करोड रुपैयाँ भुक्तानी गरेको थियो । निगमले चुक्ता गरेको वाइडबडीको ऋणमा नागरिक लगानी कोषलाई ४ अर्ब ५१ करोड रुपैयाँ भुक्तानी गरेको छ भने त्यति नै रकम कर्मचारी सञ्चय कोषलाई तिरेको निगमले उपलब्ध गराएको छ ।

तथ्यांक अनुसार निगमले हालसम्म भुक्तानी गरेको ९ अर्ब रुपैयाँमध्ये पछिल्लो ३ वर्षमा मात्रै ५ अर्ब ३० करोड रुपैयाँ छ । यो रकम भने न्यारोबडी र वाइडबी दुबैको लागि हो । निगमले नागरिक लगानी कोषबाट लिएको १२ अर्ब ऋण बढेर अझै १७ अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ भने त्यति नै रकम कर्मचारी सञ्चय कोषलाई वाइडबडी जहाज किन्दा लागेको ऋण तिर्न बाँकी छ । निगमले अर्को २ वटा न्यारोबडी जहाज किन्दा लिएको ऋण पनि कर्मचारी संचयकोषलाई करिब ९ अर्ब ७१ करोड रुपैयाँ बाँकी नै छ ।

कर्मचारी सञ्चय कोषलाई २ वटा न्यारोबडी र एक वाइडबडीको गरी कुल २६ अर्ब रुपयाँभन्दा बढी जहाज किन्दा लागेको ऋणमात्रै तिर्न बाँकी छ । एउटा वाइडबडीको लागि भने नागरिक लगानी कोषबाट ऋण लिएकोले उक्त निकायलाई तिर्नुपर्ने ऋण १७ अर्ब बाँकी छ । नेपाल वायुसेवा निगमले उपलब्ध गराएको तथ्यांकअनुसार वाइडबडी जहाजको औषत यात्रु आम्दानी २६ हजार रुपैयाँ छ । निगमले चालु आर्थिक वर्षको साउनदेखि फागनुसम्ममा वाइडबडी जहाजबाट मात्रै २ लाख ७० हजार १०६ यात्रुलाई उडाएको छ ।

यी यात्रुबाट संकलन भएको औषत आम्दानीका आधारमा निगमले ७ अर्ब रुपैयाँ आम्दानी गरेको छ । चालु आर्थिक वर्षको ८ महिनासम्मको अपरिस्कृत तथ्यांक अनुसार निगमको वाइडबडीमा उड्ने यात्रु २ लाख ७० हजार जना छन् । यही तथ्यांकका आधारमा वाइडबडीको औषत यात्रु आम्दानी २६ हजार रुपैयाँभन्दा माथि देखिएको हो । तर, निगमले उपलब्ध गराएको पछिल्लो ५ वर्षको तथ्यांक अनुसार भने वाइडबडीको तुलनामा न्यारोबडीको औषत आम्दानी बढी छ ।

पछिल्लो ५ वर्षमा न्यारोबडीको औषत यात्रु आम्दानी २२ हजार रुपैयाँ छ भने वाइडबडीको २० हजार मात्रै भएको छ । वाइडबडी उडाएर कमाएको यस्तो आम्दानीमा गत आर्थिक वर्ष २०७९–०८० मा ५ अर्ब ५० करोड, आर्थिक वर्ष २०७८–०७९ मा ४ अर्ब ३८ करोड, २०७७–०७८ मा ३ अर्ब ४४ करोड, २०७६–०७७ मा ५ अर्ब ३३ करोड र २०७५–०७६ मा ४ अर्ब ६५ करोड रुपैयाँ भएको तथ्यांकले देखाएको छ ।

यस्तो आम्दानीबाट निगमको वाइडबडीको औषत प्रतियात्रु आम्दानी पछिल्लो पाँच वर्षमा १५ हजारदेखि २९ हजार रुपैयाँसम्म हुन आउँछ । निगमले वाइडबडीमा उडाएको यात्रु र बार्षिक आम्दानीका आधारमा प्राप्त तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९–०८० को औषत यात्रु आम्दानी २१ हजार रुपैयाँमात्रै देखिन्छ । निगमको वाइडबडीले वार्षिक साढे २ लाखभन्दा बढी यात्रु बोकेर ७ अर्ब रुपैयाँ कमाउन थालिसकेको भएपनि लामोदुरीको जहाज छोटो गन्तव्यमा उड्दा र सञ्चालन खर्च अधिक भएका कारण घाटामा चलिरहेको छ ।

निगमको वाइडवडी जहाजले लामो दुरीको गन्तव्यमा पूर्णक्षमतामा उडान नगर्दासम्म र अझै ५ वर्ष नाफामा नजाने प्रक्षेपण वायुसेवा निगमको बारेमा भएको दीपेन्द्रबहादुर क्षेत्री संयोजकत्वको एक अध्ययन प्रतिवदेनले औल्याएको छ । उक्त प्रतिवेदनले निगमको वाइडबडी जहाजले बार्षिक ५–७ अर्ब रुपैयाँ कमाउँदासमेत घाटामै छ । चालु आर्थिक वर्ष २०८०–०८१ मा १० अर्ब रुपैयाँ आम्दानी गरेको अवस्थामा पनि यसको सञ्चालन खर्च अधिक भएका कारण ३ अर्ब घाटामै जाने उक्तप्रतिवदेनले औैंल्याएको छ ।

प्रतिवदेनले निगमको वाइडबडीलाई अधिकतम उपयोग गर्दै जाने, सीट क्षमता बढाउने यसको योजनामा भएका गन्तव्य अस्टे«लिया, कोरियासहितका लामो दुरीमा नजाँदासम्म नाफामा जान नसक्ने औंल्याएको छ । वायुसेवा निगमका अनुसार आम्दानीको स्रोत कम हुँदा यसले अपेक्षा गरे अनुसार नाफा कमाउन सकेको छैन । वायुसेवा निगममा पर्याप्त जनशक्ति छन भने सो जनशक्तिलाई परिचालन गर्ने साधान (जहाज) नभएका कारण निगमले बार्षिक डेढ २ अर्ब रुपैयाँ सञ्चालन नाफा गर्दासमेत किस्ता तिर्दा घाटामा जाने अवस्था आइरहेको निगम निगका प्रवक्ता रमेश पौडेलले बताए ।

‘निगमले जहाज किन्दा लिएको ऋणको चर्को व्याजका कारण यसले जति तिरेपनि नसकिने गरी ऋणको भारी बोक्नुपरेको छ । ऋणको चर्को व्याजका कारण वार्षिकरुपमा कमाएको नाफाजति सबै किस्ता तिर्दैमा सकिन्छ भने जति यात्रु सेवा दिइएको छ त्यो भन्दा बढाउन सक्ने अवस्थाको लािग थप जहाज पनि छैन,’ पौडेलले भने ‘नयाँ गन्तव्यमा जान, बढी यात्रुलाई सेवा दिन र पर्याप्त नाफा कमाउने यही जनशक्तिले अझै पाँच वटा जहाज उडान सक्ने अवस्था छ । जहाज कम्पनीसँग जहाज नै कम भएको हुँदा न्यूनतम जनशक्तिमा चलाउँदा पनि अहिले भइरहेको खर्च आइरहने हुन्छ ।’

निगमलाई नाफामा लैजान जहाज नै थप गर्नुपर्ने, सरकारले ऋणको सीमा घटाइदिनुपर्ने र क्षमता बढाउन पर्याप्त साधान उपलब्ध गराउनुपर्ने बुझाई पनि निगमका पौडेलेको छ । निगमले अहिले पनि लामो दुरीको उडानका गन्तव्यमा उडान नै गर्न पाएको छैन । वाइडबडीलाई कोरिया, अस्ट्रेलिया, जापानसहितका लामो दूरीमै केन्द्रित गरिरहने अवस्था आएमा सञ्चालन खर्च मात्रै धान्ने अवस्था हुन्छ । नाफामा लैजान र ऋण तिर्न भने अझै जहाज नै थप गर्नुको विकल्प निगमसँग नभएको तर्क पनि पौडेलले दिए ।

निगमको दुई वटा न्यारोबडीले कमाएको नाफाका कारण निगमलाई धानिरहेको पाइएको छ । निगमले २०७१ सालमा भित्र्याएको न्यारोबडी जहाजले वर्षेनी नाफा गर्दै गएका कारण निगमलाई धान्न सहज भएको छ । निगमको वारेमा भएको अध्ययन प्रतिवेदनले पनि बार्षिक एक अर्ब रुपैयाँ नाफामा लैजाने काम न्यारोवडी नै गरेको छ । न्यारोबडीका दुई वटा जहाजमा हुने खर्चभन्दा यसको आम्दानी राम्रो भएकै कारण वर्षेनी नाफामा गएको तथ्यांकले देखाएको छ ।

निगमको न्यरोडीले २०७९–०८० मा ३ लाख ६० हजार यात्रुलाई सेवा दिँदा १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानीबाट निगमले एक अर्ब रुपैयाँभन्दा बढी नाफा गरेको पनि देखिएको छ । १५८ सिट क्षमताको निगमको न्यारोबडी २०७८–०७९ मा ८७ करोड रुपैयाँ नाफामा थियो । उक्त वर्ष न्यारोबडीका दुइ जहाजले २ लाख ३९ हजार यात्रुलाई सेवा दिँदा ६ अर्ब ५१ करोड रुपैयाँ आम्दानी कमाएको थियो । निगमको यी दुई जहाजले आर्थिक वर्ष २०७७–०७८ मा १ लाख २२ हजार यात्रुलाई सेवा दिँदा २ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तो आम्दानी २०७६–०७७ मा २ लाख ३६ हजार यात्रुलाई दिएको सेवाबाट ३ अर्ब ८० करोड रुपैयाँ थियो । निगमलको यी दुई न्यारोवडीले २०७५–०७६ मा भने ३ लाख ४३ हजार यात्रुलाई सेवा दिँदा गरेको आम्दानी ५ अर्ब ८५ करोड रुपैयाँ भएको पनि निगमले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । त्यसो त निगमलाई धान्नमा सहयोग पुर्याउने काम त्रिभुवन विमानस्थलमा हुने ग्राउण्ड ह्याण्डलिङ पनि हो यो सेवा दिएवापत निगमले वार्षिक करिब एक अर्ब रुपैयाँ नाफा गर्न सकेको छ । निगमले ग्राउण्ड ह्याण्डलिङबाट गत वर्ष २०७९–०८० मा मात्रै ३ अर्ब १८ करोड कमाउँदा ९८ करोड ७० लाख नाफा गरेको थियो । यो सेवा निगमका लागि नाफामा लैजाने माध्यम पनि बनेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार १२:०५

लोकप्रिय